Connect with us
Kapilvast Forest

प्रतिनिधि सभा विघटनले संसदीय प्रणालीमाथि नै प्रहारकाे आशङ्का उत्पन्न भएकाे छ’

२०७८, १६ असार बुधबारमा प्रकाशित

काठमाडौं– कोभिड १९ सङ्क्रमण र अस्थिर राजनीतिक कारण यस वर्ष पनि संसद् दिवस विज्ञप्तिमार्फत नै स्मरण गरिएको छ । नेपालको इतिहासमा पहिलो संसदीय चुनावपछि २०१६ असार १६ गते संसद्को पहिलो बैठक मध्यरातमा प्रारम्भ भएको थियो । त्यही ऐतिहासिक दिनको स्मरण गर्दै हरेक वर्ष आजको दिन याे दिवस मनाउने गरिन्छ । त्याे चुनावकाे सम्पूर्ण परिणाम २०१६ साल वैशाख २८ गते आइसके पनि दरबारले अनेकौँ जालझेल गरी असार १६ का लागि मात्रै सदन आह्वान गरेको थियो । त्यो दिन राति ११:४५ बजेका लागि आह्वान गरिएको बैठक ठिक १२ बजे मध्यरातमा आरम्भ गरिएको थियो ।

नागरिकका प्रतिनिधिमार्फत शासन सञ्चालन गरिने सर्वोच्चतम् शासन व्यवस्थाका रूपमा संसदीय शासन प्रणालीलाई लिइन्छ । अघिल्लो वर्ष पनि कोरोनाकै कारण सभामुख र राष्ट्रिय सभा अध्यक्षले संयुक्त विज्ञप्तिमार्फत सम्पूर्ण नेपालीमा संसद् दिवसको बधाई र शुभकामना व्यक्त गर्नुभएको थियो । प्रतिनिधि सभा विघटनपछि देशमा विकसित राजनीतिक घटनाक्रमले यस पटक भने सभामुख र अध्यक्षकै विज्ञप्ति पनि संयुक्त रूपमा आउन सकेन । सभामुख र अध्यक्ष दुवैले जिम्मेवारी सम्हाल्नुअघि नै आफूहरूको कुनै राजनीतिक दलसँग संलग्नता र सदस्यता नरहेको भनी घोषणा गरे पनि राजनीतिक घटनाक्रमले अहिले उहाँहरू आ–आफ्नो पूर्व राजनीतिक दलसँगै उभिएको देखाएको छ ।

दुई दशकदेखि पूर्वसांसद मञ्चले सङ्घीय संसद् सचिवालयसँगको समन्वयमा विभिन्न अन्तरक्रिया, चियापान र शुभकामना कार्यक्रम गरी संसद् दिवस मनाउने गरेको थियो । पछिल्ला दुई वर्षयता भने कोभिड–१९ को सङ्क्रमण जोखिमले त्यो सम्भव हुन सकेन । त्यसमा यस वर्ष नेकपाको आन्तरिक कलहबाट सिर्जना भएको राजनीतिक सङ्क्रमणले पनि मलजल गरेको देखिएको छ ।

अघिल्लो वर्ष सभामुख र अध्यक्षले दिएको संयुक्त विज्ञप्तिमा राज्य पुनर्संरचना र सङ्घीय शासन प्रणालीको कार्यान्वयन गर्न तीनै तहमा संसदीय अभ्यासलाई प्रभावकारी बनाइ जगदेखि नै मजबुत बनाउन सबै क्षेत्रको सहयोग हुन जरुरी रहेको उल्लेख थियो ।

सभामुखकाे सन्देश

सभामुख अग्निप्रसाद सापकोटाले संसद् दिवसका उपलक्ष्यमा दिएको शुभकामना सन्देशमा प्रतिनिधि सभाको पटक–पटकको विघटनले संसद् र संसदीय शासन प्रणालीमाथि नै प्रहारको आशङ्का उत्पन्न भएको विचार राख्नुभएकाे छ । उहाँले सन्देशमा भन्नुभएको छ, ‘मौलिक ढङ्गले संसदीय परिपाटीको सञ्चालन गर्दै संसद्लाई जीवन्त र जनमुखी बनाइ लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरण गरी लोकतन्त्रको लाभलाई नागरिकस्तरसम्म पुर्‍याउनु आजको आवश्यकता हो ।’

सभामुख सापकोटाले सङ्घ, प्रदेश र पालिकामा संसदीय अभ्यासलाई प्रभावकारी बनाउने दिशामा अघि बढ्दा मात्रै अनगिन्ती सङ्घर्ष र आन्दोलनका बलमा निर्मित संविधान अनुरूप राज्य पुनर्संरचना र सङ्घीय शासन प्रणालीको कार्यान्वयनमा बल पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले लोकतान्त्रिक व्यवस्था स्थापनाका लागि भएका सबैखाले सङ्घर्षमा आफ्नो जीवन उत्सर्ग गर्ने सम्पूर्ण शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै यस क्रममा बेपत्ता, घाइते तथा अङ्गभङ्ग हुनुभएका योद्धाप्रति उच्च सम्मान व्यक्त गर्नुभएको छ ।

संसद् दिवस मनाउँदै रहँदा चौतर्फी संकट बेहोरिरहेको तथा कोभिड सङ्कट जारी रहँदा यसबीचमा सङ्घीय संसद्, प्रतिनिधि सभा दोस्रो पटक विघटन गरिएको जनाउँदै सभामुख सापकोटाले गहिरिँदो राजनीतिक सङ्कटका बीच मौसमजन्य विपत्तिको पनि सामना गरिएको बताउनुभएको छ । सभामुख सापकोटाले भन्नुभएको छ, ‘संसद् दिवसले सङ्घीय संसद् सदस्य, संविधान सभाका सदस्य, पूर्वसांसद, राष्ट्रसेवक कर्मचारीलगायत सबैमा संवैधानिक सर्वोच्चता र लोकतन्त्रको रक्षाका लागि एकजुट हुन प्रेरणा मिल्ने छ ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu