Connect with us
Kapilvast Forest

श्रीमतीकै योजनामा सिन्धुपाल्चोकबाट सिक्लेस पुर्‍याएर हत्या

२०८०, ८ चैत्र बिहीबारमा प्रकाशित

hatya

कास्कीको मादी गाउँपालिका–१ सिक्लेसमा भेटिएको शव रामलाल तामाङको भएको खुलेको छ । सिन्धुपाल्चोक जुगल गाउँपालिका–३ गुम्बाका तामाङको हत्या भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

हत्यामा संलग्न रहेको आरोपमा रामलालकी श्रीमती सहित चार जना पक्राउ परेका छन् । सिक्लेस गाउँबाट दक्षिण पाखोमा चैत ३ गते एक पुरुषको शव भेटिएको थियो । मादीमा निर्माणाधीन अपर जिरो मादी र मादमे खोला हाइड्रोपावर जाने बाटोभन्दा तल स्थानीयले शव देखेपछि वडाध्यक्ष देवीजंग गुरुङलाई खबर गरेका थिए ।

‘गोठालो गएका गाउँलेले रगत देखेपछि आफ्नै भैंसीको हुनसक्ने भन्दै खोज्दै जाँदा बाटोभन्दा करिब १५ मिटर तल शव देखेछन् । गाउँबाट थप मान्छे पठाएर लाश नै हो भनेपछि प्रहरीलाई खबर गरें’, गुरुङले भने ।

प्रहरीले तालिम प्राप्त कुकुर समेत लगेर अनुसन्धान थाल्यो । त्यसक्रममा हाइड्रोमा काम गर्न भनेर पोखराबाट गएका अर्का एक व्यक्तिले बसमा रामलालसँग चिनजान भएको र उनीहरुको समूहमा चार जना रहेको सूचना दिए । त्यही सूचनालाई पछ्याउँदा पक्राउ परेकाहरुसम्म पुग्न प्रहरी सफल भएको छ ।


श्रीमतीकै योजनामा हत्या ?

जुगल गाउँपालिका–३ का वडाध्यक्ष लक्ष्मान दोङका अनुसार रामलालले डोजर, स्काभेटर चलाउँथे । रामलाल र उनकी श्रीमती कान्छी भनिने च्याङ्मा तामाङको केही वर्षदेखि सम्बन्ध बिग्रिएकाले अलग्गै बस्दै आएका थिए ।

उनीहरुको विवाद अदालतसम्म पुगेको थियो भने रामलाल केही महिना थुनामा परेका थिए ।

प्रहरीका अनुसार रामलालको हत्याको योजना च्याङ्माले नै बनाएको प्रारम्भिक अनुसन्धानले देखिएको छ । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले च्याङ्मासँगै धनबहादुर लामा, नवीन तामाङ र अजित तामाङलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार धनबहादुर, नवीन तामाङ र अजितले हाइड्रोमा काम गर्ने भनेर रामलाललाई सिक्लेस ल्याएका थिए । सिक्लेस गाउँभन्दा दक्षिण पाखोमा पुगेपछि उनीहरुले रामलालको हत्या गरेको देखिएको प्रहरीको भनाइ छ ।

काठमाडौं र भक्तपुरबाट पक्राउ परेका उनीहरुलाई पोखरा ल्याएको छ । प्रहरीका अनुसार पक्राउ परेकै एक जनासँग च्याङ्माको सम्बन्ध रहेको पाइएको छ ।

‘हत्यामा संलग्नहरुलाई पक्राउ गरेका छौं । घटना अनुसन्धान क्रममा छ । आजभोलिमै पत्रकार सम्मेलन गरी सम्पूर्ण जानकारी गराउँछौं’ प्रहरी कार्यालय कास्कीका निमित्त प्रमुख डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।

रामलालका शव पोस्टमार्टमपछि बुबाले शव बुझेका छन् । उनले हत्याको गम्भीर अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu