Connect with us
Kapilvast Forest

रजस्वला नभएका कन्याको पूजा

२०७६, ३ भाद्र मंगलवारमा प्रकाशित

काभ्रेपलाञ्चोक । रजस्वला नभएका कन्यालाई पुज्ने व्यक्ति निरोगी हुन्छन् र ‘मनले चिताएको’ पुग्ने मान्यता छ । यस मान्यताका साथ काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा रजस्वला नभएका कन्या (विशेषगरी १० वर्षमुनिका) लाई श्रीकृष्ण जन्माष्टमीका अवसरमा पुज्ने गरिन्छ ।

विशेषगरी जिल्लाको मुख्य शहर बनेपामा धुमधामका साथ कन्या पूजा आयोजना गरिन्छ । बनेपा नगरमा यो पूजाको इतिहास ११७ वर्ष पुरानो हो । बनेपामा वर्षमा दुईपटक कन्या पूजाको आयोजना गरिन्छ । टिकट दिएर गरिने पूजा जहाँ वर्षेनी करीब दुई हजार ५०० कन्या पूजिन्छन् ।नेवाः कन्या पूजा नाम दिइएको टिकलवाला कन्या पूजा मंगलबार बनेपा नगरपालिका–८ दक्षुटोलमा आयोजना भएको छ । ‘हामीले यसलाई वर्षौँदेखि निरन्तरता दिइरहेका छौँ, यसको आफ्नै मान्यता रहेको छ’, नेवाः कन्या पूजा प्रबन्ध समितिका अध्यक्ष रत्नभक्त पोटेले भन्नुभयो । अर्को, बिनाटिकट, स्वतःस्फूर्त गरिने कन्या पूजा कृष्ण जन्माष्टमीका दिनमा वर्षेनी करीब आठ हजार कन्या सहभागी हुने गर्दछन् ।

बनेपा नगरको भोलाखाँटोलदेखि लायकु दरबार तथा पुरानो बजारको दायाँबायाँ चारदोबाटोसम्म पेटीमा रजस्वला नभएका कन्या लस्करै बस्छन् । १० वर्षमुनिका कन्यालाई पुज्दा उनीहरुको स्वास्थ्य राम्रो हुने तथा पुज्ने व्यक्तिलाई समेत धर्म प्राप्त हुने जनविश्वास रहिआएको छ । यसकारण पनि कन्यालाई पुज्नेको ठूलो भीड हुने गर्दछ ।कन्यालाई पुज्न काठमाडौं, भक्तपुर र ललितपुर तथा छिमेकी जिल्लाबाट समेत भक्तजन आउने गरेका सनातन कन्या पूजा प्रबन्ध समितिका सदस्य प्रकाश कायस्थले जानकारी दिनुभयो । उहाँका अनुसार समितिमार्फत १३५ जना भक्तजनले दानदक्षिणा तथा प्रसाद, स्वारी र मालपुवा, पैसा, जेरी, बिस्कुट, छोकडा, काजु एवं विभिन्न प्रकारका मिठाइ वितरण गर्दछन् ।

स्थानीय इतिहासविद् ज्ञानकाजी मानन्धरका अनुसार कुनै समय बनेपाका एक नेवार समुदायका व्यक्तिले धेरै दुःख भएपछि घरको बुइगलमा राखेर आफ्ना घरका कन्यालाई पूजा गरेका थिए । सोही प्रचलनअनुरुप नेवार समुदायका रजस्वला नभएका कन्या मात्रै पुजिँदै आइए पनि केही वर्षदेखि नेवार समुदायका साथै विभिन्न जातजातिका कन्यासमेत पुजिँदै आएका छन् ।विगत केही वर्षदेखि जिल्लाका अन्य स्थानमा पनि कन्या पूजाको आयोजना गर्दै आइएको छ । कृष्ण जन्माष्टमीका दिन बनेपा नगरका साथै जिल्लाका बुडोल, दोलालघाट, भैँसेपाटी, धनेश्वर, धुलिखेल, दाप्चा, साँगा र पनौतीमा पनि कन्या पूजाको आयोजना गरिन्छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu