Connect with us
Kapilvast Forest

रोकिएका विधेयक धमाधम पारित हुँदै

२०७९, ४ भाद्र शनिबारमा प्रकाशित

काठमाडौँ- लामो समय विधायिकी प्रक्रिया ठप्प हुँदा रोकिएका विधेयक पारित गर्न सङ्घीय संसद्को चालू अधिवेशनले तीव्रता दिएको छ। बजेट अधिवेशनमा ३० वटा विधेयक पारित भइसक्दा केही विधेयक अघि बढाउने तयारीमा सरकार र संसद् छ।

तत्काल आवश्यक रहेका र राजनीतिक रूपमा विवाद नभएका विधेयक पारितको तयारी गरिएको छ। सङ्घीय संसद्का दुवै सदनमा गरेर अहिले पनि ४९ वटा विधेयक विचाराधीन छन्। संसद्को चालू अधिवेशन नै अन्तिम हुने भएकाले तीमध्ये धेरै विधेयक कार्यकाल सकिएर निष्क्रिय हुने अवस्थामा छन्।

सङ्घीय संसद्का सहायक प्रवक्ता दशरथ धमलाले विचाराधीन केही विधेयक अगाडि बढ्ने अवस्था रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “यो अन्तिम अधिवेशन नै हो। अहिले विचाराधीन ४९ वटामध्ये केही विधेयक अगाडि बढ्ने अवस्था छ तर धेरै विधेयक निष्क्रिय हुन सक्छन्।”

सङ्घीय संसद्को अवधिमा कुल १५२ वटा विधेयक दर्ता भएका छन्; जसमा फिर्ता भएका ११ वटा विधेयकको विवरण पनि संलग्न छ। तीमध्ये ९२ वटा विधेयक हालसम्म प्रमाणीकरण भइसकेका छन्। नागरिकता विधेयक राष्ट्रपतिबाट फिर्ता भई प्रतिनिधि सभाले प्रस्तुत रूपमा नै पारित गरिसकेको छ। अब राष्ट्रिय सभाले पारित गरेपछि विधेयक प्रमाणीकरणको प्रक्रियामा जानेछ।

अब प्रतिनिधि सभामा चालू अधिवेशनमा दर्ता भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग, सार्वजनिक खरिद ऐन, भन्सार विधेयक, सैनिक ऐन संशोधन विधेयकलगायत विचाराधीन छन्। यस्तै प्रतिनिधि सभामा राष्ट्रिय सभाको सन्देशसहित पेस भएका मिडिया काउन्सिल, हवाई सेवा प्राधिकरण र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक पनि विचाराधीन छन्। यी विधेयकका विषयवस्तुमा विवाद रहेकाले तत्काल अघि बढ्ने अवस्था छैन।

यसैगरी प्रतिनिधि सभाको समितिमा सूचना प्रविधि विधेयक, नेपाल विशेष सेवा विधेयक, नीति अनुसन्धान प्रतिष्ठानसहित छवटा विधेयक विचाराधीन छन्। प्रतिनिधि सभामा पाँचवटा गैरसरकारी विधेयक पनि विचाराधीन अवस्थामा छन्; जसमा चारवटा संविधान संशोधनसँग सम्बन्धित छन्।

यस्तै राष्ट्रिय सभामा २३ वटा विधेयक विचाराधीन छन्; जसमा भ्रष्टाचार निवारण, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयक, अध्यागमन विधेयक, प्रतिलिपि अधिकार विधेयक छन्। विद्युत् विधेयक, सार्वजनिक प्रसारण विधेयक, सुरक्षण मुद्रण, सामाजिक सुरक्षा र संवैधानिक परिषद्सँग सम्बन्धित विधेयक विचाराधीन छन्। तीमध्ये भ्रष्टाचार निवारण तथा अख्तियारका विधेयक विवादका कारण अघि बढ्न सकेका छैनन्। चालू अधिवेशनबाटै यी विधेयक टुङ्गो लाग्ने सम्भावना कम छ।

प्रतिनिधि सभाबाट सन्देशसहित गएमा कारागार, बीमा र सार्वजनिक ऋण व्यवस्थापन विधेयक पनि राष्ट्रिय सभामा विचाराधीन छन्। दुवै सदनबाट पारित भएका तर राष्ट्रिय सभाले प्रक्रिया पूरा गर्न बाँकी रहेका छवटा विधेयक छन्। तिनमा शपथ, तथ्याङ्क, काठमाडौँ उपत्यका सार्वजनिक यातायात प्राधिकरण, योगमाया आयुर्वेद विश्वविद्यालय गठनलगायतका विधेयक छन्। सातवटा सन्धि पनि सदनमा विचाराधीन छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu