Connect with us
Kapilvast Forest

त्रिविका शिक्षकलाई वैज्ञानिक लेखन तालिम

२०८१, ११ बैशाख मंगलवारमा प्रकाशित

त्रिविका शिक्षकलाई वैज्ञानिक लेखन तालिम
काठमाडौँ, ११ वैशाख : काठमाडौँ सेन्टर फर रिसर्च एण्ड एजुकेशन (केसीआरइ) को संयुक्त आयोजनामा त्रिविका शिक्षकलाई तथ्याङ्क विश्लेषण र वैज्ञानिक लेखनसम्बन्धी क्षमता अभिवृद्धि तालिम दिइएको छ ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि) जल तथा मौसम विज्ञान केन्द्रीय विभाग तथा चाइनिज एकेडेमी अफ साइन्सेसको संयुक्त पहलमा निर्मित केसीआरइको सक्रियतामा भएको कार्यक्रममा त्रिविका उपकुलपति प्रा डा केशरजङ्ग बरालले व्यावहारिक ज्ञानको निर्माण र समसामयिक चुनौतीलाई सम्बोधन गर्न तथ्याङ्क विश्लेषण र प्रभावकारी वैज्ञानिक कार्यपत्र लेखनको महत्वपूर्ण भूमिका रहनेमा जोड दिनुभयो ।

उहाँले अनुसन्धान र उत्कृष्ट लेखनमार्फत विश्वविद्यालय उत्कृष्ट बन्ने बताउनुभयो । उपकुलपति प्रा डा बरालले त्रिविमा कार्यरत प्राध्यापक एवं अध्ययनरत विद्यार्थीलाई विश्वस्तरको शिक्षा र अनुसन्धानका अवसर उपलब्ध गराउनुपर्ने आवश्यकता रहेको धारणा व्यक्त गर्नुभएको थियो । उहाँले तालिमको अवसरलाई अधिकतम सदुपयोग गरी आफ्नो र आफ्नो संस्थाको प्रभावकारिता वृद्धि गर्न सहभागीलाई अनुरोध गर्नुभएको थियो ।

अनुसन्धानकर्ता उपप्राध्यापकको क्षमता अभिवृद्धिमार्फत शैक्षिक उत्कृष्टता बढाउन आयोजित तालिममा विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गत कार्यरत उपप्राध्यापक र सहायक प्राध्यापक गरी २५ जनाको सहभागिता रहेको छ ।

विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्रा डा विनिल अर्यालले विश्वका सबै विधा तथ्याङ्क विश्लेषण एवं वैज्ञानिक लेखनमा केन्द्रित हुँदै गएको र तथ्याङ्क नै वैज्ञानिक विश्लेषणको महत्वपूर्ण आधार रहेकाले यस प्रकारको तालिमले अनुसन्धानमा महत्वपूर्ण योगदान गर्न सहयोग गर्ने बताउनुभयो ।

यस प्रकारका तालिमले राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरका जर्नलमा समेत लेख प्रकाशित गर्न उत्प्रेरित गर्ने र समग्रमा प्राज्ञिक क्षमताको विकास हुने अपेक्षा उहाँले गर्नुभएको थियो ।

कार्यक्रममा चाइनिज एकेडेमी अफ साइन्सेसको इन्सिच्युट अफ टिवेटियन प्लेटो रिसर्चका उपनिर्देशक तथा काठमाडौँ सेन्टर फर रिसर्च एण्ड एकुजकेशन(केसीआरइ)का निर्देशक प्रा.डा. बाइक्विङ सूले दुवै देशको वैज्ञानिक अनुसन्धान तथा शिक्षाको क्षेत्रमा महत्वपूर्ण सहकार्य गर्न निर्मित केसीआरइले त्रिविको समग्र प्राज्ञिक उन्नयनको लागि महत्वपूर्ण सहयोग पुर्याउदै आइरहेको उल्लेख गर्नुभयो ।

युवा अनुसन्धानकर्मीलाई अनुदान, विभिन्न तालिमको आयोजना, वैज्ञानिक सम्मेलनको लागि सहयोगलगायतका पक्षमा सहकार्य गरिरहेको उहाँले बताउनुभयो । जल तथा मौसम विज्ञान केन्द्रीय विभागका विभागीय प्रमुख प्रा डा दीपक अर्यालले विभागले निरन्तररुपमा राष्ट्रिय÷अन्तर्राष्ट्रिय सहकार्यमा विभिन्न वैज्ञानिक सम्मेलन, गोष्ठी एवं तालिमको आयोजना गर्दै आइरहेको उल्लेख गर्दै युवा उपप्राध्यापकको प्राज्ञिक विकास र क्षमता वृद्धिलाई विशेष प्राथमिकता दिइँदै आइरहेको बताउनुभयो ।

कार्यक्रममा जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक तथा केसीआरइका उपनिर्देशक डा विनोद दवाडीले तालिममार्फत अनुसन्धान र लेखन क्षमताको विकास गर्ने, जर्नल प्रकाशनमा उत्पे्ररित गर्ने र उपप्राध्यापकलाई पुर्नताजगी गर्दै आफूले जानेका विषयलाई निरन्तर अद्यावधिक गर्ने उद्देश्य राखिएको बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu