Connect with us
Kapilvast Forest

युवाको पालो कहिले आउँछ :- मिर्जा

२०७९, २९ आश्विन शनिबारमा प्रकाशित

-मिर्जा राशिद बेग

“युवा नै देशको अग्रगामी विकासका मुल आधार हुन् र युवाको मेहनतले नै देश बन्छ” – यो भनाई यत्रतत्र सुनिन्छ र धेरै अगाडिदेखि सुनिँदै आएको पनि हो । अवश्य पनि युवावस्था भनेको परिवर्तन चाहने उमेर हो र युवामा समाज र देशको लागि केही गर्ने चाहना पनि अधिक हुन्छ । यही कारण युवालाई असीम ‘ऊर्जाको केन्द्र’ र ‘देशको गौरवको आधार’को उपाधि दिनुलाई सही नै मान्नु पर्दछ । युवाको विश्वव्यापी रूपमा मान्य हुने एउटै परिभाषा नभए तापनि सामान्यतया युवावय अवस्थालाई बाल्यकाल सकिएर वयस्क नहोउन्जेलको उमेरलाई युवाकाल भनेर बुझ्ने गरिन्छ । यस सम्बन्धमा विभिन्न देशले आ–आफ्नै व्याख्या गरेका छन् । बङलादेशमा १५–३० वर्ष उमेर समूहकालाई युवा भनिन्छ भने भारतमा १६–२९ वर्ष समूह र चीनमा १८ देखि ३५ वर्षबीचका लाई युवा मानिन्छ । नेपाल सरकारको युवा नीति २०७२ मा भने १६ देखि ४० वर्ष समूहकालाई युवा भनेर उल्लेख गरिएको छ । उक्त नीतिका आधारमा हेर्दा नेपालको कुल जनसङ्ख्याको ४०.३५ प्रतिशत हिस्सा युवाले ओगटका छन् । नेपाल सरकारको युवा नीतिले युवालाई ‘राष्ट्रको शक्ति, अमूल्य सम्पत्ति, अग्रगामी परिवर्तनका वाहकहरु’ भनेर व्याख्या गरेको छ । चौतर्फी रुपमा भइरहेको युवासम्बन्धी वहसलाई ध्यानमा राखी यस लेखमार्फत् युवाले समाजको राजनैतिक, आर्थिक, सामाजिक र शैक्षिक विकास प्रक्रियामा कस्तो भूमिका खेल्न सक्छन् भन्नेबारे चर्चा गर्ने जमर्को गरिएको छ ।

समाजको विकास एक निरन्तर चलिरहने प्रक्रिया हो, जसले समाजको सामाजिक, आर्थिक, भौतिक र वातावरणीय अवस्थालाई सकारात्मक तरिकाले परिवर्तन गरिरहेको हुन्छ । सामान्यतया विकासलाई कुनै पनि समुदायको र त्यहाँका नागरिकहरुको जीवनमा आईपर्ने समस्याहरुलाई हल गर्दै नागरिकहरुको जीवनमा आउने सकारात्मक परिवर्तनका रुपमा व्याख्या गर्ने गरिन्छ । तर, परिवर्तन सहजै आउँदैन । वास्तविक परिवर्तनका लागि समुदायका सबै तहका वर्ग र समूहको सहभागिताको आवश्यकता पर्दछ । त्यसमध्ये पनि माथि उल्लेख गरिएझैँ सबैभन्दा उर्जाशील र परिवर्तनको चाह राख्ने युवावर्गको सहभागिता अत्यन्तै महत्वपूर्ण हुन्छ ।

लगभग तीन दशक यता विश्वव्यापि रुपमा नै ‘सहभागितामूलक विकास अवाधारणा’ स्विकार गरिनुका साथै यसको व्यापक अभ्यास भइरहेको छ । यसले मुलतः कुनै पनि विकास सम्बन्धित समुदायको संस्कृतिको जगमा टेकेर गरिनु पर्दछ र यस्तो विकासको नेतृत्व सम्बन्धित समुदायले नै लिनु पर्दछ भन्ने मान्यता राख्दछ । विकासमा सहभागिता भन्नाले आफ्नो समुदायमा कस्तो विकास गर्ने भन्ने निर्णय गर्नेदेखि, निर्णयअनुसार योजना बनाउने, त्यसको कार्यान्वयन गर्ने, कार्यान्वयन प्रक्रियाको अनुगमन तथा मूल्याङ्कन गर्ने र विकासको प्रतिफलको उपभोगमा समेत सम्बन्धित नागरिकहरुको सहभागिता हुनुपर्छ भनेर बुझिन्छ । यस्तो विकासको अवाधारणालाई ‘सहभागितामूलक विकास’ भनेर बुझिन्छ । विकासमा जनसहभागिताको कुरा गर्दा नेपालको कुल जनसंख्याको आधा हिस्सा युवाले ओगट्ने भएकोले उक्त प्रक्रियामा युवाको सहभागिता अपरिहार्य छ । साथै, युवाहरु शारीरिक हिसाबले मात्र सवल नभएर उनीहरुमा सकारात्मक सोँच हुने, श्रृजनात्मक कार्यमा लाग्ने क्षमता हुने र उनीहरुसँग समाज बदल्ने अठोट हुने हुँदा उनीहरुको सहभागिता जरुरी छ ।

सामुदायिक विकासमा युवाले विभिन्न किसिमका भूमिका खेल्न सक्छन् । युवाकै नेतृत्वबाट सामाजिक राजनैतिक आर्थिक तथा प्राविधिक विकास सम्भव हुन्छ । यसका पर्याप्त उदाहरणहरु नेपाल र विश्वका अनेकौ ठाउँमा देख्न पाइन्छ ।

पहिलेको तुलनामा अहिलेका युवाहरु सामुदायिक अभियान र राजनीतिक गतिविधिमा चासो राखी त्यसमा सामेल हुन थालेको देख्न पाइन्छ । नेपालको इतिहास हेर्ने हो भने राणा शासन उन्मूलनका लागि भएको क्रान्ति, पञ्चायती व्यवस्था हटाउनका लागि भएको २०४६ सालको आन्दोलन र २०६२÷६३ को दोस्रो जनआन्दोलनमा युवाको सक्रिय भूमिका रहेको थियो । युवाहरुको वलिदानीकै कारण २०६३ सालको आन्दोलन सफल भई नेपालमा गणतन्त्र स्थापना हुन सकेको हो । (लेखक बेग जनता प्रगतिशील पार्टीका कपिलवस्तु क्षेत्र नं ३ (ख) को प्रदेश सभा सदस्य पदका उम्मेदवार हुन् ।)

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu