Connect with us
Kapilvast Forest

देवताको पूजा गर्दै मुगुमा धान रोपाइँ – फोटोफिचर

२०७९, १६ असार बिहीबारमा प्रकाशित

मुगुको खत्गाड- सोरु र गम भेगका विभिन्न क्षेत्रमा धान रोपाइँ भइरहेको छ । असार मध्यसम्म जिल्लामा करिब ७० प्रतिशत धान रोपाइँ भएको छ । फरक–फरक हावापानीका कारण समयमा आकासेपानी नआउँदा जेठको पहिलो सातादेखि साउनको दोस्रो सातासम्म यहाँका विभिन्न क्षेत्रमा रोपाइँ चल्ने गर्दछ ।

यहाँको हावापानी नमिल्ने कतै चिसो र कतै गर्मीका कारण कुनै ठाउँमा चैतको २० तिर धानको बेर्ना राखेर जेठको तेस्रो सातातिर रोपिन्छ भने कुनै क्षेत्रमा वैशाख १५ मा बेर्ना राखेर जेठको ३० तिर रोपिन्छ । औल क्षेत्रमा भने जेठ २५ तिर बेर्ना राखेर असारको १५ मा रोप्ने गरिन्छ । कुनै ठाउँमा साउन दोस्रो सातासम्म धान रोपेर सकिने गर्छ ।

जिल्लाका चार स्थानीय तहमध्ये खत्याड गाउँपालिकाको ८० प्रतिशत जमिनमा रोपाइँ हुने गर्छ । सोरु गाउँपालिकाको ५० प्रतीशत जग्गा रोपाइँ गरिन्छ भने छायानाथ रारा नगरपालिकाको १५ प्रतिशत जमिनमा रोपाइँ हुने अनुमान छ ।

जिल्लाको पश्चिम खत्याड गाउँपालिका– ८ आमगाउँमा हरेक वर्ष असार १५ मा धान रोप्ने चलन रहेको छ । यहाँ सधैँजसो आजकै दिन परम्परागत शैलीमै धान रोप्ने गरिन्छ । अघिल्लो दिन धानको बेर्ना निकाली थोरै घरमा ल्याएर देवतालाई चढाएर पछिल्लो दिन रोप्ने प्रचलन छ ।

‘जेठ १५ मा बेर्ना राख्ने र असार १५ मा सधैँ धान रोप्ने गर्छौँ । यो हाम्रो देवताले दिएको दिन हो । त्यसैले आजको दिनमा देवताको पूजा गरेर धान रोप्ने हाम्रो परम्परा छ,’ खत्याड– ८ आम गाउँकी सम्पति कार्कीले बताइन्, ‘आजको दिन देवतालाई धानको बिउ छुट्याएर (चडाएर) रोप्ने गर्नाले धान राम्रो फल्ने विश्वास हामीमा छ ।’

अर्का कृषक काल्चे लुवारका अनुसार देवताको नाममा (टाङ्ली) नामले चिनिने खेत नै छुट्याइएको छ । त्यसमा बिहानै सबैको खेतबाट धानको बिउँ निकालेर ल्याइन्छ र उक्त खेतलाई रोपेर मात्र अरूको खेत रोप्न यहाँको चलन छ ।

यसरी गर्दा देवता खुसी भई सुपीकाल हुनेमा लुवारको विश्वास रहेको छ । यहाँ दमाया बाजा बजाएर हिलो छ्याप्दै रमाउँदै रोपाइँ गर्ने चलन रहेको छ । रोपेर सकेपछि दिनभरको थकाइ मेटाउन महिलाहरू जम्मा भई देउडा खेल खेली रमाइलो गर्ने चलन रहेको छ । बेलुकीपख रोपाइँ भात खाने र दुःखसुख साट्ने गरिन्छ ।

जेठ दोस्रो सातादेखि सुरु गरिएको रोपाइँ असार १५ सम्म खत्याडका सेरी, श्रीकोट, खर्क, चिमाडुङरी, केरै, तलिबग्र, रिखिया बगर, गमथा, कोटडाँडा, आम र रिगालगायत गाउँका खेतमा रोपाइँ सकिएको छ भने सुकाढीक र ह्यांलुमा पानी अभावले साउनको दोस्रो सातादेखि रोपाइँ गरिनेछ । सोरु भेगमा पनि आधाजसो ठाउमा रोपाइँ भएको र बाँकी ठाउँमा रोप्ने काम जारी रहेको स्थानीय कृषक बताउँछन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu