Connect with us
Kapilvast Forest

भारतबाट आउँदै विपन्न मजदुर : न नाकामा परीक्षण, न गाउँ जान यातायात

२०७८, ३१ बैशाख शुक्रबारमा प्रकाशित

काठमाडौं- दोस्रो लहरको कोरोना संक्रमण गाउँगाउँसम्म पुगेको छ । जनघनत्व कम भएका पहाडी तथा हिमाली जिल्लामा समेत संक्रमण तीव्र गतिमा फैलिँदै छ । ७७ मध्ये ७३ जिल्लामा निषेधाज्ञा लागू गरिएको छ । गृह मन्त्रालयका अनुसार तेह्रथुम, खोटाङ, मनाङ र रुकुम पूर्वबाहेक ७३ जिल्लामा निषेधाज्ञा लागू छ । हिमालपारिको जिल्ला मुस्ताङमा पनि बिहीबारदेखि निषेज्ञाधा लागू गरिएको छ ।

६८ जिल्लामा पूर्ण रूपमा तथा मुस्ताङ, सप्तरी, धनकुटा, काभ्रे र ताप्लेजुङमा आंशिक निषेधाज्ञा लागू गरिएको गृह मन्त्रालयले जनाएको छ । संक्रमण भयावह बन्दै जाँदा उपचार नपाएर ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा दुई सय १४ जनाको संक्रमणबाट मृत्यु भएको छ । यससँगै अहिलेसम्म ज्यान गुमाउनेको संख्या चार हजार चार सय ६६ पुगेको छ ।

बिहीबार पिसिआर र एन्टिजेन परिक्षणमा आठ हजार नौ सय ६० जनामा संक्रमण देखिएको छ । किट अभावमा परीक्षण न्यून भइरहेको छ । स्वाब दिएकाले पनि समयमा रिपोर्ट पाइरहेका छैनन् । कुनै कुनै जिल्लामा परीक्षण गरेकामध्ये ७९ प्रतिशतसम्म पनि संक्रमण देखिएको छ ।

बागमती प्रदेशको राजधानी मकवानपुरमा वैशाखयता बुधबारसम्म तीन हजार नौ सय ८६ जनाको परीक्षण भएको छ । तीमध्ये तीन हजार एक सय ५० जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

पश्चिमी सीमानाकामा भारतबाट स्वदेश फर्कनेको घुइँचो थामिएको छैन । भारतमा कोरोना संक्रमण तीव्र बनेपछि कोरोनाको त्रास र लकडाउनका कारण रोजगारी गुमाउँदा त्रिनगर र गड्डाचौकी नाकाबाट दैनिक सयौँ नेपाली घर फर्किरहेका छन् । गत चैत दोस्रो सातायता यी दुई नाकामा दिनहुँ यस्तै घुइँचो छ ।

प्रहरीको तथ्यांकअनुसार त्रिनगर नाकाबाट मात्र दैनिक हजारको हाराहारीमा स्वदेश फर्किरहेका छन् । तर, नाकामा उनीहरूको परीक्षण हुन सकेको छैन । भारतबाट फर्कनेमध्ये थोरैको मात्र एन्टिजेन परीक्षण गर्ने गरिएको छ । स्थानीय तहहरूले भारतबाट फर्केकालाई क्वारेन्टिनमा राख्ने व्यवस्था पनि गरेका छैनन् । त्यसैले उनीहरू सीधै आ–आफ्ना गाउँघर पुगिरहेका छन् र उनीहरूसँगै कोरोना संक्रमण पनि गाउँगाउँमा पुगेको छ ।

नयाँ पत्रिका

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu