Connect with us
Kapilvast Forest

तालिबानले सरकार बनाएको अर्को दिन चीनले घोषणा गर्‍यो अफगानिस्तानलाई सहयोग

२०७८, २४ भाद्र बिहीबारमा प्रकाशित

एजेन्सी -चीनले अफगानिस्तानका लागि सहयोगको घोषणा गरेको छ। सत्ता कब्जा गरेको तालिबानले अन्तरिम सरकार घोषणा गरेको अर्को दिन चीनले अफगानिस्तानलाई मानवीय सहायता र कोरोनाभाइरसविरूद्धको सहयोग दिने घोषणा गरेको हो।

बुधबार अफगानिस्तानका छिमेकी देशका विदेश मन्त्रीहरूबीच भर्चुअल छलफल भएको थियो। सो छलफलमा चिनियाँ विदेश मन्त्री वाङ यीले अफगानिस्तानलाई ३ करोड १० लाख अमेरिकी डलर बराबरको खाद्यान्नसमेतको सहयोग गर्ने घोषणा गरेको ग्लोबल टाइम्सले जनाएको छ। विदेश मन्त्री वाङले अफगानिस्तानलाई कोरोना महामारीविरूद्ध लड्न अरू स्वास्थ्य सामग्रीसहित ३० लाख डोज भ्याक्सिन पनि दिने बताएका छन्।

अफगानिस्तानका छिमेकी देशहरू पाकिस्तान, इरान, ताजिकिस्तान, उज्वेकस्तान, तुर्कमेनिस्तान र चीनका विदेश मन्त्रीबीचको छलफल पाकिस्तानले आयोजना गरेको थियो।गत अगस्ट ३१ मा अमेरिकी सेना फिर्ता भएसँगै अफगानिस्तानमा अन्तर्राष्ट्रिय सहायता के हुने हो भन्ने अन्योल भएको छ।

अमेरिकालगायत पश्चिमा देशहरूले तालिबान सरकारलाई सहायता गर्न उसले महिला अधिकार र प्रजातान्त्रिक मूल्य, मान्यतालाई पछ्याउनु पर्ने र अफगान भूमिलाई आतंकवादी समूहको आश्रयस्थल बनाउन नहुने बताएका छन्।

तालिबानहरूले अन्तरिम सरकारमा महिलालाई समावेश नगरेको र अधिकार माग्दै प्रदर्शन गरिरहेका महिलामाथि दमन गरिरहेकाले पश्चिमा मुलुकले अब अफगानिस्तानमा कसरी सहायता दिन्छन् भन्ने एकिन भइसकेको छैन।

उता, संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा छिट्टै खाद्यान्न संकट हुने चेतावनी दिएको छ।

अफगानिस्तानस्थित संयुक्त राष्ट्र संघका ह्युम्यानिटेरियन कोर्डिनेटर रामिज अलाकबारोभले एक महिनामै तीन अफगानमध्ये एक जनाले खान नपाउने अवस्था आउन सक्ने बताएका हुन्।

‘मानवीय हिसाबले अफगानिस्तानको अवस्था अहिले निकै तनावपूर्ण छ,’ अलाकबारोभले अघिल्लो साता भनेका थिए ,‘अहिले पनि देशका आधाभन्दा बढी बालबालिकाले अर्को छाक खानका लागि संघर्ष गरिरहेका छन्।’

अलाकबारोभका अनुसार ३ करोड ८० लाख जनसंख्या भएको अफगानिस्तानमा एक तिहाइ मानिसले अर्को छाक खान पाउने/नपाउने टुंगो हुँदैन। संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रमले केही साताअघि खाद्यान्न ल्याएर लाखौं मानिसलाई बाँडेको थियो।

विश्व खाद्य कार्यक्रमको डिपोमा रहेको खाद्यान्न सेप्टेम्बर अन्त्यसम्ममा रित्तिने अलाकबारोभको भनाइ छ। त्यसपछि थप खाद्यान्न ल्याउन २० करोड डलर रकम तत्काल चाहिने अलाकबारोभले बताए।

उक्त पैसाको जोहो भने भइसकेको छैन।अलजजिरा टेलिभिजनका अनुसार तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा बजार मूल्य आकासिएको छ। खाद्यान्नको मूल्य ५० र पेट्रोलियम पदार्थको मूल्य ७५ प्रतिशतसम्म बढेको छ। सरकारी कर्मचारीहरूले तलब पाउन सकेका छैनन्।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu