Connect with us
Kapilvast Forest

‘म’ यो सरकारलाई कसरी प्रशंसा गरुँ ? भाग–२

२०७६, २३ भाद्र सोमबारमा प्रकाशित

  • विनोद त्रिपाठी-काठमाण्डौँ २०७६ भद्रा २३:

एसिड आक्रमणबाट बिद्यार्थी मुस्कान खातुनको अनुहारबाट मुस्कान गायव भएको छ । उनको हाँसो अपराधीले लुटिसकेका छन् । वीरगंजमा ३ दिन अघि यी अवोध किशोरीको मुस्कान ति अपराधीले लुटे जुन अपराध हामीले सृजना गरेको सामाजिक प्रतिविम्व पनि हो । यो डर लाग्दो अपराध अहिले एकै पटक जन्मिएको होइन । राजनीति परिवर्तनका नाममा भएका अपराधले उत्पादन गरेका बिभिन्न रुपका यी बिद्रुप अपराधहरुका उदाहरण हुन् । कसरी ? यो आलेखमा नेपालमा अपराध र महिला हिंसामा कसरी बढोत्तरी आयो भन्ने थोरै संकेत गर्न खोजिएको छ । किनकी बर्तमान सामाजिक परिवेश र यसले तय गरेका गन्तब्यहरु यस्तै प्रकारका दुष्चक्रबाट सृजित भएकोले जनतामा भ्रम निराकरण गर्न आबस्यक ठानिएको छ । नेपालमा यो एसिड आक्रमण पहिलो होइन ।

यस अघि चार पटक यस्तै घटना भइसकेका छन् । गणतन्त्र आएपछि एसिड आक्रमण, सुई घोच्ने लगायतका बिभिन्न प्रकारका घृणित हर्कत रुपी अपराधहरु जन्मिए । अहिले मुस्कान खातुनका अपराधीहरु पक्राउ त परिसकेका छन् । तर, भित्रभित्रै सेटिङ पनि चलिरहेको होला । यो हामी सोझो अनुमान गर्न सक्छौं । किनकी यस अघि भएका यस्तै अपराधका अपराधीलाई खुलेयाम कारवाही गरिएको भए सम्भवत यस्ता घटना दोहोरिंदैन थिए । विडम्वना हाम्रो प्रणालीले अपराधीलाई जति वलवान बनाईदिएको छ, त्यति नै पीडितलाई निरिह पारिदिएको छ । यो विगतका घटनाले पुष्टि गरिसकेको छ । त्यसैले, यी र यस्ता घटना हाम्रो राजनीति परिवर्तनसंग स्वत जोडिएका छन् । हाम्रा परिवर्तनले महिलालाई अधिकार दियो । तर, सुरक्षा दिएन ।

हाम्रो राजनीतिले महिलालाई नेता त बनायो, तर मुस्कान दिएन । अपराधी छुटाउने र निर्दोषहरुलाई दोषी करार गर्ने संस्कार हाम्रो यो राजनीतिले स्थापित गरिदियो । कम्युनिष्टहरुले युद्ध र आन्दोलन गर्दा एउटा गित खुब सुनाए । ‘आमा दिदि बहिनी हो, कति बस्छौ दासी भइ, सुखको सधैं प्यासी बनेर ..।’ तत्कालिन एमालेमा रहेर जेवि टुहुरेले गाएको यो गित सुन्दा हरेक ब्यक्तिलाई जुरुक्क पाथ्र्यो । निरिह नेपालीलाई यो गितले कम्युनिष्ट बन्न प्रेरित गर्यो ।

दिदिबहिनीलाई साँच्ची कम्युनिष्टले त्यो स्वतन्त्रता दिने हो कि भन्ने भ्रम फैलियो । गित आँफैमा कति जिवन्त छ । हरेक मानिसलाई प्यास लाग्छ । खान, लाउन, हेर्न, घुम्न, प्रेम गर्न आदि आदि । यो प्यास मेटाउन महिलालाई उति नै अधिकार छ, जति पुरुषलाई छ । यो प्राकृतिक नियम हो । गितमा कुनै खोट छैन । हाम्रो नियतमा खोट हो । कम्युनिष्टहरु ढोंगी हुन्छन् । भाषण एउटा गर्छन् । ब्यबहार अर्को गर्छन् । तराईमा महिलाहरुको स्वतन्त्रतामा अन्धबिश्वास थोपरिएको बर्षो अघिदेखि हो । हुने खाने घरका परिवारले काठमाडौं, पोखरा, चितवन जस्ता ठुला शहरहरुमा छोरीहरुलाई राखेर पढाएका छन् ।

आर्थिक अबस्था कमजोर भएका परिवारका छोरीहरु त्यहिं पढ्छन् । कति छोरीले त पढ्न पनि पाउँदैनन् । संस्कृति भित्र लुकेको कुरीतिले तराईका गल्लीगल्लीमा अधिकांश छोरीहरुको मुस्कान दविएको छ । पहाडका गाउँगाउँमा अन्धबिश्वासका जडतामा टेकेर महिलालाई कथित बोक्सी आरोप यहि समाजले लगाइदिएको छ । तराईको दहेज र पहाडको दाइजोले महिलाहरु अझै कति पीडित छन्, त्यसको डर लाग्दो पाटो कसैले बाहिर ल्याउन सकेको छैन । हिमालदेखि तराईसम्म कुनै न कुनै अन्धबिश्वासले अपराधलाई अझै टिकाइराखेको छ । यो अपराधमा सबैभन्दा बढि पीडित महिलाहरु नै भएका छन् । यसलाई समाजले सहज रुपमा स्वीकार गर्यो । यहि दासतालाई मुद्धा बनाएर कम्युनिष्टहरुले देशभरि आफ्नो संजाल फैलाए । परिणाम स्वरुप राजनीतिमा पाका उमेरका महिलाहरु कुनै न कुनै पदमा आसिन हुन पुगे । तर, तराईमा छोरीहरुको स्वतन्त्रतामा हिजो र आज तात्विक अन्तर हुन सकेन । आमाहरु नगरपालिका र गाउँपालिकाका पदमा पुगेपनि घरदेखि बजारसम्म छोरीहरु निर्धक्क घुम्ने मनोरञ्जन गर्ने बाताबरण छैन । अर्थात छोरीहरुको स्वतन्त्रतामा असुरक्षाको बाताबरण झन बढेको छ । हाम्रो ठुलो सिमाना भारतसंग जोडिएको छ ।

बेलाबेलामा राष्ट्रसंघले भन्ने गरेको छ,‘बिश्वमा महिलाहरु सबैभन्दा बढि असुरक्षित हुने स्थान दिल्ली हो । घुम्न जाने महिलाहरु साबधान रहनुहोला ।’ पछिल्ला बर्षमा दिल्लीमा पुरुषले महिला माथि दर्जनौं एसिड आक्रमण गरेका घटना सार्बजनिक भएका छन् । यस्ता घटनाले एकथरि भारतीय बृद्धिजिवी र त्यहाँका असल मनहरुले आफ्नै नागरिकहरुलाई घृणा गर्न थालिसकेका छन् । एकथरि भारतीय नै अर्कोथरि भारतीयबाट हैरानी ब्यहोरेको यो घडीमा हाम्रो खुल्ला सिमानाले त्यो विकृति भित्र्याइरहेको छ । नेपालका कम्युनिष्टले आन्दोलन वा युद्ध गर्दा भारतको खुब बिरोध गर्छन् । जब सत्तामा जान्छन्, अनि भारतको विकृतिलाई सहजै स्वीकारी दिन्छन् ।

हामी भारत बिरोधी होइनौं, त्यहाँको आपराधिक समाज र हामीलाई त्यसले पारेको असरको बिरोध गछौं भन्ने सन्देश कहिल्यै नेपालका कम्युनिष्टले दिएनन् । परिणाम स्वरुप कम्युनिष्ट सरकार भएर पनि खुल्ला सिमानाका कारण धमाधम दिल्ली हुँदै अनेक प्रकारका अपराधका सिकाईका प्रयोगहरु नेपालमा भित्रिरहेको छ । अपहरण गर्ने शैली त कम्युनिष्टले त्यतैबाट मजैले सिके । युद्ध वा आन्दोलन गर्दा कम्युनिष्टले धेरैलाई अपहरण गरे । यो इतिहास साँची छ । तत्कालिन माओबादीले युद्ध गर्दा महिलाहरुको प्रयोग ज्यादा गरेका थिए । महिला माथि भएका यौन हिंसाका घटनाले माओबादी भित्रभित्रै बदनाम भइसकेको थियो ।

शान्ति प्रक्रियामा आएपछि माओबादीबाट पीडित महिलाहरुले सरकारका बिभिन्न निकायमा उजुरी गरे । पेरिसडाँडा कार्यालयमा त्यो बेलाको माओबादी युद्धबाट यौन हिंसामा परेका ४६ वटा उजुरी छानविन नगरी अझैसम्म दवाइएको छ । पछि यी मुद्धाहरुलाई लिएर राष्ट्रसंघले तत्कालिन माओबादीलाई ताकेता पनि गरेको थियो । राजनीति परिवर्तन गरेर महिलालाई अधिकार दिने कम्युनिष्टले सिकाए । राजनीतिमा मात्र महिलाको पहुँच भएर महिला हिंसामा कमि हुँदैन भन्ने उदाहरण नेपालका कम्युनिष्टले बंगलादेश र पाकिस्तानबाट सिकेनन् । बंगलादेशमा महिलालाई राजनीतिमा प्रतिनिधित्व उच्च प्रकारको छ ।

हामी कहाँ ३३ प्रतिशत प्रतिनिधित्व शुरु भएको छ । अहिले पनि शक्तिशाली पदहरुमा बंगलादेशले महिलालाई बिराजमान गराएको छ । तर, त्यहाँ महिलाहरुको स्वतन्त्रता यति कहाली लाग्दो छ , तपाई हामीले अनुमान पनि गर्न सक्दैनौं । केटीहरु खुलेयाम गल्लीमै बलत्कृत हुन्छन् । हरेक घरघर भित्र महिलाहरु हिंसाको धारमा एक मुठी सास लिएर बाँचेका छन् । पाकिस्तान र बंगलादेश महिला स्वतन्त्रताको लिष्टमा बिश्वमै पुछारमा छ । तर के त्यहाँ राष्ट्रपति, प्रधानमन्त्रीदेखि सरकारी बिभिन्न तहमा महिला प्रतिनिधित्व छैन र ? त्यहि प्रकारको राजनीति संस्कार बर्तमान हाम्रो संबिधानले दिएको छ ।

नेपालका कम्युनिष्टहरुले यहि विकृत राजनीतिलाई संस्थागत गरिदिएका छन् । फेरि यो लेखमा अर्को अर्थ नलागोस । महिलालाई राजनीति अधिकार दिएर हिंसामा कमि हुँदैन भन्ने आसय होइन । राजनीति अधिकार सबैभन्दा ठुलो अधिकार हो । तर, जबसम्म प्रणाली र नियतमा परिवर्तन हुँदैन, राजनीति अधिकार पाएर पनि महिलाले स्वतन्त्रता र सुरक्षा पाउने रहेनछन् भन्ने बंगलादेश र पाकिस्तानबाट सिक्नुपर्छ भन्ने मात्र हो । अहिले नेपालको सरकारी संयन्त्रमा कम्युनिष्टको संजाल छ ।

अर्थात कम्युनिष्ट सेटिङ छ । अहिले यति धेरै सोर्सफोर्स चल्छ कि कुनै पनि सिष्टमले कामै गर्देन । यसको पछिल्लो उदाहरण हो निर्मला पन्त बलत्कार हत्याकाण्ड । कम्युनिष्ट निकटका पत्रकारदेखि यिनकै पहुँचका ब्यक्तिसम्मले सोर्सफोर्सका आधारमा सरकारका निकायलाई आफ्नो कावुमा राखेका छन् । नेपाल प्रहरीका अबकास प्राप्त उच्च अधिकारीले मसंग भनेका थिए, ‘अहिलेसम्म राजनीतिले प्रहरीलाई थिचेको यो नै पहिलो दृष्टान्त हो । ’ सरकारका मन्त्री पिएदेखि बिचौलिया कार्यकर्ताले प्रहरीलाई स्वतन्त्र ढंगले काम गर्न दिएका छैनन् । यसको पछिल्लो उदाहरण हो, निर्दोष पत्रकार रवि लामिछाने चितवन हिरासतमा रहेका बेला प्रहरी महानिरिक्षक सर्बेन्द्र खनालले रविलाई भेटेपछि गृहमन्त्रालयले स्पष्टिकरण सोध्नु ।

अहिले कुनै पनि सुरक्षा अधिकारीले स्वतन्त्रपुर्वक काम गर्न पाउँदैनन् । सरकारले अर्थात सत्तारुढ कम्युनिष्ट पार्टीले यी अंगलाई आफ्नो नियन्त्रणमा होइन, आँफु अनुकुल जनताको बिरुद्ध प्रयोग गरिरहेको छ । यदि यो सोर्सफोर्स नभएको भए घटना घटेको केहि दिन भित्रै निर्मला हत्याकाण्डका अपराधी पत्ता लागिसक्थ्यो । २०६४ साल अघिसम्म नेपाल प्रहरी बिश्वमै अब्बल दर्जामा कहलिएको थियो । नेपाल प्रहरीले चाह्यो भने जस्तोसुकै अपराधी पनि उम्कन पाउँदैनन् भन्ने त्यतिबेलाका उदाहरण छन् । तर, जब कम्युनिष्टले पछिल्ला बर्षहरुमा नेपालमा सत्ताको बागडोर सम्हाल्न थाल्यो अनि नेपाल प्रहरी र राष्ट्रिय अनुशन्धान आयोग निरिह बन्दै गए ।

कम्युनिष्टलाई समर्थन नगर्ने प्रहरी अधिकारीहरु कि अबकास रोजेर घर फर्किए । कि कुनामा थन्क्याइए । यो बिडम्वना नेपाल प्रहरी भित्र नतोडिएसम्म न पीडितले न्याय पाउने संभावना रहन्छ न अपराधीले सजाय पाउँछ । यसको गतिलो उदाहरण निर्मला पन्त हत्याकाण्ड नै छैन र ? त्यसैले, म यो सरकारलाई कसरी प्रशंसा गरुँ ? अर्थात हामीले यो सरकारलाई कुन आधारमा समर्थन गर्ने ???

(पत्रकार त्रिपाठी सफल सम्पादक तथा पछिल्लो समय समसामयिक बिषयमा खरो कलम चलाउंदै आएका छन ।)

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu