Connect with us
Kapilvast Forest

युक्रेनमा रहेका नेपाली विद्यार्थी भन्छन् : हाम्रो चाँडै उद्धार होस्

२०७८, १२ फाल्गुन बिहीबारमा प्रकाशित

 

काठमाडौँ – पूर्वी युरोपमा पर्ने युक्रेन र रुसबीचको तनावले युद्धको रूप लिएपछि राजधानी किभसहित ठूला सहर खर्किभ, मोल्डोभा, ओडेसामा बस्ने नेपाली विद्यार्थीले आफ्नो उद्धारका लागि आग्रह गरेका छन् ।

 

युक्रेनको राजधानी किभबाट ४ सय ८० किलोमिटर पूर्वोत्तरमा पर्ने खर्किभ नेसनल मेडिकल युनिभर्सिटीमा एमबीबीएस तेस्रो वर्षमा अध्यनरत जनकपुरका रोशन झाले कान्तिपुरसँग फोनमा भने, ‘रुसले सोमबार स्वतन्त्र राज्य घोषणा गरेका युक्रेनका दोनेत्सक र लुहाँस्क क्षेत्रमा मात्रै होइन, निकै टाढा पर्ने यो खर्किभमा पनि आज बिहान निकै बम विस्फोट भएको डरलाग्दो स्थिति देखिएको छ, हामी यो विश्वविद्यालयमा नेपाली, भारतीय, बंगालादेशीसहित थुप्रै देशका विद्यार्थी छौं । तर, खतरा बढेको देखेर तत्काल घर फर्कने उपाय खोजिरहेका छौं । खर्किभ, किभसहितका विमानस्थल बन्द भइसकेकाले र नेपाल सरकारका तर्फबाट उद्धार समन्वयको कसैले सम्पर्क नगरेकाले अलिक त्रास बढेको छ ।’

 

यो विश्वविद्यालयको मेडिकल फ्याकल्टीमा रहेका विद्यार्थी सप्तरीका राकेश चौरसिया पनि रोशनसँगै तत्काल उद्धार चाहिरहेका छन् ।

युक्रेनस्थित गैरआवासीय नेपाली संघका अध्यक्ष हरि मल्लले पनि स्वतन्त्र राज्य घोषणा भएका दोनेत्सक र लुहाँस्क मात्रै होइन, युक्रेनका अन्य भागमा पनि क्षेप्यास्त्र आक्रमणसँगै असुरक्षाको संकेत बढिरहेको जानकारी दिए । तर, युक्रेनमा स्थायी रूपमा बसोबास गर्दै आएका ३८ नेपाली र ट्रान्जिटमा रहेका विद्यार्थीसहितको स्थितिका बारेमा सक्दो अपडेट लिने काम भइरहेको उनले बताए । युरोपेली मुलुकमा जानका लागि ट्रान्जिटमा राजधानी किभ तथा ओडेसा, मोल्डोभामा रहेका २ सयभन्दा बढी नेपाली पनि मिलेसम्म घर फर्कने सोचाइमा छन् ।

सन् २०१४ अघिसम्म युक्रेनको कूटनीतिक मामला रुसको मस्कोस्थित नेपाली दूतावासले हेर्ने गरेकोमा रुस–युक्रेन तनाव बढेपछि नेपाल सरकारले युक्रेनी सहप्रमाणीकरणको जिम्मा जर्मनीको बर्लिनस्थित नेपाली दूतावासलाई सुम्पेको थियो ।

 

‘बुधबार अपरान्हसम्ममा ४४ जना नेपालीको थप विवरण पाएका छौं, यसबाहेक ३८ जना भने विभिन्न उद्यम/व्यवसायमा जोडिएर स्थायी रूपमा बसोबास गर्ने नेपालीको संख्या पाएका छौं, बर्लिनस्थित राजदूत रामकाजी खड्काले भने, ‘उद्धार समन्वय र अरु प्रक्रियाका लागि पनि परराष्ट्रमार्फत पहल थालिसकेका छौं, स्थिति हेरी यसबारेमा निर्णय आउनेछ ।’

बुधबार एउटा सूचना जारी गर्दै परराष्ट्र मन्त्रालयले आवश्यक अवस्थामा बाहेक युक्रेन भ्रमण नगर्न आग्रह गरेको थियो। दुई देशबीचको द्वन्द्व युद्धमा परिणत हुन सक्ने भन्दै परराष्ट्र मन्त्रालयले युक्रेनमा रहेका सबै नेपाली नागरिकलाई घटनाक्रमको मूल्याकंन गरी स्वदेश फर्कन अनुरोध गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu