Connect with us
Kapilvast Forest

रास्वपा सांसद ढाकाकुमार श्रेष्ठको ८२ लाख अपचलन मुद्दा के हो?

२०७९, ३० पुष शनिबारमा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभामा समानुपातिक सांसदको सूचिमा पर्नुअघि ढाकाकुमार श्रेष्ठ पोखरामा सहकारी चलाउँथे। २०५९ सालमा श्रेष्ठकै अगुवाइमा स्थापना भएको साथी किसान कृषि सहकारी खोलेर उनी त्यसको अध्यक्ष बने।

पार्टीबाट समानुपातिक उम्मेदवार बनेपछि मात्र उनले सहकारी छाडेका थिए। त्यसअघि सहकारीका अविछिन्न अध्यक्षका साथै सबै आर्थिक कारोबार उनले चलाउँथे। उनी सांसद भएको दुई महिना पनि नपुग्दै सहकारी चल्न सकेन। त्यसका शेयर सदस्यले बचत गरेको रकम पाएनन्। उनीहरुले पोखरा महानगरको सहकारी महाशाखामा उजुरी दिए।

पोखरा– ८ रत्नचोकमा कार्यालय रहेको सहकारीले बचतकर्ताको ८२ लाख ७२ हजार २०० रूपैया भुक्तानी गर्न बाँकी रहेको सहकारीले जनाएको छ। जुन रकम शेयर सदस्यले बचत राखेका थिए। उक्त रकम सहकारीमा नभएपछि अहिले बन्द छ।

सहकारीका संस्थापक अध्यक्षसमेत रहेका सांसद श्रेष्ठले उक्त रकम हिनामिना गरेको सहकारीका शेयर सदस्यहरुले बताएका छन्। गत कात्तिक ७ गतेको अधिवेशनबाट चयन भएका कार्यसमितिले पनि उक्त रकमको हिसाब नपाएको भन्दै कारोबार ठप्प भएपछि सांसद श्रेष्ठलाई आर्थिक अपचलनको आरोप लागेको छ।

श्रेष्ठ भने आफूले अपचलन नगरेको बताउँछन्। राष्ट्रिय स्वतन्त्र पार्टी गठन भएपछि गण्डकी प्रदेश समितिका सभापति बनेका उनले सहकारीका उपाध्यक्ष चेत हमाललाई कार्यबवहाक अध्यक्ष सुम्पिएका थिए।

‘मैले जिम्मेवारी सम्हाल्दा सबै हिसाब मैले राख्थेँ, बिल, भर्पाइमा पनि मैले नै हस्ताक्षर गर्थेँ,’ उनले भने, ‘अडिट रिपोर्टदेखिका प्रतिवेदन बुझाएको थिएँ। बुझबु्झारथ गर्नुपर्ने थाहा थिएन। अपचलन गरेको होइन।’

पार्टीबाट समानुपातिक सूचिमा परेपछि कात्तिक ७ गते श्रेष्ठले सहकारीको अधिवेशन गराए। शनी पाठकको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भयो। अधिवेशनले अडिट रिपोर्टदेखि सबै प्रतिवेदन पारित गर्‍यो। श्रेष्ठ सहकारीको नेतृत्वबाट बाहिरिए।

अधिवेशन गरेर सहकारीको नेतृत्व हस्तान्तरण गरे पनि उनले सहकारीको आर्थिक लगायत कारोबारका बुझबुझारथ गरेनन्। सहकारीका नयाँ कार्यसमितिले पनि बुझबुझारथ नपाएको भन्दै सहकारी चलाउन सकेनन्।

सहकारी चल्न नसकेपछि बन्द हुने र खुल्ने क्रम चल्यो। सहकारीमा आवद्ध १०५ जना शेयर सदस्यले आफ्नो हिसाब खोज्न थाले। श्रेष्ठका कारण आफ्नो हिसाब चुक्ता हुन नसकेको भन्दै उजुरी गरेका हुन्।

सहकारीले आर्थिक अपचलन गरेको भन्दै महानगरको शहकारी महाशाखामा बिहीबार छलफल गरेर ३ महिनामा समस्या समाधान गर्ने निर्णय गरेको सहकारीका अध्यक्ष पाठकले बताए।

सहकारीले बजारबाट उठाउनुपर्ने रकम उठाउन छाडेर बन्द गरेका कारण समस्या आएको उनले बताए। अब सहकारी खुल्ने र बजारबाट उठ्न बाँकी रकम उठाएर बचतकर्तालाई फिर्ता गर्ने श्रेष्ठले बताए। उनका अनुसार बजारबाट सहकारीको १ करोड बढी रकम उठ्न बाँकी छ।

सहकारीबाट रकम लगेका केही व्यक्तिको चेक बाउन्स भएकाले कानुनी प्रक्रियामा जाने र बजारबाट उठ्न बाँकी रकम उठाउन लाग्ने उनले बताए। सहकारीका अध्यक्ष बन्नुअघि श्रेष्ठले पोखराको कास्कीकोटमा कृषि फार्म खोलेका थिए। कृषि फार्ममा पालिएको कुखुरा बेच्दा घाटामा गएकाले सहकारी खोलेको उनले बताए।

‘मेरो फार्मबाट कुखुरा बेच्दा घाटामा गयो, यसबारे अध्ययन गर्दा विचौलियाका कारण घाटा परेको रहेछ,’ उनले भने, ‘त्यसपछि साथीसँग सल्लाह गरेर किसानको आफ्नै सहकारी खोल्ने, दाना र चल्ला पनि आफैं वितरण गर्ने उद्धेश्यले सहकारी खोलेका हौं।’

यसरी सहकारी खोलेर दाना र चल्ला वितरण गर्दै आएको उनले बताए। सहकारीमार्फत किसानलाई दाना र चल्ला मात्र होइन, कुखुरा खरिद गरेर मासु बेच्दा घाटा लागेको उनको भनाई छ।

‘हाम्रो सहकारीलाई एक पटक दाना गुणस्तरको नभएर घाटा लाग्यो, त्यसले अलिकति समस्या छ, अर्को मासु बेच्दा पनि घाटामा गयो,’ उनले भने, ‘सहकारी नै बन्द गर्नुपर्ने गरी घाटा भएको होइन, बजारबाट पैसा नउठेर समस्या भएको हो।’

सहकारीबाट ऋण लगेका व्यक्तिले पैसा फिर्ता नगरेका कारण समस्या परेको सहकारीका हालका अध्यक्ष डा. पाठक बताउँछन्। पैसा उठाउन पूर्वअध्यक्ष श्रेष्ठले बुझबुझारथ नगर्दा उठाउन नसकेको भन्दै उनले अब समस्याको समाधान हुने बताए। यता, सोही सहकारीमा व्यवस्थापक भएर काम गरेका विशाल बस्ताकोटीले सेवाग्राहीको पैसा हिनामिना हुनुमा संस्थाका सञ्चालक समिति नै दोषी रहेको बताएका छन्। सहकारीको व्यवस्थापक भएपछि आफूलाई १० लाख रूपैयाँ ल्याउन भनेपछि जागिर छाडेर हिँडेको उनले बताए।

‘मलाई २५ हजार तलबमा म्यानेजर राखिएको थियो, पछि १० लाख ल्याउन भनेपछि राजिनामा दिएँ,’ उनले भने।

उनका अनुसार सहकारीका सञ्चालक समितिले नै लगेको ऋण समयमा फिर्ता गरेका छैनन्। पटक पटक बैठक राख्दासमेत सञ्चालक समितिका सदस्यहरु नआउने र लगेका रकम फिर्ता माग्दा पनि नदिएको उनले बताए। संस्थाका सदस्यले ३० लाख रूपैयाँसम्म ऋण लगेर पनि फिर्ता नदिएको उनको भनाई छ।

‘सहकारी डुब्नुमा सञ्चालक समिति र शेयर सदस्यको दोष छ,’ उनले भने, ‘बैठकमा पनि नआउने, लगेको पैसा पनि फिर्ता नगर्ने भएपछि कसरी सहकारी चल्छ?’

उनले सहकारीबाट ऋण प्रवाह गर्दा धितो नराखेको समेत बताए।

यता, सहकारीका संस्थापक अध्यक्ष एवं सांसद श्रेष्ठले केही शेयर सदस्यले दिएको चेक बाउन्स भएको र त्यसलाई कानुनी प्रक्रियामा लैजाने तयारी गरेको बताए।‘अब जसरी पनि पैसा उठाएर बचतकर्तालाई तिर्नुपर्छ,’ उनले भने, ‘मैले एक पैसा पनि खाएको छैन, ज-जसले लगेर फिर्ता गरेका छैनन्, कानुनी उपचारबाट भए पनि फिर्ता गराइछाड्छौं।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu