देशभर चिसो बढ्यो , हिमाली क्षेत्रमा हिमपातको सम्भावना
काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबार(आज) देशका विभिन्न स्थानमा हिमपातको सम्भावना रहेको जनाएको छ।महाशाखाले मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै देशको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको जनाएको हो।
बुलेटिनका अनुसार बुधबार दिउँसो प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।
प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागको एकदुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागहरूका एकदुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
बुधबार राती देशका पहाडी भू–भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागहरूका एकदुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।