Connect with us
Kapilvast Forest

पत्रकारसहित सबै ‘फ्रण्टलाइनर’ को निःशुल्क उपचारको प्रबन्ध गर्न महासंघको माग

२०७८, २८ बैशाख मंगलवारमा प्रकाशित

काठमाडौं – नेपाल पत्रकार महासंघले पत्रकारसहित सबै ‘फ्रण्टलाइनर’ को निःशुल्क उपचारको प्रबन्ध गर्न तथा बिमा र इन्टरनेट सुबिधाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

महासंघको दोस्रो केन्द्रीय समितिको आज भर्चुअल माध्यमबाट बसेको बैठकले पत्रकारलाई कोरोनाविरुद्धको लडाइका ‘फ्रण्टलाइनर’ घोषित गरी उनीहरुको स्वास्थ्य र सुरक्षाका लागि उचित प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो।

कोरोना भाइरसको महामारीले पत्रकार तथा सञ्चार क्षेत्रमा पारेको प्रभाव र श्रमजीवी पत्रकारका समस्याका विषयमा केन्द्रित बैठकले सरकारको आगामी बजेटमा कोरोना संक्रमणबाट पीडित सञ्चारकर्मी र संकटग्रस्त संचारसंस्थाका लागि फरकफरक राहत प्याकेजको व्यवस्था गरी घोषणा गर्न सरकारसँग माग गर्ने निर्णयसमेत गरेको छ।

हाल कोरोना संकटले पत्रपत्रिकाको प्रकाशनमा पारेको असरलाई ध्यान दिदैँ प्रेस काउन्सिलाई पत्रपत्रिकाको मूल्यांकन गर्ने क्रममा व्यवहारिक ढंगले निर्णय प्रक्रियालाई अगाडि बढाउन महासंघले आग्रह गरेको छ। साथै, लोककल्याणकारी बिज्ञापनवापतको रकम निकासा प्रक्रियालाई सहज बनाउन र बिभिन्न बहानामा रोकिएको रकम तत्काल भुक्तानी गर्न सूचना तथा प्रसारण बिभागलाई आग्रह गर्ने निर्णय पनि महासंघले गरेको छ।

बैठक पछि महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘कोरोनाको बहानामा कोही पनि संचारकर्मीलाई कामबाट निष्कासन नगर्न, सुबिधामा कटौति नगर्न, पत्रकारले पाउनुपर्ने बक्यौता रकम अविलम्ब उपलब्ध गराउन, सञ्चार प्रतिष्ठानमा देखिएका श्रम समस्याहरु तत्काल समाधान गर्न सञ्चार प्रतिष्ठान र सरकारको ध्यानाकर्षण गराउने तथा स्वास्थ्य सजगताका लागि आवश्यक प्रबन्ध मिलाउन संचारसंस्थालाई आग्रह गर्ने।’

कोरोना संक्रमणसँग जुध्दैँ सूचना प्रवाहको महत्वपूर्ण दायित्व निर्वाह गरिरहेका पत्रकारको स्वास्थ्य तथा पेशागत सुरक्षा अहिले महत्वपूर्ण चुनौती बनेको महासंघले जनाएको छ।

यो अवस्थामा यी दुई विषयलाई केन्द्रविन्दुमा राखेर आवश्यक कदम चाल्न, त्यसका लागि समुदायस्तरका संघसंस्थासँग सहकार्य गर्न, पारदर्शी रुपमा कोभिड कोष निर्माणको पहल थाल्न र प्रेस पासको दुरुपयोग हुनबाट रोक्न महासंघले सबै प्रदेश समिति, जिल्ला शाखा, एसोसिएट, प्रतिष्ठान शाखा र वैदेशिक शाखालाई आह्वान गरेको छ।

अध्यक्ष विपुल पोखरेलको अध्यक्षतामा बसेको बैठकले कोरोना संक्रमण बढ्दै गरेको अवस्थामा नागरिकको स्वास्थ्यलाई गम्भीरतापूर्वक लिँदै आफ्ना संरचनामार्फत नागरिकको जीवन बचाउनका लागि प्रभावकारी ढंगले प्रस्तुत हुन सरकारलाई आग्रहसमेत गरेको छ।

स्वास्थ्य सेवा सुलभ र सहज रुपमा पाउने नागरिकको संवैधानिक अधिकारको सम्मान गर्दै कोरोना संक्रमणको परीक्षणलाई सहज र निःशुल्क बनाउन, अक्सिजनको सहज आपूर्तिको व्यवस्था मिलाउन तथा अस्पतालको उपलब्धतालाई सुनिश्चित गर्नका लागि पनि महासंघले सरकारको ध्यानाकर्षण गराएको छ।

साथै महासंघले हाल स्वास्थ्य सामग्री, औषधिको कृत्रिम अभाव देखाइ चर्को मुल्य लिइरहेको, एम्बुलेन्स, हेलिकोप्टरसहितका यातायातका साधनले पनि मनोमानी रुपमा बिरामीसँग रकम लिइरहेको भन्ने गुनासो अत्यधिक रुपमा सुनिएकाले त्यस सम्बन्धमा आवश्यक नियमनका लागि सरकारको ध्यानाकर्षण गराएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu