Connect with us
Kapilvast Forest

सिन्धुपाल्चोकमा बस खस्दा १७ को मृत्यु, एकै गाउँका आठजना

२०७६, १८ कार्तिक सोमबारमा प्रकाशित

सुनकोसी नदीमा यात्रुवाहक बस खस्दा कम्तीमा १७ जनाको मृत्यु भएको छ । दोलखाको मागा देउरालीबाट काठमाडौंतर्फ गइरहेको बा २ ख ७२४५ नम्बरको बस आइतबार दिउँसो चौतारा साँगाचोकगढी नगरपालिकाको सुकुटेनजिकैबाट नदीमा खस्दा पाँच बालबालिकासहित १७ जनाको मृत्यु भएको हो । दुर्घटनामा ५१ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा १२ महिला र पाँच पुरुष रहेको सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेले जानकारी दिए । १५ जनाको घटनास्थलमा र दुई जनाको उपचारका क्रममा मृत्यु भएको थियो । नदीमा केही यात्रु बेपत्ता भएकाले मृतकको संख्या बढ्न सक्ने प्रहरी अनुमान छ । बस सडकबाट करिब २० मिटर तल नदीमा खसेको छ ।

आइतबार साँझसम्म १० जनाको सनाखत भएको छ । दुर्घटनामा सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–४ की ३० वर्षीया चमेली श्रेष्ठ र उनकी ६ वर्षीया छोरी साइरानी, दोलखा भीमेश्वर नगरपालिका–९ की २४ वर्षीया रञ्जिता केसी, शैलुङ गाउँपालिका–३ की ५० वर्षीया रत्नकुमारी राउत, उनका २८ वर्षीय छोरा किरण राउत, सोही ठाउँकी तीन महिनाकी शिशु सिसन तामाङ, शैलुङ –५ का रितेश खड्का र शैलुङ–७ की कविता राउतको घटनास्थलमा मृत्यु भएको डीएसपी काफ्लेले जानकारी दिए । चार महिला र चार पुरुषको सनाखत हुन सकेको छैन ।

बनेपास्थित सिर मेमोरियल अस्पतालमा शैलुङ–४ की ६ वर्षीया बालिका सलिना तामाङ र धुलिखेल अस्पतालमा ५२ वर्षीया चेतकुमारी बस्नेतको मृत्यु भएको थियो ।

घाइते ५१ जनालाई धुलिखेल अस्पताल लगिएको छ । गम्भीर दुईजनालाई काठमाडांै रिफर गरिएको धुलिखेल अस्पतालले जनाएको छ । चालक धनबहादुर श्रेष्ठ गम्भीर घाइते छन् । दुर्घटनाको कारण खुलेको छैन ।

स्काभेटरले नदीबाट बस निकालेपछि घाइतेको उद्धार गरिएको थियो । उद्धारका लागि रिसोर्टका र्‍याफ्टिङ बोट पनि प्रयोग गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी प्रज्ज्वल महर्जनले जानकारी दिए । उद्धारका लागि स्थानीय, र्‍याफ्टिङ गाइड, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेना खटिएका थिए । साँझसम्म खोजी कार्य जारी राखिएको छ ।

एकै गाउँका ८ जनाको मृत्यु

बस दुर्घटनामा दोलखाको एकै गाउँका ८ जनाको मृत्यु भएको छ । शैलुङ गाउँपालिका–५ काटाकुटी गाउँका ८ जनाको मृत्यु भएको शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलालले जानकारी दिए । घटनाको जानकारी पाएलगत्तै सुकुटे पुगेका अध्यक्ष दुलालका अनुसार काटाकुटी गाउँका ८ जनाको मृत्यु भएको हो । ‘गाउँबाट फोन आउँदा सबैको रुवाबासीमात्र सुन्छु’, अध्यक्ष दुलालले मलिन स्वरमा भने ।

‘घाइते र शव खोज्दै दिनभर कहिले सुकुटे, कहिले धुलिखेल पुगेँ । सिन्धुपाल्चोकको बाह्रविसेमा थप शवको पहिचान गर्न जाँदै छु,’ उनले भने । शैलुङ गाउँपालिकाकै मागापौवाका २ जनाको पनि मृत्यु भएको उनले भने ।

सनाखत भएका मृतक

त्रिपुरासुन्दरी गाउँपालिका–४ सिन्धुपाल्चोककी ३० वर्षीया चमेली श्रेष्ठ, त्रिपुरासुन्दरी गाउँपालिका–४ सिन्धुपाल्चोककी ६ वर्षीय शाइरानी श्रेष्ठ, भीमेश्वर नगरपालिका–९, दोलखाकी २४ वर्षीया रञ्जिता केसी, शैलुङ गाउँपालिका–३,दोलखाकी ५० वर्षीया रत्नकुमारी राउत, शैलुङ गाउँपालिका–३,दोलखाकी २८ वर्षीय किरण राउत, शैलुङ गाउँपालिका–३,दोलखाका तीन महिने शिशु शिषन तामाङ, शैलुङ गाउँपालिका–५, दोलखाका रितेश खड्का, शैलुङ गाउँपालिका–७,दोलखाकी कविता राउत, शैलुङ गाउँपालिका–४, दोलखाकी ६ वर्षीया बालिका शलिना तामाङ र ५२ वर्षीया चेतकुमारी बस्नेतको ठेगाना खुल्न सकेको छैन । आजको अन्न्नपुर्णपोष्टबाट

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu