भारतबाट हुने उडान संख्या घटाउने अष्ट्रेलियाको निर्णय
एजेन्सी -अष्ट्रेलियाले भारतमा कोभिड–१९ सङ्क्रमण बढेको भन्दै त्यहाँबाट हुने उडानहरू अस्थायी रूपमा कम गर्ने भएको छ ।बिहीबार प्रधानमन्त्री स्कट मोरिसन र राज्य र क्षेत्र नेतासहितको राष्ट्रिय क्याबिनेट बैठकले भारतबाट उडानको मात्रालाई ३० प्रतिशत कम गर्ने निर्णय लिएको हो ।
भारतजस्ता उच्च जोखिम भएका देशहरूका यात्रीहरूले उडान गर्नुभन्दा ७२ घण्टा पहिले आफूलाई कोभिड–१९ सङ्क्रमण नदेखिएको पुष्टि हुने स्वास्थ्य प्रमाणपत्र देखाएर मात्र अष्ट्रेलिया आउन पाउने व्यवस्था गरेको हो ।
बैठकपछि प्रधानमन्त्री मोरिसनले पत्रकारसँग भन्नु भयो , “हामी जोखिममा रहेका अष्ट्रेलियामा जाने प्रस्थानका विकल्पलाई पनि थप सीमित गर्नेछौं ।” उहाँले थप्नु भयो , “सबै प्रावधान कोभिडलाई मध्यनजर गरी राखिएकोले महामारीको प्रभाव कम हुँदासाथ पहिलेको अवस्थामा आउनेछ ।”
अष्ट्रेलियाको यो निर्णय भारतमा बुधबार र बिहीबारको २४ घण्टाभित्र कोभिड–१९ बाट सङ्क्रमित हुनेको सङ्ख्या तीन लाख १४ हजार कटेपछि आएको हो ।