बाँके -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सबैको साझा पार्टी भएको बताउनुभएको छ । बुधबार बाँकेको नेपालगन्जमा आयोजना गरेको वृहद् पार्टी प्रवेश कार्यक्रमलाई सस्मबोधन गर्दै अध्यक्ष ओलीले कुनै एक भूभाग, कुनै एक धर्म, कुनै क्षेत्रको मात्र पार्टी नभएको भन्दै सबैको साझा पार्टी भएको बताउनुभएको हो ।

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले सबैको साझा पार्टी भएका कारणले नै अहिले एमालेमा प्रवेश गर्नेको लर्का रहेको पनि जिकिर गर्नुभयो । अध्यक्ष ओलीले कतिपयले एमाले मधेश विरोधी पार्टी भएको भनेर हल्ला गरेको भन्दै आफ्नो पार्टी मधेश विरोधी नभएको स्पष्ट पार्नुभयो । उहाँले बरु एमाले देशको रक्षा, देशको स्वाधिनता बचाइ राख्ने पार्टी भएको दाबी गर्नुभयो ।

कार्यक्रममा स्वतन्त्र राजनीतिक समूहका नेता पशुपति दयाल मिश्रलगायतको नेतृत्वमा ४ हजार भन्दा बढी पार्टीमा प्रवेश गरेको एमाले बाँकेका अध्यक्ष निरक गुरुङले बताउनुभयो । अध्यक्ष गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोख्रेल, एमाले बाँकेका उपाध्यक्ष किष्मतकुमार कक्षपति, प्रवेशीहरु पशुपति दयाल मिश्र, अब्दुल करिम खाँलगायतले सम्वोधन गर्नुभएको थियो ।