Connect with us
Kapilvast Forest

को हुन् फैजल ?

२०७९, २९ कार्तिक मंगलवारमा प्रकाशित

कपिलवस्तु- गाउँ, जिल्ला, क्षेत्र मुलुक हुँदै अन्तर्राष्ट्रिय क्रिकेटमा नाम कमाएका खेलाडी फैजलुर खाँ (फैजल खान) को राजनीतिमा सक्रियता बढ्दो छ । मुलुक र अन्तर्राष्ट्रिय क्षेत्रमा शतक हानेर चर्चा कमाएका उनी राजनीतिक खेलाडी बन्न पुगेका हुन ।

उनले आसन्न मंसिर ४ को आम निर्वाचनमा कपिलवस्तु १ को ‘ख’ मा प्रदेश सभा तर्फ उम्मेदवारी दिएका छन् । नेकपा (एकीकृत समाजवादी) बाट उनले उम्मेदवारी दिएका हुन् ।

सानैदेखि क्रिकेट क्रेजले खेलाडी भएका उनले राजनीतिमा दोस्रो इनिङ्स सुरु गरेका छन् । ३० वर्षे क्रिकेटर खाँले क्रिकेटमा जसरी नै राजनीतिमा पनि राम्रो काम गरेर नाम राख्ने बताए ।

मायादेवी गाउँपालिका–२, भैसकुण्डाका खाँ यू–१९ का राष्ट्रिय खेलाडी हुन् । सन् २०११ देखि अन्तर्राष्ट्रिय खेल खेल्न थालेका उनी सन् २०१६ सम्म नेपालको प्रतिनिधित्व गर्दै खेलेका थिए ।

सन् २०११ मा थाइल्यान्डमा सम्पन्न यू–१९ एसीसी ट्रफी प्रतियोगितामा ओमानविरुद्ध शतकीय इनिङ्स खेलेपछि उनले चर्चा कमाएका थिए । उनले सन् २०१२ मा मलेसियामा सपन्न एसियन कप क्वालिफाइङ प्रतियोगितामा पनि खेलेका थिए । सन् २०१३ मा अस्ट्रेलियामा सम्पन्न वर्ल्डकप क्वालिफाइङ प्रतियोगितामा पनि खेलेका थिए ।

यू–१९ मा छनोट प्रतियोगितामा पोखराविरुद्ध भैरहवाका लागि विस्फोटक ब्याटिङ गरेपछि उनी छनोटमा परेका थिए । उनले १ सय ३१ रन बनाएका थिए । सन् २०१४ मा पेप्सी स्ट्यान्डर्ड कप क्रिकेटमा एपीएफ क्लबविरुद्ध फाइननमा पनि उनले ठूलो स्कोर खडा गरेका थिए ।

फाइनलमा १ सय २५ रन बनाएर उत्तिकै चर्चा बटुलेका थिए । सन् २०१३ मा धनगढीमा सम्पन्न एनपीएलमा १८ बलमा ६६ रन बनाएपछि उनको खेल–व्यक्तित्व माथि उठेको थियो । ‘क्रिकेट खेलेर जसरी चिनिएँ, त्यसरी नै राजनीतिमा नाम राख्छु,’ उनले भने, ‘खेलाडीले राम्रै गर्न सक्छन् भन्ने देखाउने गरी योजना र काम आँटेको छु ।’

राष्ट्रिय स्तरमा महेन्द्र पुलिस क्लब, भैरहवा–४, ईपीएलको कलर्स एक्सपेक्टरसँग जोडिएर पनि खेल खेलेका उनी अलराउन्डर खेलाडीका रूपमा परिचित छन् । ८ विभिन्न मुलुकमा गएर उनले नेपालका तर्फबाट क्रिकेट खेलेका छन् ।

सन् २०१० देखि राष्ट्रिय रूपमा क्रिकेट खेलसँग जोडिएका उनी सन् २०१२ मा थाइल्यान्डमा सम्पन्न यू–१९ विश्वकपमा नेपालका तर्फबाट उत्कृष्ट प्रदर्शन गरेका थिए । ‘मधेसको समाज बेलाबेला विभाजित हुन्छ । नेतृत्व गर्ने मौका पाए सबैभन्दा पहिला त्यसलाई जोड्ने काम गर्नेछु,’ उनले भने, ‘साम्प्रदायिक सद्भाव कसिलो बनाउनेतर्फ मेरो प्रयत्न हुनेछ ।’

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu