Connect with us
Kapilvast Forest

आफैँले ओढेकाे रेनकाेट माेटरसाइकलकाे पाङ्ग्रामा बेरिँदा ‘सुमन’ काे ज्यान गयाे

२०७८, ६ भाद्र आईतवारमा प्रकाशित

मृतक सुमन राई
सोलुखुम्बु – हिमाली जिल्ला सोलुखुम्बुसहित धेरै ठाउँमा हिजाे शनिवार बिहानैदेखि धुम्मिएको मौसम, मध्याह्नपछि पानी पर्न सुरु भयो । पानी परिरहँदै माप्यदूधकोसी गाउँपालिका २ का ३० वर्षीय युवक सुमन राई मोटरसाइकलमा सल्लेरीतर्फ अघि बढे । ग्रामीण सडक त्यतिकै जोखिमयुक्त नै थियो अझ निरन्तरको वर्षाले सडक हिलाम्मे बनेको थियो ।

पानी परेकाे समयमा बासाबाट सल्लेरीतर्फ बा ५४ प ७८२९ नम्बरको २२० सीसीकाे पल्सर मोटरसाइकलमा निस्किएका सुमनले ओतका लागि रेनकोटको सहारा लिएका थिए । तर त्यही रेनकोटले उनको ज्यानै लियो । सुमनलाई के थाहा र वर्षाकाे दर्किँदो झरीबाट बच्न प्रयोग गरिएको रेनकोटले नै ज्यान लिन्छ भन्ने !

प्रत्यक्षदर्शी सुकुमाया राईका अनुसार माप्यदूधकोसी गाउँपालिकाको दियाले सडक खण्ड अन्तर्गत वडा नम्बर ५ कागतेमा पुगेपछि सुमनले ओढेकाे रेनकोटको पछिल्लो भाग मोटरसाइकलकाे पछाडिकाे पाङ्ग्रामा बेरिन पुग्यो । रेनकोट लामो भएका कारण पछाडिको चेन तथा टायरमा बेरियो । टाउकोसहित जिउ ढाक्ने गरी ओढेकाे रेनकोट बेरिएको केही समयमै सुमन भुइँमा ढले, रेनकोट घाँटीमा पासो लाग्दा उनको घटनास्थलमै ज्यान गयाे ।

 

घटनास्थलमा पुगेका प्रहरीका अनुसार मृतक सुमनको घाटीमा रेनकोटले बेरिएको दाग देखिएको छ भने शरीरका अन्य भागमा चोट छैन । सुमनको मात्र हैन ग्रामीण भेगलगायका सडकमा सञ्चालन हुने मोटरसाइकलमा प्रयोग हुने रेनकोटले दुर्घटनाको जोखिमलाई उच्च बनाइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक (डीएसपी) कवित कटवालले बताउनुभयो ।

पानी छल्न प्रयोग गरिने रेनकोट मोटरसाइकल, स्कुटरको चेन टायरमा बेरिँदा यस्ता दुर्घटना निम्तिन सक्ने डीएसपी कटवालको भनाइ छ । कतिपय ठाउँमा महिलाले लगाएको साडी, सल माेटरसाइकल र स्कुटरकाे चेन तथा टायरमा बेरिँदा पनि थुप्रै दुर्घटना भएको उदाहरण छन् ।

सवारी साधन चलाउँदा तथा यात्रा गर्दा यस्ता विषयलाई ख्याल गरिएन भने मानिसको ज्यानै जान सक्ने भएकाले सतर्कता अपनाउन डीएसपी कटवालको सुझाव छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu