अत्यधिक गर्मीले चिलीको ३५ हजार एकड क्षेत्रमा आगलागी, १३ जनाको मृत्यु
चिलीमा अत्यधिक गर्मीका कारण १३ जनाको मृत्यु भएको छ । त्यहाँको मौसम विभागले आगामी दिनमा स्थिति थप बिग्रने चेतावनी दिएको छ । गर्मीको लहरका कारण चिलीका करिब १४ हजार हेक्टर (३५ हजार एकड) क्षेत्रफलमामा आगो फैलिएको छ । आगलागीमा हालसम्म १३ जनाको मृत्यु भइसकेको छ । राजधानी सान्टियागोबाट करिब ५०० किलोमिटर टाढा रहेको सान्ता जुआना शहरमा अग्नि नियन्त्रकसहित ११ जनाको मृत्यु भएको छ ।
चिलीको कृषि मन्त्रालयका अनुसार आपतकालीन सहयोगका लागि आएको हेलिकप्टर पनि ला अराउकानियामा दुर्घटनाग्रस्त हुँदा एक पाइलट र एक मेकानिकको मृत्यु भएको समाचार संस्था एएफपीले जनाएको छ ।
आगो निभाउन थप सेना परिचालन गरिएको छ । देशभर आगलागीका ३९ घटना भएको र सयौं घरमा क्षति पुगेको गृहमन्त्री क्यारोलिना तोहाले जानकारी दिएकी छन् । आगामी दिनमा स्थिति थप बिग्रने चेतावनी दिइएको छ ।