Connect with us
Kapilvast Forest

बुटवलमा दुई अर्बको लगानीमा अन्तराष्ट्रिय स्तरको कृषि प्रबद्धन केन्द्र बन्ने

२०७६, १८ कार्तिक सोमबारमा प्रकाशित

बुटवल- बुटवलमा दुई अर्ब बढीको लगानीमा आधुनिक कृषि उपज थोक बजार प्रबद्धन केन्द्र बन्ने भएको छ। बुटवल उपमहानगरपालिका १६ र सैनामैना नगरपालिका १ को कर्साघाटमा ३० बिगाह क्षेत्रफलमा कृषि उपज तथा थोक बजार केन्द्र बनाउन लागीएको हो।

संघीय सरकारले बजेट मार्फत ७ वटै प्रदेशमा यस्ता बजार बनाउने योजना ल्याएको थियो । सोही योजना अनुरुप बुटवलमा कृषि बजार निर्माण गर्न लागिएको कृषि पुर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्रका प्रमुख तथा सहसचिव प्रकाशकुमार संजेलले बताए। दुई अर्ब चार करोड ४३ लाख रुपैंयाँ लागत अनुमान गरिएको केन्द्र अन्तराष्ट्रिय स्तरको बनाइने बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले बताए। अत्याधुनि कृषि उपज थोक बजार प्रवद्र्धन केन्द्रको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिएको छ।

संघीय सरकार अन्तरगतको कृषि पुर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रर्वधन केन्द्रले ६ महिना लगाएर विस्तृत अध्ययन प्रतिवेदन तयार गरेको हो । यस्लाई संघीय सरकारको विभागीय मन्त्रालयले मेगा प्रोजेक्टका रुपमा लिंदै सोही अनुरुप लगानीका स्रोत खोज्ने बताएको छ। अन्तर्राष्ट्रिय स्तरको यो केन्द्रबाट कृषि उपजको संकलन, भण्डारण, प्रशोधन र बिक्री वितरणका साथै एग्रोटुरिजमको समेत प्रवद्र्धन हुने बताइएको छ।

केन्द्रको डिपिआर तयार भएसँगै निर्माणका लागि लगानीका स्रोतको खोजी तीव्र पारिएको बुटवलका मेयर सुवेदीले बताए। संघ, प्रदेश, स्थानीय तहका साथै निजी र सहकारी क्षेत्रकोसमेत सहकार्यमा लगानी गर्ने वातावरण बनाइने उनले बताए । मेयर सुवेदीको नेतृत्वमा केहिदिन अघि सैनामैना नगरपालिका प्रमुख चित्रबहादुर कार्की, कृषि पुर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्रका प्रमुख तथा सहसचिव प्रकाशकुमार संजेलसहित वरिष्ठ इन्जिनियर सो क्षेत्रका वडाध्यक्षसहित जनप्रतिनिधि, राजनीतिक दलका नेताहरु र नागरिक अगुवाले संयुक्त रुपमा साइड भिजिट गर्दै मेगाप्रोजेक्टलाई सफल बनाउन सबैले सहकार्य गर्ने प्रतिबद्धतासमेत जनाएका छन्।

कुल लगानी दुई अर्ब ४ करोड ४३ लाख मध्ये बजारका संरचना बनाउन मात्रै एक अर्ब ६५ करोड लाग्ने बताइएको छ। जसमा विभिन्न ३४ वटा ब्लक निर्माण गरिने छ। ६ वटा गोदाम घर बन्नेछन्। केन्द्रभित्रै अस्पताल, गेष्ट हाउस, शौचालय, धर्मकाँटा, क्वारेन्टाइन चेकपोष्ट सहित थोक तथा खुद्रा सामानका अलग–अलग सटरहरु बनाइने बिस्तृत अध्ययन प्रतिवेदनमा उल्लेख छ।

केन्द्रमा एक लाख मेट्रिक टन क्षमताको खाद्यान्न बालीको गोदाम बन्नेछ। ५० हजार टन क्षमताको तरकारी, पशुपन्छी, फलफूलसम्बन्धी वैज्ञानिक प्रविधिसहितको गोदाम घर हुनेछ। खाद्य, तरकारी, फलफूलको शीतभण्डार,गुणस्तर मापन गर्ने प्रयोगशाला, बायोग्यास उत्पादन केन्द्र, फोहोर प्रशोधन केन्द्र र बीउ भण्डार गृह पनि केन्द्र भित्रै बन्नेछ। पशुजन्य बिक्रीका लागि छुट्टै क्वारेन्टाइन भवन हुनेछ। तीन वटा जिउँदो माछा बिक्री केन्द्र र एक सय मेट्रिक टन जोख्न सक्ने दुई वटा धर्मकाँटा राखिने प्रतिवेदनमा उल्लेख छ।

केन्द्रमा किसानले उत्पादन गरेका कृषि र पशुपन्छीसम्बन्धी सम्पूर्ण उत्पादनको खरिद बिक्रीको व्यवस्था मिलाइने कृषि पुर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्रका प्रमुख तथा सहसचिव प्रकाशकुमार संजेलले बताए। उत्पादित कृषि उपजको बजार मूल्य कम भएको समयमा गोदाम घरमा भण्डारण गर्न सकिने छ।

बजार मूल्य वृद्धि हँदा किसानले आफै गोदामबाट बाहिर निकालेर व्यापारीलाई बिक्री गर्न सक्ने सहसचिव संजेलले बताए। उनका अनुसार बजार, गोदाम, प्रशोधन केन्द्र सहकारीमा आधारित हुनेछन्। केन्द्रमा बिक्री हुन नसकेका कृषि उपज र पशुपन्छी प्रशोधन गरिने बताइएको छ। त्यसलाई मूल्य शृंखलामा आधारित नया बस्तु उत्पादन गरी बिक्रीको व्यवस्था मिलाइने बताइएको छ। केन्द्रमा गेष्टहाउस सहितको होटल, चमेनागृह तथा ५ वटा शौचालय बनाउने प्रस्तावमा उल्लेख छ।

कृषि बजार केन्द्र बनाउने भनिएको क्षेत्र बुटवल र सैनामैनाको बिचमा रहेको दानव नदीको उकास क्षेत्र हो। नदि नियन्त्रणकालागि आरसीसी सहितको रिटेनीङ वाल लगाइने त्यसकालागि ७ करोड बजेट लाग्ने वरिष्ठ इन्जिनियर दीपककुमार भारद्वाजले बताए। तीनवटा आधुनिक र स्मार्ट द्वार पनि निर्माण हुने इन्जिनीयर भारद्धाजले बताए। आयोजनाको चालु आर्थिक वर्षमा वातावरणीय प्रभाव मुल्यांकन गरिने छ। चालु वर्षकै अन्त्य सम्म निर्माण प्रक्रिया थाल्ने योजना रहेको प्रमुख संजेलले बताए। डिपिआरसँगै पाँच वर्षमा निर्माण सक्नेगरी पञ्चवर्षीय गुरुयोजना समेत निर्माण गरिएको उनले बताए।

नागरिकबाट

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu