Connect with us
Kapilvast Forest

कांग्रेस प्रवेश गरेको चार दिनमै चन्दालाई चिठ्ठा !

२०७९, २० आश्विन बिहीबारमा प्रकाशित

नेपाली कांग्रेसले जनता समाजवादी पार्टी (जसपा) छाडेर आएकी चन्दा चौधरीलाई समानुपातिक तर्फको उम्मेदवार बनाएको छ । पार्टी प्रवेश गरेको चार दिनमै (असोज १६ गते) कांग्रेसले चन्दालाई समानुपातिक उम्मेदवारको सूचीमा राखेको हो । असोज ३ गते निर्वाचन आयोगको पेस गरिएको समानुपातिक उम्मेदवारको बन्दसूची संशोधनका क्रममा कांग्रेसले चन्दाको नाम पनि समावेश गरेको छ ।

यही असोज १२ गते जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी कांग्रेस प्रवेश गरेकी चन्दाको नाम मधेसी महिलातर्फ तीन नम्बरमा रहेको छ । उनी सांसद बन्न निश्चित जस्तै छ । कांग्रेसले उनलाई सर्लाही ४ मा प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाउने चर्चा थियो । तर चन्दा समानुपातिकतर्फको उम्मेदवार बनेकी छन् ।​

भारतीय गृहमन्त्री राजनाथ सिंहसँग राम्रो सम्बन्ध रहेकी चन्दालाई प्रधानमन्त्री पत्नी आरजु राणा देउवाको जोडबलमा सांसदको उम्मेदवार बनाएको बुझिएको छ । पार्टी प्रवेश गरेको चार दिनमा समानुपातिकतर्फ उम्मेदवार बनाएकोमा कांग्रेसकै नेताहरुलाई पनि निको लागेको छैन । यद्यपि कांग्रेससँग उनको पारिवारीक साइनो भने नभएको होइन । उनका बुबा प्रधानपञ्च भएपनि दाजु नरेश चौधरी कांग्रेस राजनीतिमा संलग्न थिए ।

०५४ साल कांग्रेस भएकै कारण नरेशलाई भारत लगेर मारिएको आशंका छ । अहिलेसम्म नरेशबारे अत्तोपत्तो छैन । बुबा पञ्चायत र दाजु कांग्रेस भएपनि चौधरीको राजनीति भने सद्भावना पार्टीबाट सुरु भएको देखिन्छ । राष्ट्रिय राजनीतिमा भने महन्थ ठाकुर नेतृत्वको तत्कालीन तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)बाट चन्दाको उदय भयो ।

तराई मधेश महिला संघको संस्थापक अध्यक्ष बनेकी उनी ०६४ मा तमलोपाको केन्द्रीय सदस्यमा भएकी थिइन् । चन्दाले भारतीय मूलका मानिसहरूको उद्योग वाणिज्य सङ्घ, नेपालको संयोजकको जिम्मेवारी सम्हालेकी थिइन् ।

२०६६ मा तत्कालीन माधवकुमार नेपाल नेतृत्वको सरकारमा उनी खेलकुद राज्यमन्त्री बनेकी थिइन् । ०७४ मा तत्कालीन राष्ट्रिय जनता पार्टीबाट समानुपातिक सांसद बनेकी थिइन् ।
२०७८ मा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारमा चन्दा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पनि बनेकी थिइन्।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu