Connect with us
Kapilvast Forest

अहिले राजसंस्थाको आवश्यकता झनै बढेको छः राजेन्द्र लिङ्देन

२०७८, १४ पुष बुधबारमा प्रकाशित

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्थाको आवश्यकता झनै बढेर गएको बताउनु भएको छ । अध्यक्ष लिङ्देनले सिक्किम विलय भएको दृष्टान्त पेश गर्दै राजसंस्था नभए नेपाल पनि विलय भएर जाने खतरासमेत औंल्याउनु भयो ।

स्वर्गीय राजा वीरेन्द्रको स्मृतिमा बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राजसंस्था नहुँदा २०३२ सालमा सिक्किम देश विलय भएको र नेपालमा पनि अहिले त्यो खतरा बढेर गएको दावी गर्नु भयो ।

अध्यक्ष लिङ्देनले देशलाई अन्य देशको खतराबाट टार्नसमेत राजसंस्था अनिवार्य रहेको तर्क गर्नु भयो । उहाँले राजा वीरेन्द्रले देशलाई अन्य देशसमक्ष झुक्न नदिन २०४६ सालमा राजनीतिक दलका नेताहरुसँग सम्झौता गरेर संवैधानिक राजाको रुपमा आफूलाई उभ्याएको पनि बताए। उनले स्वर्गीय राजा वीरेन्द्र जनप्रेमी र देशभक्त राजा भएको उल्लेख गर्नु भयो ।

अध्यक्ष लिङ्देनले भन्नु भयो , ‘म केटाकेटी नै थिएँ–२०३२ सालतिर होला। जब सिक्किममा राजसंस्थाको अन्त्य भयो। जनताका प्रतिनिधिहरु भन्नेले त देशै भारतमा विलाइदिए। ओहो, राजा भएन भने त देशै सकिने रहेछ, जब मेरो बाल मस्तिष्कमा पर्‍यो। राजाको अभावमा, राजसंस्थाको अभावमा हाम्रो पनि देश कुनै पनि बेला त्यस्तो खतरामा पर्न सक्छ भन्ने मलाई लागेको थियो। आज पनि म राजसंस्थाको कुरा गर्दाखेरी जनतालाई भन्ने गरेको छु– २०३२ सालसम्म हाम्रो छिमेकमा सिक्किम भन्ने देश थियो।’

अध्यक्ष लिङ्देनले राजनीतिक दलका नेताहरु भन्दा राजा बढी देशभक्त हुन्छन् भन्ने कुरालाई राजा वीरेन्द्रले प्रमाणित गरेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै पूर्वमन्त्री विपिन कोइरालाले पनि मुलुकको हितका लागि राजा र राजसंस्था स्थापित गरेर जानुको विकल्प नरहेको जिकिर गर्नु भयो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu