Connect with us
Kapilvast Forest

पुराना प्रश्नपत्र अभ्यास गरेर उत्तीर्ण हुन कठिन

२०७९, ८ बैशाख बिहीबारमा प्रकाशित

 

काठमाडौँ- पुराना प्रश्नपत्रको सँगालो अभ्यास गरेका भरमा कक्षा ८, १० र १२ को परीक्षाबाट अब सहजै पार पाउन सकिने छैन ।पालिकाले सञ्चालन गर्ने कक्षा ८, माध्यमिक शिक्षा परीक्षा (एसईई) र केन्द्रीयस्तरमा सञ्चालन हुने कक्षा १२ को परीक्षामा वर्षैपिच्छे प्रायः प्रश्न दोहोरिने गरेका छन् । यसैका कारण पुराना प्रश्नपत्रको सँगालो र गेस पेपरको व्यापार निकै फस्टाएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ८, १० र १२ का लागि स्तरीकृत प्रश्नपत्र तयार गरेर प्रश्न बैङ्क निर्माण गर्दै छ । बोर्डले बुधबार आयोजना गरेको कार्यशालामा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले परीक्षा प्रणालीमा सुधार गर्नु जरुरी भएको बताउँदै भन्नुभयो, “स्तरीकृत प्रश्नपत्रको बैङ्कमा सयौँ नमुना प्रश्नपत्र समावेश हुनेछ । पलिका वा प्रदेशको पहुँच प्रश्न बैङ्कमा पु-याइनेछ । उनीहरूले त्यहीँबाट इच्छाअनुसार प्रश्नपत्र तयार गर्न सक्नेछन् ।” उहाँले कम्तीमा पाँच वर्षसम्म प्रश्न दोहोरिन नदिने बताउनुुभयो । यसबाट पुराना प्रश्नपत्रको सँगालो विस्थापित हुने दाबी गरिएको छ ।

बोर्डले शैक्षिक सत्र २०७९ बाट एसईई र कक्षा १२ मा तथा आगामी शैक्षिक सत्र २०८० बाट कक्षा ८ मा स्तरीकृत प्रश्नपत्र लागू गर्ने भएको छ । स्तरीकृत प्रश्नपत्रका कारण पालिका र प्रदेशको प्रश्नपत्र समानस्तरको हुनेछ ।

“एउटा प्रदेशको प्रश्नपत्र सजिलो र अर्काे प्रदेशको प्रश्नपत्र कठिन हुने अवस्थालाई स्तरीकृत प्रश्नपत्रले अन्त्य गर्नेछ,” बोर्डका सदस्यसचिव दुर्गा अर्यालले थप्नुुभयो, “प्रश्न सोधाइमा समान स्तर कायम हुनसके पठनपाठनमा सुधार हुनेछ ।”

बोर्डले सुरुमा अङ्ग्रेजी, विज्ञान र गणित विषयमा स्तरीकृत प्रश्नपत्र तयार गर्नेछ । आगामी वर्षबाट क्रमशः अन्य विषयमा पनि यस्तो प्रश्नपत्र तयार गरिनेछ । बोर्डले तीनवटै विषयका ३० सेट प्रश्नपत्र तयार गरेको थियो र तिनैबाट १० सेट तयार गरेको छ । त्यसलाई विद्यार्थीमाझ लगेर परीक्षणसमेत गरिसकिएको छ ।

हाल शिक्षकले बढीमा दुई घण्टामै प्रश्नपत्र तयार गर्ने गरेका छन् । यसरी प्रश्नपत्र तयार गर्दा हरेक वर्षका प्रश्न दोहोरिने गरेका छन् । ललितपुरको लिटिल एन्जेल्स स्कुलका प्रिन्सिपल मुकुन्दराज शर्माले प्रश्नपत्र तयार गर्न शिक्षकले जाँगर नचलाउने गरेको बताउँदै भन्नुभयो, “दुई घण्टामै प्रश्नपत्र तयार गर्ने प्रवृत्ति छ । प्रश्नपत्र तयारीमा निकै समस्या देखिएको छ ।

त्यसैले विद्यार्थी अघिल्ला वर्षका प्रश्नपत्रको सँगालो अभ्यास गरेकै भरमा परीक्षामा उत्तीर्ण हुने गरेका छन् ।” उहाँको भनाइसँग शिक्षाविद् प्रा.डा. गणेश सिंहले सहमति जनाउँदै भन्नुभयो, “एउटा प्रदेशको प्रश्नको स्तर अर्काे प्रदेशको भन्दा कम हुनु हुँदैन । समान स्तरको प्रश्नपत्र बनाउन स्तरीकृत गर्नैपर्छ ।” शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले व्याख्यात्मक प्रश्न बनाउनुपर्छ भन्दै शिक्षकलाई प्रश्नपत्र तयार गर्न स्तरीकृत नमुना प्रश्नपत्र उपलब्ध गराउनैपर्ने सुझाव दिनुभयो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu