Connect with us
Kapilvast Forest

चार लाख ३४ हजार विद्यार्थी उधारोमा खाजा खाँदै

२०८०, २० जेष्ठ शनिबारमा प्रकाशित

काठमाडौँ-सरकारले कबुलेको रकम नदिँदा सामुदायिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत चार लाख ३४ हजार विद्यार्थी एक वर्षदेखि उधारोमा खाजा खाइरहेका छन्। सरकारले चालु आर्थिक वर्ष २०७९/८० को बजेट भाषणका क्रममा सामुदायिक विद्यालयका प्रारम्भिक बालविकास तहदेखि कक्षा ६ सम्मका विद्यार्थीलाई दिवा खाजा दिने घोषणा गरेको थियो। त्यसअघि कक्षा ५ सम्मका विद्यार्थीलाई मात्रै यस्तो खाजा दिने गरिएको थियो।

बजेट सार्वजनिक गर्दा कक्षा ६ सम्मका विद्यार्थीलाई दिवा खाजा दिने घोषणा गरे पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई कक्षा ५ सम्मका विद्यार्थीलाई खाजा खान पुग्ने रकम मात्र दिइएको थियो। तत्कालै शिक्षा मन्त्रालयले कक्षा ६ का विद्यार्थीलाई पनि दिवा खाजा दिने हो भने थप रकम चाहिने भनी अर्थ मन्त्रालयलाई जानकारी गराएको थियो। उक्त जानकारीपछि अर्थ मन्त्रालयले हाललाई सोही रकमबाट कक्षा ६ सम्मका विद्यार्थीलाई खाजा खुवाउन अनुरोध गर्दै थप रकमपछि दिने आश्वासन दिएको थियो।

अर्थ मन्त्रालयको आश्वासनका आधारमा शिक्षा मन्त्रालयले बजेटमा उल्लेख गरिए अनुसार नै कक्षा ६ का विद्यार्थीलाई पनि खाजा खुवाउन अनुरोध गर्दै सबै स्थानीय तहलाई अनुरोध गरेको थियो। सोहीअनुसार विद्यालयहरूले कक्षा ५ सम्मका विद्यार्थीलाई मात्रै दिएको रकमले कक्षा ६ का विद्यार्थीलाई पनि खाजा खुवाइरहेका छन्। स्थानीय तहले रकम दिने भएका कारण विद्यालयहरूलाई यसबारेमा जानकारी समेत छैन। तर आर्थिक वर्ष सकिन डेढ महिनाभन्दा कम समय बाँकी रहँदा पनि अर्थ मन्त्रालयले बजेटमार्फत नै कबुलेको रकम नदिएपछि अब भने समस्या आउन सक्ने भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले रकम निकासा गरिदिन अर्थ मन्त्रालयलाई घच्घच्याइरहेको छ।

मन्त्रालयको नीति तथा योजना शाखाका उपसचिव घनश्याम अर्यालका अनुसार कक्षा ६ का विद्यार्थीका लागि चाहिने थप एक अर्ब रुपियाँ निकासा गरिदिन अर्थ मन्त्रालयलाई गत पुस १९ गते नै लिखित अनुरोध गरिएको छ। उहाँले भन्नुभयो, “बजेटमा नै उल्लेख गरिएको विषय कार्यान्वयन त होला। तर आर्थिक वर्ष नै सकिन लाग्दा पनि रकम नआएकाले समस्या भएको छ।”

उहाँका अनुसार अहिले अधिकांश गाउँपालिकाले कक्षा ५ सम्मका विद्यार्थीका लागि पठाइएको रकम सकिएको र स्कुलबाट थप रकम माग भएको अवस्थामा उपलब्ध गराउन नसक्ने जनाउँदै अपुग रकम निकासा गरिदिन शिक्षा मन्त्रालयलाई अनुरोध गर्न थालेका छन्। उहाँले भन्नुभयो, “तर अर्थ मन्त्रालयबाट नआई हामीले दिनसक्ने अवस्था छैन।”

सरकारले सञ्चालन गरेको दिवा खाजा कार्यक्रम अनुसार हरेक विद्यार्थीलाई वर्षमा दुई हजार सात सय उपलब्ध गराइन्छ। यो भनेको दैनिक १५ रुपियाँको दरले एक सय ८० दिनलाई दिइएको दिवा खाजा हो।

आउने वर्षलाई पनि समस्या

सामुदायिक विद्यार्थीलाई उपलब्ध गराउँदै आएको दिवा खाजालाई सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ मा पनि निरन्तरता दिने घोषणा गरेको छ। दिवा खाजा कार्यक्रमका लागि आठ अर्ब ४५ करोड रुपियाँ विनियोजन गरिएको छ।

यो रकमले आगामी दिनमा पनि कक्षा ५ सम्मका विद्यार्थीलाई मात्रै खाजा खान पुग्छ। बजेटमा कक्षा ६ सम्म उल्लेख गर्ने तर रकम कक्षा ५ सम्मका विद्यार्थीलाई खाजा खान पुग्ने मात्रै छुट्याएका कारण फेरि समस्या आउन सक्ने शिक्षा मन्त्रालयका उपसचिव अर्यालले बताउनुभयो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu