Connect with us
Kapilvast Forest

एजेण्टको भरमा भिजिट भिसामा यूएई आएर कमाउँछु भनेर नसोच्नुहोस्

२०७८, १२ माघ बुधबारमा प्रकाशित

बुद्धि मगर, हाल यूएई ।
यतिबेला जताततै चर्चा भिजिट भिसाको छ । नेपालीहरू ठगिएको, समस्यामा परेको, सरकारले समिति गठन गरेको यस्तै खबरहरू बारम्बार आइरहेका छन् ।

हो विदेशिनु हाम्रो बाध्यता जस्तै भएको छ । हर कोहीको आ–आफ्नै बाध्यता छ । बाध्यतामा फसेकाहरूलाई जतिसक्दो छिटो विदेश पुगिहाल्न पाए हुन्थ्यो भन्ने मनमा लाग्छ ।

त्यही हतारोको एउटा माध्यम अहिले भिजिट भिसा भएको छ ।

म पनि यही बाटो समाएर यहाँ आइपुगेको हुँ । मेरो पनि आफ्नै कथा थियो विदेशिन पर्ने । बाध्यतामा परेकाहरूलाई एजेण्टले जान्न भन्दा पनि छाड्ने वाला थिएनन् ।

राम्रो कमाइ हुन्छ भनेर उनीहरूले दिने गफ र आश्वासनले सबै हो झैँ बनाउने रहेछन् । म पनि त्यही गफ र आश्वासनमा विश्वास गरेर केही वर्षअघि यूएई सरमा टेकेको हुँ ।

झट्ट हेर्दा युरोपको झल्को दिने यूएई सुन्दर छ । हामीजस्ता सामान्य मानिसका लागि यो सपनाको सहर हो । हेर्दा जति सुन्दर देश छ त्यति नै सुन्दर नियम, कानुन, र यहाँको परिवेश पनि छ । यहाँ भिज्न थालेपछि लाग्छ म परदेशमा होइन आफ्नै देशको कुनै सहरमा छु ।

खाडी भनेपछि हेला गरिहाल्ने हाम्रो नेपाली समाज छ । तर राम्रो सीप भएका र पढेलेखेकाहरूका लागि यूएई कुनै युरोप अमेरिका भन्दा कम रहेनछ भन्ने अनुभव गरेको छु मैले ।

मानिसहरू कोरिया, युरोप, जापान, अस्ट्रेलिया गएको देख्दा मलाई पनि नेपालमा हुँदा खाडी देश पनि के जानू र भन्ने लाग्थ्यो । तर यहाँ आएपछि राम्रोसँग बुझ्ने अवसर मिल्यो । कमाउनका लागि राम्रो देश मात्र होइन आफ्नो हातमा सीप पनि चाहिने रहेछ ।

एउटा कामदारले हजारमा तलब खाएको सुनेको मैले यही आएपछि तीन चार लाख रुपैयाँ सजिलै कमाएको पनि आफ्नै आँखाले देखेँ । तर देखेर मात्र हुँदैन त्यो कुरा हासिल गर्न आफ्नो हातमा सीप, दक्षता र क्षमता त चाहिन्छ नै ।

तर अहिले भिजिट भिसामा यस्ता मानिसलाई पठाइन्छ जसले पढाइको नाममा एसइई पनि पास गरेको छैन । अङ्ग्रेजीको नाममा आफ्नो नाम पनि भन्न जान्दैन । एक ठाउँबाट अर्को ठाउँमा हिँडडुल गर्न जान्दैन । हातमा कुनै सीप छैन । छ त केबल राम्रो काम लगाइदिन्छु भन्ने एजेण्टको आश्वासन मात्र । अनि दुःख त त्यसै भइहाल्छ नि ।

हातमा सीप र दक्षता हुनेलाई यहाँ अवसर धेरै छ । ६ महिनापछि कम्पनी परिवर्तन गर्न सक्ने यूएई सरकारको नियम छ । राम्रो काम र अवस आयो भने कम्पनी फेर्न पनि सकिन्छ । आफैँले काम खोजेर, आफैँले अप्लाइ गरेर पनि जागिर खान सकिन्छ ।

आफ्नो क्षमताले अन्तर्वार्ता पास गरेर जागिर खादा कुनै शुल्क लाग्दैन । तर यहाँ त एजेण्टहरु हुन्छन् । उनीहरूले पैसा खाने मौका कुरेर बसेका हुन्छन् । हो हामी उनीहरूको जालमा फस्न हुँदैन ।

यहाँ आउने सबैले बुझ्न पर्ने कुरा के हो भने काम आफ्नो दक्षताले पाउने हो न कि कोही एजेण्टले भनेर पाउने होइन ।

सीप छैन, अङ्ग्रेजी पनि जान्नुहुन्न भने यूएईमा भिजिट भिसामा आएर काम गर्छु भन्नु ठुलो मूर्खता हुनसक्छ । भाग्यले राम्रो काम र कम्पनी पर्‍यो भने फरक कुरा हो । नत्र दुःखको भुमरीमा त तपाईँ निश्चित पनि पर्नुहुन्छ ।

किनकि यहाँ हरेक कामको लागि अन्तर्वार्ता दिनपर्छ र त्यो अन्तर्वार्ता विशेष गरी अङ्ग्रेजी भाषामा हुने गर्छ । आफूमा भाषाको दक्षता नभएपछि तपाईँ त्यही कमजोर साबित हुनुहुन्छ । दुई तीन महिनाको भिजिट भिसामा आउँदा घुम्न जान सकिँदैन । यो समयमा काम पाइएन भने कि त नेपाल नै फर्कन्न पर्‍यो कि त फेरि एजेण्टको जालमा फस्नु पर्‍यो । त्यसको अर्को विकल्प हुँदैन ।

घर फर्कन्न पनि समस्या हुन्छ । नेपालबाट आउँदा दुई चार लाख फसेको हुन्छ । थोरै तलबमा काम गर्न मनले दिँदैन । घर फर्कन्न साहुको ऋणले दिँदैन । तपाईँ यदि भिजिट भिसामा यूएई आउँदै हुनुहुन्छ भने यो कुरा बुझ्न जरुरी छ।

तपाईँसँग सीप छैन र भाषाको पनि ज्ञान छैन भने नआउँदा नै राम्रो हुन्छ । तर यदि सीप छ र भाषामा पनि ज्ञान छ भने तपाईँले आफूले आफूलाई प्रमाणित गर्ने थलो बन्न सक्छ यूएई । तर एजेण्टको भरमा भिजिट भिसामा गएर काम गर्छु भनेर सोच्नु चाहिँ गलत नै हुन्छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu