Connect with us
Kapilvast Forest

कांग्रेस–एमालेलाई टक्कर दिने तयारीमा माओवादीको आइसीटी फोरम

२०८०, १५ भाद्र शुक्रबारमा प्रकाशित

काठमाडौं -माओवादी केन्द्र निकट जनवर्गीय संगठन ‘इन्फर्मेसन एण्ड कम्युनिकेसन टेक्नोलोजी’ (आइसीटी) फोरमले प्रमुख दुई दल नेपाली कांग्रेस र एमालेलाई टक्कर दिने गरी तत्कालीन योजना सार्वजनिक गरेको छ ।

पार्टीको जनवर्गीय, मोर्चाका केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला समिति र स्थानीय समितिलाई आइसीटी फोरमले निर्णयबारे परिपत्र जारी गरेको हो । संगठन बनाउनुको उद्देश्य र तत्कालीन कार्यक्रमबारे सो संगठनले परिपत्रमार्फत जानकारी गराएको छ ।

साउन(१७–२१)सम्म राजधानीको कमलादीमा बसेको केन्द्रीय समिति बैठकले आइसीटी फोरम गठन गर्ने निर्णय गरेको थियो । २१ औं शताब्दीमा पनि सूचना र प्रविधि क्षेत्रमा माओवादी निकै कमजोर रहेको, पार्टी र सरकारले गरेको राम्रो कामको प्रचार प्रसार हुन नसकेको महसुस गरी आइसीटी फोरम बनाउन पार्टीले परिपत्र नै जारी गरेको थियो । फोरम माओवादीको कान्छो संगठन हो ।

बैठकको निर्णय बमोजिम भदौ १० गते प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोविन्द आचार्यको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिति घोषणा गरेका थिए । कार्यसमितिलाई स्थानीय तहसम्म विस्तार गर्ने योजना रहेको परिपत्रमा उल्लेख छ । आइसीटी फोरम बनाउनुको उद्देश्य सरकारको नीति तथा कार्यक्रम, राम्रा कामको व्यापक प्रचार प्रसार गर्ने, विपक्षी दलहरूबाट हुने अनर्गल प्रचारको आक्रामक रूपमा प्रतिपाद गर्ने रहेको छ । ‘एक कमिटी एक आइसीटी फोरम गठन गर्ने’ पनि परिपत्रमा उल्लेख छ ।

माओवादी केन्द्र : तीन महिनाभित्र आईसीटी फोरम वडा तहमा विस्तार गर्न परिपत्र
माओवादी केन्द्र : तीन महिनाभित्र आईसीटी फोरम वडा तहमा विस्तार गर्न परिपत्र
यस्ता छन् तत्कालीन कार्ययोजना

१. हाम्रो पार्टीको पहलमा बनेको संयुक्त सरकार, संयुक्त लोकतान्त्रिक गठबन्धनको नीति तथा कार्यक्रम एवम गठबन्धन सरकारले गरेका सकारात्मक कार्यका पक्षमा व्यापक प्रचार प्रसार गर्ने ।

२. सूचना तथा सञ्चार प्रविधिको प्रभावकारी ढंगले प्रयोग गरी पार्टीका हरेक सदस्यका साथै वडा तहसम्म पार्टी कमिटीको नाममा समेत फेसबुक, यूट्युव, टिकटक, ट्विटर आदिको एकाउण्ट बनाउने, त्यसको सुरक्षामा ध्यान दिने र हरेक सदस्य तथा कमिटीले शिष्टतापूर्वक, सत्य तथ्यसहित पार्टी, नेतृत्व र आन्दोलनका पक्षमा आक्रामक प्रचारमार्फत् हस्तक्षेप गर्न विशेष कार्ययोजना विकास गरी अवलम्बन गर्ने ।

३. पार्टी, आन्दोलन र नेतृत्वको पक्षमा प्रचार प्रसार गर्ने, विरोधीका गलत प्रचारको प्रतिवाद गर्नुका साथै पार्टी विरोधी तथा प्रतिक्रियावादी तत्वहरुको भण्डाफोर गर्ने गरी पार्टीका सबै तहमा सूचना प्रविधिमार्फत् प्रचार गर्ने आइसीटी फारेरम निर्माण गरी प्रचारकर्ताहरुको टिम तयार पार्ने ।

४. सामाजिक मिडियाहरु जस्तै फेसबुक, ट्वीटर, युटयुब, टिक टक, ब्लग आदिको प्रयोगबाट पार्टी, पार्टीका गतिविधि एवम् समग्र आन्दोलनको पक्षमा प्रचार प्रसार गर्ने ।

५. पार्टीको प्रचार विभागले तय गरेको प्रचार नीति र कार्ययोजनाको दृढतापूर्वक कार्यान्वयन गर्ने । साथै पार्टीका नियमित गतिविधिसहित प्रवाह गर्नुपर्ने सूचनाहरु सामाजिक सञ्जालबाट नियमित ढंगले प्रवाहको वातावरण मिलाउने ।

६. एक पार्टी कमिटी एक आइसीटी फोरम भन्ने नाराका साथ असोज मसान्तसम्म वडा समितिसम्म आइसीटी फोरम, निर्माण गरी न्यू मिडियामार्फत् प्रचार प्रसारका कामलाई व्यवस्थित पार्ने ।

७. एप्लीकेसन(एप)को विकास गरी सबै सूचना त्यसैबाट प्रवाह गर्ने । पार्टी सदस्यता वितरण, नवीकरण, लेवी संकलन आदि एपमार्फत् गर्ने । सामाजिक सञ्जालको प्रयोग सम्बन्धमा कार्तिकसम्म सबै तहमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने ।

८. हाम्रो पार्टीका महत्त्वपूर्ण निर्णयहरु, पार्टी अध्यक्षसहितका पार्टीका सबै तहका नेताहरुले दैनिकरुपमा गरिरहेका कार्य, महत्त्वपूर्ण भेटघाट, निर्णय तथा निर्देशनहरु र देश र जनताका पक्षमा पार्टी र सरकारबाट भइरहेका कामहरुका बारेमा समयमै यथार्थ सूचना सामाजिक सञ्जालहरुवाट व्यापक प्रवाह गर्ने ।

९. सरकारको नीति तथा कार्यक्रम, नीतिगत प्राथमिकता, अध्यक्षको नेतृत्वमा सरकार बने यता भए गरेका उपलब्धि आदिका पक्षमा सत्य, तथ्य, तर्कद्वारा पुष्टि गर्नेगरी सामग्री तयार पारी विभिन्न सामाजिक सञ्जालमार्फत् व्यापक प्रचार प्रसार गर्ने ।

१०. सामाजिक सञ्जालहरुका लागि कन्टेन्ट उत्पादन तथा स्क्रिप्ट लेखन टिम नै बनाएर रोचक, आकर्षक र प्रभावकारी ढंगले सामग्रीको डिजाइनिङ्, रेकर्डिङ गरी प्रवाह गर्ने । आन्तरिक गुप्रहरु बनाएर हरेक घण्टाका लागि प्रचार सामग्री उपलब्ध गराउने ।

११. रक्षात्मक होइन, आक्रामक प्रचार शैली अपनाउने । हाम्रा हात हातमा भएका मोबाइललाई नै महत्त्वपूर्ण प्रचार कार्यमा लगाउने । मोबाइलवाटै प्रचार सामग्री उत्पादन गरेर सामाजिक सञ्जालवाट प्रवाह गर्ने । विरोधीले हाम्रा विरुद्ध गरेको प्रचारको तत्काल खण्डन र यथार्थ सार्वजनिक गर्ने । पार्टी, आन्दोलन र नेतृत्वको पक्षमा प्रचार प्रसार गर्ने, विरोधीका गलत प्रचारको प्रतिवाद गर्नुका साथै पार्टी विरोधी तथा प्रतिक्रियावादी तत्वहरुको भण्डाफोर गर्ने ।

१२.विभिन्न मिडियामा आएका हाम्रो पक्षका सामग्रीलाई सामाजिक सञ्जालमार्फत लाइक र शेयर गर्ने ।

१३.अरुले गरेका अनर्गल प्रचारबारे फ्याक्ट चेकको व्यवस्था मिलाई तत्काल सत्य तथ्यसहित यथार्थ सार्वजनिक गर्ने । हाम्रा सत्य कुरा स्थापित गर्न जोड दिने । हाम्रा विरुद्ध अपराधिक ढंगले गाली गलौज गर्नेहरुलाई सामाजिक सञ्जालका संचालक एवम् कानुनी उपचारका लागि उजुरी गर्ने ।

१४. सामाजिक सञ्जालमा हाम्रा विरुद्ध आएका सामग्रीको ट्रेन्ड एनलाइसिस गरेर अब कस्ता सामग्री आउन सक्छन् भन्ने विषयमासमेत छलफल गरी विरोधीका प्रचारलाई चिर्न हामीले पनि पहिलेदेखि नै योजना बनाएर अघि बढ्ने ।

१५. भिडियो तथा सामाजिक सञ्जालका लागि विषयवस्तु तयारी, डिजाइन र विभिन्न माध्यमबाट सार्वजनिक गर्ने, फिड ब्याक बुझ्ने जस्ता कामका लागि हरेक पार्टी कमिटीले यसमा जानकारी तथा रुचि राख्ने दक्ष कमरेडहरुलाई आइसीटी फोरममा जिम्मा दिनु पर्ने ।

१६. बैठकले पार्टीको वेबसाइट निर्माण गर्ने, ३ महिने अभियानलाई सफल पार्न आवश्यक प्रचार प्रसार तथा अन्य काममा पार्टीलाई सहयोग गर्ने र कार्ययोजना तथा कार्यविभाजनलाई अन्तिम रुप दिने निर्णय गरेको छ ।

१७. यस अनुरुप देशका सबै वडामा भदौ १६ गते एकैसाथ उदघाटन हुने जनतासँग माओवादी तीन महिने अभियानको पार्टी अध्यक्ष कमरेड प्रचण्डले भर्चुअल विधिबाट उदघाटन गर्ने र सोका लागि फोरमले प्राविधिक सहयोग गर्ने निर्णय भएको छ ।

१८. बैठकले पार्टीका सबै तहमा आइसीटी फोरमका कमिटी निर्माण हुनेछन् । यी कमिटीहरुले स्थानीय पार्टी कमिटीसँग समन्वय गरेर अभियानका क्रममा प्रचारप्रसार तथा यसको प्राविधिक पक्षको नेतृत्व लिनेछन् । यसैगरी सबै तहका पार्टी कमिटीको आफ्नो सामाजिक सञ्जाल निर्माण गरिसक्नुपर्नेछ ।

को को छन् सदस्यहरू ?

४१ सदस्यीय कार्यसमितिमा प्रत्येक प्रदेशबाट एक÷एक जना, पार्टीको प्रमुख जवस र मोर्चाबाट १२ जना, आइटी क्षेत्रमा कार्यरत प्राध्यापक, अनुसन्धानकर्ता, पत्रकार इन्जिनियर १५ जना रहने गरी कार्यसमिति गठन हुनेछ । तत्काल कार्यसमितिमा २९ जना छन्, बाँकी पछि थप हुने जनाइएको छ । आइसीटीको इन्चार्जमा पार्टी उपाध्यक्ष अग्निप्रसाद सापकोटा रहेका छन् । सहइन्चार्जमा सञ्चारमन्त्रीसमेत रहेकी रेखा शर्मा छिन् ।

यी हुन् कार्यसमिति सदस्यहरू :

१. गोकर्ण भट्ट

२. ज्ञानबहादुर ढुंगाना

३. शिव खकुरेल

४. निर्मल ज्ञवाली

५. प्रकाश रायमाझी

६. नरेश रेग्मी

७. शिवहरी आचार्य

८. डा बाबुराम दवाडी

९. आरसी पाण्डेय

१०. द्रोण पराजुली

११. प्रतिभा श्रेष्ठ

१२. भिम कुमाखी

१३. अधिवक्ता हरिराज लवजु

१४. सन्देश पौडेल

१५. इकेश खड्का

१६. भौतिक मल्ल

१७. जीपी मैनाली

१८. दलबहादुर विक

१९. डा. शैलेन्द्र गिरी

२०. राजेन्द्र अर्याल

२१. दामोदर घिमिरे

२२. पुष्प न्यौपाने

२३. भुवन पौडेल

२४. ध्रुव बुढाथोकी

२५. मिलन लिम्बु

२६. आशिष लिम्बु

२७. दीपेन्द्र कार्की,

२८. भूपनारायण यादव

२९. दीपा सापकोटा

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu