Connect with us
Kapilvast Forest

संसारभर नेपाल भ्रमण वर्षको प्रचार

२०७६, २८ भाद्र शनिबारमा प्रकाशित

२८ भदौ, काठमाडौं । भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै नेपालले चालु आर्थिक वर्षभित्र करिब ५० अन्तर्राष्ट्रिय कार्यक्रममा भाग लिने भएको छ । संसारभर चर्चित ट्राभल शोहरुमा उपस्थिति जनाएर नेपालको प्रवर्द्धन गरिने पर्यटन बोर्डका अधिकारी बताउँछन् ।

नियमित पर्यटक आइरहेका मुख्य स्रोत बजारमा हुने यस्ता इभेन्टले अन्तर्राष्ट्रिय व्यवसायीमाझ नेपाल एक विश्वासिलो गन्तव्य स्थलका रुपमा स्थापित हुने अधिकारीहरुको भनाइ छ । यस्ता इभेन्टले नयाँ तथा पुराना व्यवसायीबीच सम्पर्क स्थापित गराउने र उपभोक्ता लक्षित पर्यटकीय ब्राण्डिङमा सहयोग पुग्ने उनीहरुको विश्वास छ ।

बोर्डले भ्रमण वर्षलाई लक्षित गरी करिब ३५ करोड रुपैयाँ बजेट खर्च गर्दैछ । त्यसमध्ये १० करोड नगद सचिवालयलाई दिने र २५ करोड प्रवर्द्धनात्मक कार्यक्रममा खर्च गर्ने योजना बोर्डले बनाएको छ ।

कुन-कुन इभेन्टमा पुग्दैछ नेपाल ?

यूरोप-अमेरिका : टीटीजी ट्राभल एक्सपेरियन्स (इटाली), इन्टरनेशनल टुरिजम एण्ड ट्राभल शो (क्यानडा), वर्ल्ड टुरिजम मार्ट (लण्डन), होलिडे फेयर (अष्ट्रिया), होलिडे फेयर (नेदरल्याण्ड्स), एडभेन्चर ट्राभल शो एण्ड कन्फ्रेन्स (लण्डन), इन्टरनेशन टुरिजम फेयर (स्पेन), ईएमआईटी (टर्की), आईटीबी बर्लिन (जर्मनी), टुरिजम फेयर (ग्रिस), एमआईटीआई मस्को (रसिया), नेपाल सेल्स मिसन (अमेरिका) ।

एसिया तथा ओशिनिया : एनएटीएएस होलिडेज २०१९ (सिंगापुर), पाटा ट्राभल मार्ट (काजकिस्तान), आईएटीएम (इजरायल), माट्टा (मलेसिया), एटीएम (दुबई) ।

उत्तर पूर्वी एसिया : केओटीएफए (दक्षिण कोरिया), जाटा (जापान), सीआईटीएम (चीन), सीओटीटीएम (चीन), आईटीई (हङकङ), आईटीबी (सांघाई, चीन), जीआईटीएफ (ग्वाङझाउ, चीन) ।

दक्षिण एसिया : टीटीएफ (अहमदावाद, भारत), जयपुर ट्राभल बजार (भारत), साट्टे (भारत), टीटीएफ (बैङ्लौर, भारत), टीटीएफ (चेन्नई भारत), टीटीएफ एण्ड ओटीएम (मुम्बई, भारत), डीटीएम (बंगलादेश), बीटीटीएफ (बंगलादेश), नेपाल सेल्स मिसन (उत्तर-भारत), नेपाल सेल्स मिसन (मध्य तथा पश्चिम भारत), नेपाल सेल्स मिसन (पश्चिम भारत), नेपाल सेल्स मिसन (बंगलादेश) ।

एनआरएन र कूटनीतिक नियोगसँग सहकार्य

हरेक अन्तर्राष्ट्रिय कार्यक्रममा विदेशस्थित नेपाली कूटनीतिक नियोग र गैरआवासीय नेपालीको सहयोग लिने योजना बोर्ड तथा भ्रमण वर्ष सचिवालयको छ । भ्रमण वर्ष अवधिभर हरेक मुलुकमा नेपाल डेस्क स्थापना गरी नेपालबारे बुझ्न चाहने पर्यटकलाई जानकारी गराउने तयारी छ । यसका लागि स्वयंसेवक उपलब्ध गराउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टसँग आग्रह गरेका छन् ।

भट्टले पनि आफूहरु यसमा सकारात्मक रहेको प्रतिक्रिया पछिल्लो भ्रमण वर्ष मूल आयोजक समितिको बैठकमा दिएका थिए । भ्रमण वर्षमा कूटनीतिक नियोगले कम्तिमा सम्बन्धित मुलुकका राष्ट्र प्रमुखलाई उदघाटन समारोहमा बोलाएर भ्रमणको वर्षको शुभारम्भको पहल थाल्न आग्रह गरिँदैछ । विश्वविद्यालय तथा निजी क्षेत्रसँग पनि सहकार्य गरी विदेशमा नेपालको प्रवर्द्धन गर्ने योजना भ्रमण वर्षकै लागि लक्षित गरी बनाइएको छ ।

देशभित्रको तयारी के छ ?

भ्रमण वर्षमा मुलुकभित्र छिटो नेपालबारे प्रचार होस् भनी एसिया प्यासिफिक मिडिया कन्फ्रेन्स आयोजना गर्ने तयारी भइरहेको छ । एसिया प्यासिफिक क्षेत्रका सञ्चारकर्मीलाई नेपालमा बोलाएर मिडिया समिट आयोजना गर्न लागिएको बोर्डले जानकारी दिएको छ ।

भ्रमण वर्ष संयोजक सुरज वैद्यका अनुसार यस अवधिका नेपालबारे सकेसम्म सकारात्मक खबरहरु विश्वभर फैलाउने योजना छ । उनले नेपालभित्र पनि सकारात्मक कामलाई प्राथमिकताका साथ प्रचार गर्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्तासँग आग्रह गरेका छन् ।

कूटनीतिक नियोगका प्रमुखलाई घुमाइने

भ्रमण वर्षलाई नै लक्षित गरी नेपालभित्र रहेका विदेशी कूटनीतिक नियोगका प्रमुखहरुलाई नेपालका विभिन्न गन्तव्यमा घुमाइने भएको छ । उनीहरुमार्फत पनि नेपालको प्रवर्द्धन हुने भन्दै भ्रमण वर्षको अवसरमा कूटनीतिज्ञहरुलाई भ्रमणको चाँजोपाजो मिलाउन लागिएको हो । परराष्ट्र मन्त्रालयसँग सहकार्य गरी यो कार्यक्रम कार्यान्वयन गरिने बोर्डको तयारी छ ।

भ्रमण वर्षलाई लक्षित गरी यस वर्ष पनि नेपालबारे विज्ञापन विदेशी सञ्चारमाध्यममा बजाउने योजना छ । गत वर्ष पनि यो कार्यक्रम बजेटमा समेटिएको थियो । तर, बोर्डले कार्यान्वयन भने गर्न सकेको थिएन ।

यस वर्ष बीबीसी, सीएनएनजस्ता ठूला सञ्चारमाध्यमबाट विश्वव्यापी रुपमा प्रचार-प्रसार गरिने बोर्डका सीईओ दीपकराज जोशी बताउँछन् । उनका अनुसार ठूला सञ्चारमाध्यमबाट संसारमा सबैभन्दा बढी भिजिट हुने ट्राभल साइट ट्रीप एडभाइजर, लोन्ली प्लानेटजस्ता प्लेटर्फमबाट पनि नेपालको प्रवर्द्धन गर्ने योजना रहेको छ । चीन र भारतका विभिन्न सञ्चारमाध्यमसँग पनि सहकार्यको योजना बनाइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu