Connect with us
Kapilvast Forest

बलात्कारपीडितको उल्झन

२०७९, १९ असार आईतवारमा प्रकाशित

गहुँगोरो वणर्की एक युवती मन्दिर प्रवेश गरिन्।
‘कोही पनि आमाबुबाको कोखबाट मजस्ती छोरी नजन्माइदेऊ!’

प्रवेशद्वारको घण्टी बजाउँदै मसिनो आवाजमा उनले उक्त वाक्य धेरै पटक दोहोर्‍याइन्। घण्टी बजाउँदै उनले भनेका ती शब्द सुन्ने व्यक्ति म थिएँ, घण्टीको आडमा रहेको तुलसीको मठमा पूजा गर्दै। भावुक र बेचैन मुद्रामा उनले गरेको पुकाराको वास्तविकता बुझ्न मन लाग्यो।

हामी एकअर्कामा अपरिचित थियौं। उनी अलिक पर पुगिसकेकी थिइन्। मैले बोलाएँ। उनी रोकिइन्।
मैले उनलाई सोधेँ- तिमीलाई के भयो? घण्टी बजाउँदा किन त्यसो भनेकी?
उनी अकमकाइन्। उनका आँखामा अप्रसन्नताको भाव झल्कियो। तुरुन्तै शान्त देखिइन्। कुरा गर्दै जाँदा सहज भइन्। मैले उनको त्यस्तो पुकाराको यथार्थ थाहा पाउन खोजेँ।

उनले सोधिन्, ‘दिदी, मेरो कहानी सुनेपछि तपाईंले पनि मलाई अपहेलना त गर्नु हुन्न नि!’
मैले उनलाई विश्वास दिलाउन प्रयास गरेँ। उनलाई विश्वास भएछ क्यारे। उनी आफ्नो मनको पीडा सुनाउन थालिन्।

‘दिदी, म चार वर्षको उमेरमा बलात्कारमा परेकी छोरी हुँ। मलाई मेरै मामा पर्नेले बलात्कार गरेको थियो। पछि छिमेकीले थाहा पाएर प्रहरी बोलाए। ऊ थुनामा पर्‍यो। ऊ छ महिनामा जेलबाट निस्कियो। ऊसँग राजनीतिक शक्ति रहेछ। अहिले पनि त्यो व्यक्ति मेरो नजिकै बस्छ।

मामाले नयाँ लुगा ल्याइदिएको छु, लगाइदिन्छु भनेर लुगा खोल्न लगायो। उसले मलाई बेस्सरी समायो। मलाई दुख्यो, म रोएँ। मेरो आवाज अरूले सुने। ऊ त्यहाँबाट हिँड्यो।

उसले मलाई त्यसरी किन समातेको थियो भन्ने मलाई थाहा थिएन। म सानै थिएँ। गाउँका मान्छेहरू कुरौटे थिए। हाम्रो परिवारलाई दुःख दिए। तिमीहरूकी छोरी बलात्कारमा परेकी हो भने। समाजमा बस्न गाह्रो बनाए। एक दिन राति मौका पारेर हामी त्यो गाउँ छोडेर अन्तै गयौं।

बुबाआमाले दुःखसुखले हामीलाई हुर्काउनु भयो। उसले मलाई त्यसरी समातेको कुरा मानसपटलमा घुमिरहेको थियो। म पनि ठूली हुँदै गएँ, बालिग भएँ। बुबाआमाले मेरो बिहे गरिदिनुभयो। बिहे भइसक्दा पनि चार वर्षको उमेरमा भएको त्यो घटनाको छाप कहीँ न कहीँ दिमागमा रहेको थियो। बिहेको पहिलो रातमा मैले श्रीमानलाई मलाई नछुनू भनेँ। उनले किन भनेर सोधे। मैले सानो उमेरको त्यो घटना सुनाएँ।

श्रीमानले बलात्कारमा परेकी भनेर निहुँ खोजे। तेरा बाउआमाले मसँग झुठो बोले, तेरो र मेरो जीवन चल्दैन भने। बलात्कृत केटीसँग घरजम नगर्ने भनेर घोषणा गरे। उनले घरका सबैलाई सुनाए। त्यहाँ भएका सबै जना मेरो र मेरा बुबाआमाको विरोधमा उत्रिए। उनीहरूले मलाई तुरुन्तै सामानसहित माइत पठाउने निणर्य गरे। राति नै मलाई पुर्‍याए। म अहिले माइतमै छु।’

उनको कुरा सकियो। एक सासमा यति भनिसकिन्। म भावुक र अवाक भएँ।

मानसिक असर
अपराधले सानो, ठूलो, धनी, गरिब केही भन्दैन। जहाँ पनि, जोसँग पनि घटना हुन सक्छ। बालिकाहरू जघन्य अपराधको शिकार हुने गरेका छन्। उल्लिखित घटनामा बालिकालाई परेको मानसिक असरले उनको जीवन नै जोखिममा परेको देखिन्छ।

कुनै गम्भीर घटनाले बालबालिका र वयस्कमा पर्ने असर फरकफरक हुन्छ। बाल्यकालमा परेको मानसिक असर जीवनभरि रहिरहन्छ। साना बालबालिकाको दिमाग परिपक्व भएको हुँदैन। यस्ता बालिकाहरूलाई बलात्कार, दुर्व्यवहार, यौनशोषण इत्यादि केही पनि थाहा हुँदैन।
बालबालिका काँचो माटो जस्ता हुन्छन्। लोभलालच र प्रलोभनमा चाँडै अपर्न सक्छन्। यसै कारण बलात्कारीहरूले साना बालिकलाई लक्षित गर्छन्। अचम्मको पाटो के छ भने बलात्कारमा परेकी बालिका नै समाजबाट तिरष्कृत हुन्छ, बलात्कारी छाती फुलाएर हिँड्छ। त्यही बलात्कारी व्यक्ति राजनीतिको आडमा जंगली राजाभन्दा पनि भयानक हुन्छ।

दक्षिण एसियाकी अधिकारकर्मी कमला भासिनले भनेकी थिइन्- अरे बाबा! इज्जत बलात्कारीको जाने हो कि बलात्कारमा परेको व्यक्तिको? हामीकहाँ बलात्कारमा जो पर्छ उसको इज्जत जान्छ तर बलात्कारी राजनीतिको आडमा ससम्मान हिँड्छ।

गोपनीयताको ख्याल

केही दिनअघिको कुरा हो एउटा राजनीतिक दलका एक व्यक्तिले आफ्नै छोरीलाई दुई वर्षदेखि बलात्कार गरेको भन्ने समाचार आयो। यो समाचारले सामाजिक सञ्जालमा व्यापक तरंग ल्यायो।

समाचार छापिनु र सामाजिक सञ्जालमा लेखिनु एक पाटो हो। त्यस घटनाका पीडकको हर्कतका कारण छोरीको गोपनीयता रहेन। बाबुले छोरीलाई बलात्कार गर्‍यो भनेर नाम सार्वजनिक हुँदा पीडितको गोपनीयता रहेन।

हामी कुसंस्कारले यति जरो गाडेको छ कि कसैले जघन्य अपराध गरेको छ भने पूरै नाम-ठेगानासहित स्ट्याटस ठोक्छौं र अनेक कमेन्ट पनि गर्छौं। पीडितमाथि पर्ने असरका बारेमा भने कहिल्यै पनि ध्यान दिँदैनौं।

पत्रकारिताको तालिममा महत्वका साथ लैंगिक संवेदनशीलताको कुरा गरिन्छ। तिनै पत्रकारले संवेदनशीलता बिर्सिदिन्छन्। राजनीतिक पत्रकारहरूले त झनै विपक्षीको घटना होस गुमाएरै प्रस्तुत गरिदिन्छन्।

अपराध गर्नेले त गर्‍यो तर त्यस घटना उजागर गर्नेहरूले होस नपुर्‍याउँदा धेरै घटनामा पीडितको गोपनीयता भंग भएको देखिन्छ। कानुनले संवेदनशील विषय र मुद्दामा महिला र बालबालिकाको पहिचान गोप्य राख्नु भन्छ तर राजनीतिक व्यक्तिहरूबाटै गोपनीयता भंग भइरहेको हुन्छ।

एउटा ब्युटिपेजेन्टमा भाग लिने सन्दर्भमा आयोजकले नै बलात्कार गरेको महिलाबाट सामाजिक सञ्जाल मार्फत सार्वजनिक भयो। घटना आफैंमा दुःखद थियो। झन् दुःखद बनाउने काम पीडितको नामै लिएर विरोध कार्यक्रमबाट भयो।

पीडितले नै आफूलाई सार्वजनिक गर्छु भन्छन् भने त्यो उनको अधिकारको कुरा भयो। यसमा कसैको हस्तक्षेप हुनु हुँदैन। तर जब घटना सार्वजनिक भएर राज्यको संयन्त्रमा पुग्छ र अनुसन्धानको बाटोमा आउँछ तब पीडितको पहिचान गोप्य रहनुपर्छ।

यसतर्फ ध्यान नदिँदा पीडितको मानसिक स्वास्थ्य र सामाजिक न्यायमा समेत असर पार्न सक्छ।

न्याय केलाई मान्ने?

न्यायका दुई भाग छन्, कानुनी न्याय र सामाजिक न्याय। घटनापछि अभियुक्त कानुनको फन्दामा परेपछि हामी न्यायको आभास गर्छौं। कानुन व्यक्तिलाई नियमन गर्ने दस्तावेज हो। कसुर अनुसारको सजाय तोकिएको हुन्छ।

यता समाजमा बढ्दो हिंसा अपराधका घटनामा जो प्रताडित हुन्छ उसलाई सामाजिक न्याय त्यति नै आवश्यक हुन्छ जति कानुनी न्यायको हुन्छ।

यी दुई न्यायमध्ये सामाजिक न्यायप्राप्ति कठिन हुन्छ। हुन त हाम्रो देशमा जति ठूलो घटना त्यति ठूलो च्यानल छ। बलात्कार, मानव बेचबिखन तथा ओसारपारको घटना र लागुऔषध ओसारपसारमा झनै राजनीति संरक्षण चल्छ। यसै कारण पीडक सजायबाट उम्किन्छ।

हालै मात्र नबालिक बलात्कारको एउटा मुद्दा कमजोर बनाउन नमान्ने एक सरकारी वकिलको सरुवा भयो। चार वर्ष बित्यो, कञ्चनपुरकी निर्मला पन्तको घटनाको दोषी पत्ता लागेको छैन।

पीडितलाई कानुनी र सामाजिक दुवै न्याय चाहिन्छ। पीडितको सामाजिक पुनर्स्थापना हुनु पर्छ। यसो हुन नसक्दा समाजमा उस्तै प्रकृतिका घटना दोहोरिने, पीडितको पक्ष कमजोर बन्ने, पीडितको आत्मसम्मानमा ठेस पुग्ने र भविष्यप्रति उदास हुने समस्या हुन्छ।

समाजको अपहेलनाले पीडित झन् पीडित बन्दै जान्छ। ऊ फेरि अर्को हिंसामा पर्ने सम्भावना पनि हुन्छ।

कानुनी लडाइँ पनि जटिल बन्दै गएको छ। बलात्कारको घटना सार्वजनिक भएपछि न्यायको पक्षमा सडक तात्छ। नाराजुलुस हुन्छ। कहिलेकाहीँ राजनीतिक संरक्षणले घटनाको पीडक बलियो भइदिन्छ। सजायको भागी भइहाल्यो भने पनि नगन्य हुन्छ।

आखिर न्याय केलाई मान्ने? कानुनी न्यायलाई कि सामाजिक न्यायलाई? पीडितका लागि दुवै आवश्यक हुन्छ। कानुनी लडाइँ त गर्नै पर्ने हुन्छ। पीडकलाई सजाय दिने कानुनी न्यायले नै हो।

यसको अर्थ सामाजिक न्याय दोस्रो प्राथमिकताको होइन। समाजमा हिंसामा परेकाहरूलाई ससम्मान बाँच्न पाउने अधिकारको प्रत्याभूत गराउन आवश्यक छ। महिला, पुरुष र यौनिक तथा लैंगिक अल्पसख्यक जो पनि हिंसामा पर्न सक्छ।

यसकारण सामाजिक न्यायको बाटो मजबुत बनाउनु आवश्यक छ। पीडित संरक्षण गर्ने र उसको मानवअधिकार संरक्षण गर्ने जिम्मा त्यही समाजको हो जहाँ ऊ बाँच्नु पर्छ।
(लेखक मिडिया एड्भोकेसी ग्रुपका कोषाध्यक्ष हुन्।)

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu