Connect with us
Kapilvast Forest

पहिरोले उठ भनिसक्यो जाने ठाउँ कतै छैन

२०७९, २७ फाल्गुन शनिबारमा प्रकाशित

बाजुरा- बूढीगङ्गा नगरपालिका १ अम्कोट बस्ती १६ वर्षदेखि बाढीपहिरोको उच्च जोखिमा रहेको छ। १६ वर्षदेखि बाढीपहिरोको उच्च जोखिमा रहेको अम्कोट बस्ती अहिलेसम्म कतै स्थानान्तरण हुन सकेको छैन।

बस्ती स्थानान्तरण नहुँदा अम्कोटका १०६ घरपरिवार बाढीपहिरोको जोखिम भएकै ठाउँमै बसोबास गर्दै आएका छन्। बूढीगङ्गा नगरपालिका १ अम्कोटका स्थानीय पारु पाध्यायका अनुसार पहिरोले अम्कोटको गाउँ चिराचिरा पारेको छ। बर्खाको समय थोरै पानी परे पनि बग्न सुरु हुन्छ। आफूलाई सुरक्षित हुने कतै ठाउँ नभएपछि बर्खामा पनि यही घरमा बस्नुपर्ने सोच बनाएको पाध्यायले बताउनुभयो।

बर्खा लाग्नेबित्तिकै गाउँको तल र माथि दुवैतिरबाट पहिरो बग्ने हुँदा कुनै रात घरसहित आफूलाई समेत बगाउँछ भन्ने डर लाग्ने उहाँले बताउनुभयो। वि.सं. २०६४ साउन २३ गते राति गाउँमाथिबाट आएको पहिरोले उहाँका श्रीमान् दुई छोरा र एक छोरीसहित चार जनाको ज्यान लिएको थियो। सोही पहिरोमा परेर महादेव पाध्याय लक्ष्मी पाध्याय र मङ्गल पाध्यायलगायतका पाँच जनाको मृत्यु भएको थियो। २०७६ असार र साउनमा आएको बाढीपहिरोले अम्कोटमै फेरि सात घरसहित सयौँ रोपनी जमिन बगाएको थियो।

यसरी पटक–पटक अम्कोट बस्ती पहिरोको जोखिमा परेको भए पनि अहिलेसम्म त्यहाँका स्थानीयवासीलाई कतै पुनस्र्थापन गर्न नसकेको स्थानीय महादेव पाध्यायले बताउनुभयो। बूढीगङ्गा नगरपालिका–१ अम्कोटका बाढीपहिरोपीडित महादेव पाध्यायले गाउँ छोडेर कतै जाउँ भने आर्थिक अवस्था राम्रो नभएको बताउनुभयो।

उहाँले भन्नुभयो यतै बसौँ भने घरनजिक पहिरो आइसक्यो। पहिरोले उठ भने पनि अन्त जाने केही उपाय नभएपछि समस्याले यतै बास बस्नु परेको उहाँले बताउनुभयो। उहाँले बर्खा लागेपछि फेरि पहिरो बग्न सुरु हुने भएकाले कहाँ गएर बस्ने भन्ने चिन्ताले सताउन थालेको बताउनुभयो।

बाढीपहिरोले यहाँका स्थानीयवासीको कमाई खाने अधिकांश जमिनसमेत बगरमा परिणत भएको छ। खेती गर्ने जमिनमा अहिले नदी बग्न थालेपछि उनीहरू भोको पेट पाल्नका लागि अहिले दैनिक मजदुरी गर्दै आएका छन्। बूढीगङ्गा नगरपालिका १ अम्कोटका दरिभाने नेपालीले भारतको कमाइले खेत किनिएको भए पनि त्यो खेत सबै नदीले बगर बनाएको बताउनुभयो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu