Connect with us
Kapilvast Forest

राष्ट्रिय जनगणनाः प्रारम्भिक परिणाममा किन आएन तेस्रो लिंगीको तथ्यांक

२०७८, १८ माघ मंगलवारमा प्रकाशित

 

काठमाडौं – केन्द्रीय तथ्यांक विभागले गत बुधबार सार्वजनिक गरेको जनगणनाकोे प्रारम्भिक नतिजामा नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । जसमध्ये एक करोड ४२ लाख ९१ हजार ३११ पुरुष र एक करोड ४९ लाख १ हजार १६९ जना महिला छन् । विभागले सार्वजनिक गरेको तथ्यांकमा तेस्रोलिंगी समेटिएको छैन । यससँगै प्रश्न उठेको छ कि, तेस्रो लिंगीको गणना नै गरिएन कि तथ्यांक सार्वजनिक नगरेको हो रु

 

२०६८ सालको जनगणनामा तेस्रो लिंगीलाई महिला–पुरुषको रुपमा नै गणना गरेपछि तेस्रो लिंगीले यसपटक आफूहरुको गणना हुनुपर्ने माग गर्दै आएका थिए । तर विभागले सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकमा तेस्रो लिंगीको विवरण नभएको प्रति ब्लु डाइमण्ड सोसाइटीले आपत्ति जनाएको छ ।

विभागले भने तेस्रो लिंगीको पनि गणना गरेको बताएको छ । यसअघि तेस्रो लिंगीलाई महिला र पुरुषमा नै समावेश गरी गणना गर्दै आएको विभागले यस वर्ष छुट्टै गणना गरेको बताएको हो । विभागका अनुसार सुपरीवेक्षक र गणकले घरमूलीलाई तेस्रो लिंगी भए–नभएकोबारे सोधिएको थियो । तर घरमूलीलाई परिवारका सदस्य तेस्रो लिंगी हो कि होइन भन्ने जानकारी नहुँदा यकिन तथ्यांक नआएको विभागले बताएको छ ।

तेस्रो लिंगी भएकाहरुले पनि खुलेर आफ्नो बारेमा जानकारी नदिएको बताउँनुहूछ , गणक सपना सापकोटा । ‘उहाँहरुले छोराछोरीको मात्रै विवरण दिनुभयो, तेस्रो लिंगीबारे जानकारी दिन आनाकानी गर्नुभयो’, सापकोटाले गणना गर्दाको अनुभव सुनाइन्, ‘हामीले घरमुलीले परिवार कोही तेस्रो लिंगी हुनुहुन्छ रु भनेर सोधेका थियौं । तर उहाँहरुले छोराछोरीको संख्या मात्रै बताउनुभयो ।’

उनका अनुसार गणकले सोध्नुअघि नै सुपरिवेक्षकले घर परिवारको सूचीकरण गर्दा पनि परिवारमा महिला–पुरुष कति छन् भनेर सोधेका थिए ।

किन छुटाइयो तेस्रो लिंगीलाई रु

प्रारम्भिक तथ्यांकमा तेस्रो लिंगी नपर्नुको कारणबारे विभागका निर्देशक ढुण्डीराज लामिछानेले भन्नु भयो ‘अहिले हतारमा क्विक काउन्ट गरेकाले तेस्रो लिंगीको तथ्यांक नआएको हो । मूल प्रश्नावलीमा तेस्रो लिंगीसम्बन्धी प्रश्न थिएन । यो प्रारम्भिक तथ्यांक मूल प्रश्नावलीका आधारमा निकालिएको हो ।

‘तेस्रो लिंगीसम्बन्धीको विवरण घर तथा घरपरिवार सूचीकरण फारममा छ । उनीहरुको विवरण लेखेको फारम चलाएकै छैन । मूल प्रश्नावलीमा तेस्रो लिंगीको प्रश्न राखिएको थिएन’, उहाँले भन्नु भयो ।

प्रारम्भिक गणनामा तेस्रो लिंगीलाई महिला र पुरुषकै सूचीमा गणना गरिएको निर्देशक लामिछानेले बताउनु भयो । तेस्रो लिंगीसम्बन्धीको संस्थाहरुसँग छलफल गरेर नै उक्त नतिजा सार्वजनिक गरेको विभागले जनाएको छ ।

विभागले अहिले सार्वजनिक गरेको प्रारम्भिक जनसंख्यामा पछि तेस्रो लिंगी पनि थपिने जनाएको छ । ‘अहिले विभागले बाहिर पेजमा कति फारम भर्नुभयो भनेर गणकलाई सोधेको हौं । पछि केही फरक पर्न सक्छ । अहिलेको चाहिँ महिला पुरुषमा नै परेको छ’, उहाँले भन्नु भयो , ‘जन्मिँदाको लिंगका आधारमा अहिले तथ्यांक निकालेको हो ।’ तेस्रो लिंगीसम्बन्धी सम्पूर्ण विवरण आउन करिब ९ महिना लाग्ने विभागले जनाएको छ ।

ब्ल्यु डाइमन सोसाइटीकी कार्यकारी निर्देशक मनिशा ढकालले भन्नु भयो , ‘हामीले विभागलाई सोधेका थियौं । अहिले तेस्रो लिंगी पनि महिला–पुरुषभित्रै परेका छन् । पछि त्यहीं महिला पुरुषभित्रबाटै तेस्रो लिंगीको पहिचान खुल्छ ।’

यौनिक अल्पसंख्यकलाई खुल्नै गाह्रो

यौनिक तथा अल्पसंख्यक समुदाय मूल गणनामा खुलेर नआएको तथ्यांङ्क विभागले जनाएको छ । परिवारका सदस्यले पनि खुलेर यौनिक तथा अल्पसंख्यक सन्तानको बारेमा नबताएको र उनीहरु पनि खुल्न नसकेको विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले बताउनु भयो ।

‘एकजना सदस्यसँग परिवारको बारेमा जानकारी लिनुपर्ने हुन्छ । तेस्रोलिङ्गीको लागि छुट्टै कोठामा वा परिवारको एक–एक सदस्यलाई सोध्ने कुरा पनि भएन । त्यसैले उनीहरुको यकीन विवरण पाउन सकिएन’, उहाँले भन्नु भयो ।

श्रेष्ठका अनुसार यौनिक तथा अल्पसंख्यक नागरिकको छुट्टै गणना गर्नुपर्ने हुन्छ । ‘परिवारका सदस्यले खुलेर बताउन नचाहँदा हामीसँग अरु विकल्प छैन उहाँले भन्नु भयो ।’

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu