Connect with us
Kapilvast Forest

विश्वासकाे मतका लागि मुख्यमन्त्री शाक्यद्वारा संसदमा प्रस्ताव पेस, अर्काे बैठक कात्तिक ४ गते

२०७८, २४ आश्विन आईतवारमा प्रकाशित

मकवानपुर – वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मतका लागि प्रदेश सभा समक्ष प्रस्ताव पेस गर्नुभएको छ ।

आज आइतवार बसेको वाग्मती प्रदेश सभाको नवौँ अधिवेशनको दोस्रो बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मतका लागि प्रस्ताव पेस गर्नुभएको हो । प्रस्ताव पेस गर्दै उहाँले आफूले प्रतिनिधित्व गर्ने दल नेकपा एमाले विभाजन भएकाले संविधानको धारा ८८ को उपधारा २ बमोजिम विश्वासको मतको लागि प्रस्ताव पेस गरेको उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री शाक्यले भन्नुभयो, ‘माननीय सभामुख महोदय, सभामुख महोदयको अनुमतिले नेपालको संविधानको धारा ८८ को उपधारा २ मा मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने यस दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासका मतका लागि प्रदेश सभा समक्ष प्रस्ताव राख्नुपर्नेछ भन्ने संवैधानिक व्यवस्था रहेको छ । निर्वाचन आयोगको मिति २०७८/०५/५ को निर्णयले मैले प्रतिनिधित्व गरेको दल नेपाल कम्युनिस्ट पार्टी एमाले वाग्मती प्रदेश सभामा केही सदस्यले नेकपा (एकीकृत समाजवादी) रोजेको भन्ने निर्णय भइ मिति २०७८/०५/२७ मा नेकपा (एकीकृत समाजवादी) वाग्मती प्रदेश संसदीय दल गठन भइ दल विभाजन भएको परिप्रेक्षमा नेपालको संविधानको धारा १८८ को उपधारा २ तथा वाग्मती प्रदेश सभा नियमावली ७४ को नियम १४३, उपनियम १ बमोजिम वाग्मती प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न सम्मानित सभा समक्ष यो प्रस्ताव पेस गर्दछु ।’

प्रदेश सभामा विश्वासको मतका लागि प्रस्ताव पेस भए पनि त्यसमाथि सभाको त्याे बैठकमा कुनै छलफल भने भएन । वाग्मती प्रदेश सभाको अर्को बैठक आउँदाे कात्तिक ४ गते बिहीवार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu