Connect with us
Kapilvast Forest

उहिलेकाे गाेरखापत्रबाट: पोलाहाका कारण सम्पादकको जागिर चट्

२०७८, २४ बैशाख शुक्रबारमा प्रकाशित

 

प्रकृति अधिकारी,काठमाडौं-पुष्करशमेरले ‘बार’ लेख्दा ‘ह’मा ‘र’ लगाउनुपर्छ नत्र नरकटको बार जस्तो हुन्छ भनेका थिए रे । गोरखापत्रका ‘सम्पादक बाजे’ वासुदेव शर्मा लुइँटेललाई त्यो कुरा कण्ठै थियो । ‘गैर सरकारी’ भन्ने छापिदै थियो– गोरखापत्र छापाखानामा । उनले हत्तपत्त ‘र’लाई काटेर ‘ह्र’ बनाइदिए । अब यति भए उक्साउने र ‘पावरवाला’लाई पुग्यो । भोलिपल्ट विहान ११ बजे उनलाई पक्राउ गर्न दरबारबाट आठपहरिया पठाइए । पक्राउ गरेर महाराजगञ्ज (तत्कालीन प्रधानमन्त्री मोहनशमशेरको दरबार) पु¥याए ।

२०३० साल वैशाख २४ गतेको गोरखापत्रको विशेषाङ्कमा त्यो बेलाको रमाइलो स्मरणलाई यसरी लेखेका थिए, “के अड्डाका कुन काजी रहेछन् उनी पनि साथ लागेर हजुरिया जर्नेलको अगाडि उभ्याइएँ ।” वासुदेव ‘छाप्दा एउटा अक्षर अशुद्ध भएछ’ भनेर उम्किन खोजे । हजुरिया जर्नेलले सच्याएर बाँड्न लगाउन भने । सुब्बाले केरेको ठाउँमा बुबाको छाप लगाउनुपर्छ भने । जर्नेलले राम्रो अक्षर हुने मान्छेलाई सार्न लगाएर जहाँ पठाउनुपर्छ पठाउ भन्ने आदेश दिए । यतिञ्जेल वाशुदेव थुनामा परिसकेका होलान् अब उनका ठाउँमा जागिर खानुपर्छ भनेर जुँगा मुसार्ने सहकर्मीहरु उनलाई गोरखापत्रमा देखेपछि छक्क परे ।

ती बेला गोरखापत्रमा जागिर थाम्न त्यति सजिलो थिएन । श्री ३ को ‘३’ हट्दा जागिर गुमाउनेहरु पनि थिए । जर्नेलले सम्पादन गरी काटिदिएका लाइन भुलवस छापिदा जरिवाना तिर्नेहरु पनि थिए । रामराज पौड्यालले २०३३ सालको गोरखापत्रमा लेखेका स्मरणबाट पनि यी कुरा प्रष्ट हुन्छन्, “कम्पोजिटरले एउटा रुल कटर बिग्रेर बाहिर बनाउन लाँदा त्यसैले मुद्दाकोरुप लिएपछि राइटर रामलाल श्रेष्ठ र अर्का कामदार खोसिएको घटना बिर्सिनसक्नु छ ।”

तुलसीमेहर श्रेष्ठले खद्दरसम्बन्धी लेख पठाएका थिए । त्यसमा ‘मेरा गुरु महात्मा गान्धी’ भन्ने वाक्याँश थियो । लेख छापिएको थिएन तर पोलाहाका कारण त्यसले मुद्दाको रुप लियो । सम्पादकले गोरखापत्रको ‘सर्कुलेसन’ दुई हजार प्रति पुग्यो भन्दा तत्कालीन प्रशासकलाई चित्त बुझ्दैन थियो । ती सम्पादकले भनेको कुरालाई रामराजले लेखमा उल्लेख गरेका थिए, “छोरा जर्नेलको मनसाय चाहिँ अब ग्राहक नबढुन् भन्दा उहाँले वास्तविकता बुझ्नुभएछ । संसारका समस्त सम्पादकहरु आफ्ना अखबारको ग्राहक बढाउन लागेको बेलामा म चाहिँ काठमाडौँको एउटा कोठामा गोरखापत्रको ग्राहक कसरी घटाउने भन्ने धुनमा लागेको थिए ।”
समाचार छाप्नु पूर्व दस्तखत

कसिकसाउ र निगरानी निकै थियो । गोरखापत्रमा सामग्री छाप्नुअघि कागजको तल सम्पादकको हस्ताक्षर रहन्थ्यो र त्यसलाई जर्नेलसमक्ष पु¥याइन्थ्यो । जर्नेलले माथि हस्ताक्षर गरेपछिमात्र छाप्न पाइन्थ्यो । त्यो बेला एसियाली मुलुकमा प्रजातन्त्र स्थापना हुने क्रम बढेको थियो । विदेशी मन्त्रीहरुको नाम राम, कृष्ण आदि भए उनीहरुको पदमात्र छाप्न लगाइन्थ्यो । जस्तै– खाद्यमन्त्री, शिक्षामन्त्री आदि । राम, कृष्ण आदि हामीहरुका जस्ता नाम रहेकाहरु मन्त्री वा प्रधानमन्त्री हुँदा रहेछन् भन्ने छाप नेपाली जनतामा पर्न सक्ने डरले तत्कालीन शासकले नेपाली नामसँग मिल्दोजुल्दो विदेशी पदधारीहरुको नाम नै काट्न लगाउँथे ।

वर्तमान सन्दर्भमा राणाकालमा प्रकाशित गोरखापत्रका हरेक अङ्क रमाइला लाग्छन् । अधिकाँश समाचार विदेशका हुन्थे । उल्था गर्नका लागि जागिर खानेहरु प्रसस्त थिए । विदेशी पत्रिकामा छापिएका कुरा उल्था गरिन्थे । चुटकिला पनि छापिन्थे । पहिलो पृष्ठभरि कविता पनि छापिन्थे । राणाका भाषण पनि छापिन्थे । केही समाचार लुक्थे । केही समाचार लुकाइन्थे । केही त छापिन्थे ।

गोरखापत्र पत्रकारिताको पाठशाला हो । अर्थात् तिनताकका गोरखापत्र नपढुञ्ज्याल त्यो बेलाका बारेमा जान्न सकिदैन । बुझ्न सकिदैन । १९५८ साल वैशाख २४ गते पहिलो अङ्क प्रकाशित भएकाले सोही मितिलाई आधार मानेर पछिल्लो समय यस दिनलाई राष्ट्रिय पत्रकारिता दिवसका रुपमा मनाइँदै आएको छ । राष्ट्रिय फोटो पत्रकारिता दिवसको सन्दर्भ पनि गोरखापत्रसँग जोडिन्छ । १९८४ साल वैशाख १३ गते वीरगन्जकी एक महिलाको तस्बिर छापिएको थियो । सोही दिनलाई फोटो पत्रकारितासँग जोडियो । यो विषयमा वहस हुनुपर्दछ । जबकी १९८३ साल साउन ११ गते चन्द्रशमशेरको पहिलो फोटो छापिएको थियो । हर्ष बढाइमा आधा दाम भन्ने शीर्षकको विज्ञापन थियो । चन्द्रशमशेरको ६४ औँ वर्षप्रवेशमा आधा दाममा पुस्तक र आयुर्वेद औषधि लुटिने भएका छन् भनेर फोटो छापिएको थियो । १९८३ साल साउन १४ गते श्री ३ महाराजको जन्मोत्सव शीर्षकमा पहिलो पृष्ठमा चन्द्रशमशेरको बडेमानको फोटो छापिएको थियो ।

पहिलो समालोचना
गोरखापत्रले पहिलो समालोचना १९९३ साल जेठ ९ गते छाप्यो । सूर्यविक्रम ज्ञवाली बीएबीटीले लेखेको पृथ्वीनारायण शाह नामक पुस्तकका बारेमा समालोचना छापिएको थियो ।

पहिलो समालोचना भएकाले होला, त्यो पढ्दा रमाइलो लाग्ने गर्दछ– “यो पृथ्वीनारायण शाहको जीवन चरित्र हो रे । लेखकले परिश्रम पूर्वक खोज गरेर लेखेको बुझिन्छ ।

पृथ्वीनारायण शाहले श्री गोरखनाथबाट बरदान पाएका थिए भन्ने दन्तेकथाका साथसाथै राज्य प्राप्तिका निम्ति उनले गरेको घोर परिश्रम, राजनैतिक दाउपेच इत्यादि एकै ठाउँमा देखिदा बरदानको कुरो पनि एउटा राजनैतिक लीला नै रहेछ कि भन्ने झल्किन्छ । हओस् दन्त कथाको आधार लिएर यस्तो परोक्ष कुरामा विचार गर्ने हाम्रो शक्ति छैन ।

‘बनेपा ग्रामभन्दा ३ कोसा दक्षिण पूर्वमा धुलिखेल छ’ भन्ने एउटा अर्काे ठाउँमा लेखिएको देखियो । तर वास्तवमा एक कोसभन्दा वर्ता छैन होला बरु तीन पाउ हुनु सम्भव छ । भक्तपुरबाट बनेपा पनि २ कोस होइन ३ कोस होला । ‘भूमिका’ चाहिँ लेखन यज्ञको पूर्णपात्र जस्तै छ । भूमिका मात्र हेरेका खण्डमा यस पुस्तकमा केही त्रुटि रहन गएको होला भन्ने मनमा चडनै सक्तैन । पुस्तक हालैमा छापेएको भए तापनि यसमा व्याकरणका नियम चाहिँ उही पुरानो नै रहेछ । जे होओस् परिश्रम साथ यस्तो भारी उपयोगी पुस्तक लेख्ने लेखकलाई हजारौँ धन्यबाद दिनै पर्दछ । नेपाली मात्रले यो पुस्तकको स्वागत गर्नै पर्दछ ।”

संवाददाताको नाम
गोरखापत्रले समाचारदातासँग समाचार माग गर्यो । समाचारदाता नबनेकाहरुले पनि समाचार दिन थाले । संवाददाताको नाम उल्लेख गरेर १९९३ साल जेठ २३ गतेबाट पहिलोपटक छाप्न थाल्यो । त्यस दिन तीन वटा समाचार छापिएका थिए । १) संवाददाता तेजकृष्णको नामबाट ढुँगो बगायो शीर्षकमा समाचार छापिएका थियो– ज्येष्ठ २२ गतेका दिन एउटा भारी दर्शन ढुँगा बागमतिले बगाइ आर्यघाटमा ल्याइ पु¥याएछ ।

बागमतिले यस्तो भारी ढुँगा बगाइ ल्याएका बुढा खाडाहरुलाई पनि थाहा थिएन रे । २) संवादाता कर्णजङको नामबाट बाढीको प्रकोप शीर्षकमा समाचार छापियो– जेठ १९ गतेका दिन आर्यघाटमा बागमतिले बगाउन लागेको घोडालाई चार जना मानिसले बडो बहादुरसँग बचाए । घोडाको मालिक भष्मेश्वरतिर घोडालाई बाँधी आफू आर्यघाटमा पौडी खेल्न लागेको बेला घोडा पनि फुस्केर आई बागमतिमा पानी खान पसेछ । बागमति बेसरी बढेको बखत हुनाले परिणाम स्वरुप उपर्युक्त दुर्घटना भै हालेछ । ३) संवाददाता इन्द्रसिङको नामबाट घर भत्क्यो शीर्षकको समाचार प्रकाशित भएको थियो– बुढानीलकण्ठको पूर्व पट्टी ९० सालमा भत्की बनाएको घर अस्तिको भैचालोमा भत्कियो ।
महिलाको नाममा पहिलो समाचार

१९९४ साल भदौ २६ गते कुमारी मधुधाराको नामबाट नानी पुराण सुन्न गएछ भन्ने शीर्षकको समाचार छापिएको थियो । महिलाको नाममा छापिएको यो पहिलो समाचार थियो । १९६८ साल माघ २३ गते पहिलो सम्पादकलाई पत्र छापिएको थियो । प्रेरित पत्र भनिएको थियो । प्रिय मैनेजर गोर्खापत्र नेपाल भनेर सम्बोधन गरिएको थियो र पुछारमा निवेदक कुलदीप नारायण झा, विद्यार्थी, जनकपुर लेखिएको थियो । “हिन्दु कुलके रामचन्द्र प्रताप दोदण्ड मार्तण्ड श्री ३ नेपाल सर्कारका नामका आधारमा चन्द्रलता नाउ गरेका धर्मसभा पण्डित सुवंश झाले जनकपुरमा स्थापना गरेका छन्, तेस सभाको अधिवेशन मौसुफ श्री ३ सर्काका नाममा चन्द्रवार अर्थात सोमबारका दिन हुन्छ, तेस सभाका सभापति श्री रामजानकी संपाक स्थापक नियुक्त छन्…” आदि व्यहोराको पत्र थियो ।

गोरखापत्रले १९८२ साल भदौ १६ गतेबाट कोठेपद छाप्न थालिसकेको थियो । कोठेपद मिलाउनेलाई गोरखा भाषा प्रकाशनि समितिबाट प्रकाशित संक्षिप्त रामायणको एक प्रति उपलब्ध गराइन्थ्यो । १९८२ साल साउन ५ गतेको गोरखापत्रमा प्रकाशित भुल सुधार यस्तो थियो– गएका १४ संख्याका गोरखापत्रका आठौँ पेजका ‘१०० वर्ष बाचने उपाय’ नामक शीर्षक लेखका तीनौ दफामा ‘छ घण्टा’ र ‘७।। घण्टा’ भन्ने छापिनु पर्नेमा प्रेसका भूतहरुका भूलले कुनै कुनै कापीमा ‘छ राय’ र ‘७।।राय’ छापिन गएछ । सो पाठक महाशयहरुबाट कृपा राखी सुधारी पढ्नु होला ।
गोरखापत्रले १९८२ साल माघ १२ गते पहिलोपटक कविता छापेको थियो । हरिनाथ खनालको कविता थियो । उनी त्रिचन्द्र कलेजका बीए श्रेणीका विद्यार्थी थिए–
गोरखापत्र स्वागत
सकल भुवन भर्ता देवलाई छ धन्य
अनुपम शुभ जसका पुण्यले ती अनन्य
शुभ अनुग्रह तिम्रो गोरखापत्र पायें
गरी समुचित सेवा धन्यमानी रमायें ।
खबर शुझ फिजाइ नित्य सन्मान पाइ
दिन दिन हितकारी बात जारी गराइ
टहल खबर गर्ने पत्र यो लोकलाई
बहुत विरल होलान् गोरखापत्र पाई ।…

गोरखापत्रका लागि ले उहाँको व्यक्तिगत खोजका आधारमा प्राप्त तथ्यमा आधारित प्रस्तुत लेख बाट यहाँ साभार गरीएको हो –

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu