Connect with us
Kapilvast Forest

माधव कमरेडलाई नयाँ पार्टीमा साथ हुँदैनाैँ : नेता भट्टराई

२०७८, ७ भाद्र सोमबारमा प्रकाशित

काडमाडौं  – नेकपा एमालेका सचिव याेगेशकुमार भट्टराईले वरिष्ठ नेता माधवकुमार नेपालले कसैसँग सल्लाह नगरि हतारमा नयाँ पार्टी खाेल्ने निर्णय गरेकाे बताउनुभएकाे छ । आज सोमवार पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भएको छलफलपछि नेता भट्टराईले वरिष्ठ नेता नेपालले हतारमा नयाँ पार्टी खोल्ने निर्णय गरेकाे बताउनुभएकाे हाे ।

उहाँले पार्टी विभाजन गरेर अलग पार्टी बनाउने सम्बन्धमा पनि आफूहरू साथमा हुँदैनाैँ भनेर प्रस्ट भनेकाे दाबी गर्नुभएकाे छ ।

आजको छलफलमा अध्यक्ष ओलीले आफूले पार्टीका सबै नेतालाई समान व्यवहार गर्ने, पार्टीलाई एकताबद्ध बनाउन जिम्मेवार रहेको र नेताहरूलाई पुरानै जिम्मेवारी दिन तयार रहेको बताएपछि नेता भट्टराईकाे यस्ताे प्रतिक्रिया आएकाे हाे।

भट्टराईकाे भनाइ जस्ताकाे तस्तै–

एमालेमा लामो समयदेखि समस्या रह्यो । समस्या समाधान गर्नका लागि विभिन्न छलफल तथा बैठक भए । पार्टी अध्यक्ष केपी ओली तथा वरिष्ठ नेता माधव नेपालबीच सहमति भएर पार्टीभित्र उत्पन्न समस्यालाई हल गर्नका निमित्त दश सदस्यीय एउटा कार्यदल पनि बन्यो ।

कार्यदललाई विकल्पहरूका बारेमा भनियो । कार्यदलले एक महिनाभन्दा लामो समय लगाएर नेपाल कम्युनिस्ट पार्टी एमालेको एकतालाई अक्षुण्ण राख्न र एमालेमार्फत नेपाली कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने अभिभारा अघि बढाउन कार्यदलले दश बुँदे कार्यक्रम पनि अगाडि बढायो । त्यो पार्टी एकीकरणको एउटा प्रस्थान विन्दु थियो । तर त्यसमा पनि पार्टीमा फरक धारणा देखा पर्‍याे, द्विविधाहरू देखा परे, नेताहरूको कुरा मिलेन ।

जसले गर्दा नयाँ घटनाक्रम नयाँ ढङ्गले विकसित भयो । जसले गर्दा एमालेबाट अर्को दल बन्ने सम्भावना देखा परेको छ । केही साथी/कमरेडहरूले प्रक्रिया मेत अगाडि बढाइसकेको अवस्था छ ।

यस सम्बन्धमा स्थायी कमिटीका साथीहरू, नवौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू पार्टी एकतालाई जोगाउन, कम्युनिस्ट पार्टीलाई एकताबद्ध गर्न चिन्ता गर्दै आयौँ । कमरेड अध्यक्षको ध्यानाकर्षण गर्दै आयौंँ, कमरेड माधव नेपालसँग पटक–पटक बहस छलफल चलायौँ ।

यस विषयमा आज अध्यक्षसँग हामीले लामो छलफल गर्‍याैँ । आजको छलफलमा अध्यक्षले एकदमै सकारात्मक धारणा राख्नुभएको छ । पार्टीलाई एकताबद्ध बनाउने कुरामा आफू जिम्मेवार भएको बताउनुभएको छ । पार्टीमा सबै साथीलाई समान व्यवहार गर्ने, सबै साथीलाई पुराना जिम्मेवारी यथावत् राख्ने कुरामा प्रतिबद्धता दिनुभएको छ । कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने ऐतिहासिक अभिभारा पूरा गर्न नेकपा एमालेलाई एकताबद्ध गर्ने कुरामा आफू पूर्ण रूपमा लाग्ने आफ्नो भनाइ अध्यक्ष कमरेडले आज हामीसमक्ष राख्नुभएको छ ।

हामीले एउटा सङ्गीन मोडमा नेकपा एमालेको एकतालाई बचाइ राख्नका लागि मूलतः दश सदस्यीय कार्यदलले प्रस्तावित गरेको दश बुँदे प्रस्तावलाई कार्यान्वयन गर्नुपर्छ भन्ने कुरामा जोड दियौँ । यसमा अध्यक्ष कमरेड र हामीबीच एउटा सहमति भएको छ । यसलाई कार्यान्वयनमा लिएर जाने, कार्यान्वयनको प्रक्रिया अगाडि बढाउने र त्यसको कार्यान्वयनको एउटा मोडालिटी बनाउनका लागि भोलि नै स्थायी कमिटीको बैठक आह्वान गर्ने ।

त्यो स्थायी कमिटीको बैठकले दश बुँदे कार्यान्वयनका लागि तिथिमिति सहितको कार्यक्रम अगाडि सार्छ र लगत्तै आह्वान गरिने केन्द्रीय कमिटीले अझ परिष्कृत गरेर अगाडि बढाउनेछ ।

आजको छलफलको निष्कर्ष के हो भने दश बुँदेले भनेअनुसार २०७५ साल जेठ २ गते कायम भएका नेकपा एमालेका केन्द्रदेखि प्रदेश, निर्वाचन क्षेत्र, जिल्ला, गाउँ तथा वडा तहसम्मका सम्पूर्ण कमिटी क्रियाशील हुन्छन् । ती कसरी क्रियाशील हुन्छन् भन्ने ढाँचा भोलिको स्थायी कमिटीले निर्धारण गर्नेछ ।

२०७५ साल जेठ २ गते नेकपा एमाले हुँदाका बखत जुन–जुन नेताको जे जिम्मेवारी थियो त्यो यथावत् रहन्छ भन्ने कुरा अध्यक्ष कमरेडले आज भन्नुभएको छ । यसलाई कार्यान्वयन गर्न हामी भोली स्थायी कमिटीको बैठक आह्वान गर्छाैँ ।

स्थायी कमिटीमार्फत पार्टी दर्ताको प्रक्रियामा रहनुभएका नेताहरूलाई त्यो प्रक्रियाबाट फर्कन, त्यो प्रक्रियालाई स्थगित गर्न र पार्टी एकतामा फर्कन र पार्टी एकतामार्फत नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने ऐतिहासिक अभिभारामा सामूहिक ढङ्गले पहलकदमी लिन अपिल गर्न चाहन्छौँ।

देशभरका सम्पूर्ण नेकपा एमालेका कमरेडहरूलाई कुनै पनि विभाजनको पक्षमा नजाऔँ, एकताकै पक्षमा हामी कायम होऔँ, हाम्रा पुराना जिम्मेवारी कायम हुनेछन् र पार्टीभित्र कसैमाथि पनि पक्षपात हुँदैन, कसैमाथि पनि अन्यायपूर्ण व्यवहार हुँदैन भन्ने कुराको सुनिश्चितता पार्टी स्थायी कमिटीले गर्छ । त्यसअनुसार सबै कमरेडलाई धैर्यताका साथ धेरै उत्तेजनामा नआइ धैर्य धारण गर्दै पार्टी एकताको प्रक्रियामा संलग्न रहन पनि आह्वान गरिन्छ ।

माधव कमरेडसँग हामी सँगै काम गरिरहेका छौँ । नवाै‌ँ महाधिवेशनमा हामी उहाँकै टिममा थियौँ, आज पनि र अस्तिसम्म पनि माधव नेपाल कमरेडसँग हामी सँगै थियौँ। चैत ४ र ५ गते हामीले राष्ट्रिय भेला गर्‍याैँ । भेलाको निष्कर्ष विभाजन होइन, नेकपा एमालेको एकताको रक्षा गर्ने भन्ने नै रह्यो ।

कमरेड माधव नेपालसँग पटक–पटक हामीले यो कुरा भन्दै आयौँ कि पार्टीभित्रका विमतिमा बहस गर्ने, पार्टी अध्यक्षका कार्यशैलीसँग विमति राख्न, बहस गर्न सबै हाम्रा बीचमा मत मिल्छन् । सँगै जान सकिन्छ ।

तर पार्टी विभाजन गरेर अलग पार्टी बनाउने सम्बन्धमा हामी तपाईँसँग साथमा हुँदैनौँ । यो कुरा माधव कमरेडहरूलाई हामीले स्पष्टसँग भन्दै आएका हौँ। आजको दिनमा कमरेड माधव नेपालसहितको एकताको कुरा गरिरहँदा उहाँका बारेमा थप केही नबोलौँ ।

उहाँले लगातार उहाँको साथमा रहेको पार्टी स्थायी कमिटी अनि केन्द्रीय कमिटीका साथीहरूको टिमसँग छलफल नै नगरि हतारमा निर्णय लिनुभयो । किनकि केन्द्रीय कमिटीका साथीहरूको बैठकले जे निर्णय गर्ने हो त्यो स्थायी कमिटीका साथीहरूले एकमतले निर्णय गर्ने केन्द्रीय कमिटीका साथीहरूको म्यान्डेट थियो । त्यो म्यान्डेटलाई माधव कमरेडले अलि हतार गरेर पार्टी दर्ताको प्रक्रियामा जानु भयो । केन्द्रीय कमिटीका धेरै साथीहरूलाई पनि जानकारी भएन, स्थायी कमिटीका साथीहरूबीच छलफल भएन ।

त्यसकारण आज उहाँलाई समेत एकतामा फर्किनुपर्छ र एकतामा फर्किसकेपछि विगतमा भएका कमी कमजोरी, कारबाही आदि इत्यादि प्राविधिक कुरा छन् ती स्वतः अमान्य हुन्छन् भनेर हामीसँगको भेटमा अध्यक्ष कमरेडले भन्नुभएको छ ।

एकताको भावमा फर्किसकेपछि कारबाही, प्रतिशोध, दण्ड, सजाय भन्ने कुराहरू अमान्य हुन्छन् । यद्यपि पार्टीमा कारबाही अरू विषयमा हुन्छन् तर यी कुरामा हुँदैनन् भनेर अध्यक्ष कमरेडले भन्नुभएको छ ।

त्यस कारण कमरेड माधव नेपाललाई समेत एकतामा एकताबद्ध हुन हामी अपिल गर्दछौँ । हामी भोलिसम्म पनि उहाँहरूसँग कुरा गर्छौँ र हामीले औपचारिक रूपमा उहाँलाई भनेका छौँ कि नयाँ पार्टी गठनको प्रक्रियाबाट अलग हुनुपर्छ र उहाँहरू १४ जनामाथि भएको कारबाही फिर्ता हुनुपर्छ ।

यदि उहाँहरू पार्टी गठनको प्रक्रियाबाट अलग हुने हो भने उहाँहरूमाथि गरिएको कारबाही फिर्ता हुन्छ भनेर अध्यक्ष कमरेडले भन्नुभएको छ । त्यस कारण पनि माधव कमरेड र हाम्रो सम्बन्ध कस्तो रह्यो भन्ने कुरा हाम्रो मुखबाट अझै दुई दिन तपाईँहरूले सुन्न नखोज्नु होला । किनकि हामी अन्तिम पहलकदमी लिने क्षणमा छौँ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu