Connect with us
Kapilvast Forest

जिम्बाब्वेमाथि सिंगापुरको ऐतिहासिक जित, नेपाल शीर्ष स्थानमा

२०७६, १३ आश्विन सोमबारमा प्रकाशित

काठमाडौं, असोज १३ । सिंगापुरमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट शृंखलाअन्तर्गत् घरेलु टोली सिंगापुरले जिम्बाब्वेमाथि ऐतिहासिक जित दर्ता गरेको छ ।

आइतबार सिंगापुरले टेस्ट मान्यताप्राप्त टोली जिम्बाब्वेलाई ४ रनले हराएको हो । आइसीसीको पूर्ण सदस्य टोली जिम्बाब्वेमाथि सिंगापुरको यो पहिलो जित हो ।

योसँगै तीन टोली सम्मिलित शृंखलामा तीनओटै टोलीको समान दुई खेलबाट समान २/२ अंक भएको छ । शृंखलाको अर्को टोली नेपाल हो ।तीनओटै टोलीले समान एक जित र एक हार व्यहोरेका हुन् ।

जिम्बाब्वेको हारपछि नेपालमा अंकतालिका शीर्ष स्थानमा रहेको छ । तीनै टोलीको अंक समान हुँदा नेपाल ‘नेट रनरेट’का आधारमा शीर्ष स्थानमा रहेको हो । दोस्रो स्थानमा जिम्बाब्वे र तेस्रो स्थानमा सिंगापुर रहेको छ ।

शृंखलामा सबैले आपसमा दुई/दुईओटा खेल खेल्नेछन् । शीर्ष दुई टोलीले उपाधिका लागि फाइनल खेल्नेछन् ।

आइतबार वर्षाका कारण सिंगापुरको इन्डियन एसोसिएसन मैदानमा भएको खेल १८ ओभरमा झारिएको थियो ।टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित् १८ ओभरमा ९ विकेटको क्षतिमा १८१ रन जोड्यो ।सिंगापुरका लागि मनप्रीत सिंहले २३ बलमा ४१ रन तथा टिम डेभिडले २४ बलमा समान ४१ रन बनाए ।

उसका ओपनर रोहन रंगराजन २२ बलमा ३९ रन बनाएर ‘रनआउट’ हुँदै पवेलियन फर्किएका थिए । यस्तै, सुरेन्द्रन् चन्द्रमोहनले १७ बलमा २३ रनको योगदान दिए ।

जिम्बाब्वेका रायन ब्रुलले सर्वाधिक ३ विकेट लिए ।

जवाफमा १८२ रनको विजय लक्ष्य पच्छ्याएको जिम्बाब्वेले पूरा ओभर खेल्दै ७ विकेटको क्षतिमा १७७ रनमात्रै बनाउन सक्यो ।जिम्बाब्वेका कप्तान सिन विलियम्सले ३५ बलमा सर्वाधिक ६६ रनको योगदान गरे ।ओपनर रेगिस चकाभाले १९ बलमा ४८ रन बनाएको जिम्बाब्वेको इनिङ्समा टिनोटेन्डा मुटोम्बोजीले ३२ रन जोडे । उसका अरु ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् ।

सिंगापुरका अमजाद महबुब र जनक प्रकाशले २/२ विकेट लिए ।

शृंखलाअन्तर्गत् नेपालले अब मंगलबार पुनः जिम्बाब्वेसित र बुधबार सिंगापुरसित खेल्नेछ ।

नेपाल पहिलो खेलमा जिम्बाब्वेसित पराजित भएको थियो भने दोस्रो खेलमा सिंगापुरलाई हराएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu