Connect with us
Kapilvast Forest

बजेट सक्न मारामार

२०७९, २४ असार शुक्रबारमा प्रकाशित

लुम्बिनी- बिहीबार बिहान घोराहीमा ‘कानुन कार्यान्वयन सम्बन्धमा राजनीतिक दल, पत्रकार, न्यायिक समिति तथा सरोकारवालाबीच छलफल’ कार्यक्रम राखियो । ब्यानरमा राजनीतिक दललगायतको सहभागिता हुने कार्यक्रम भनिए पनि प्रमुख राजनीतिक दलका प्रतिनिधिको सहभागिता थिएन ।

घोराही उपमहानगरपालिका कानुनी मामिला शाखाको आयोजनामा भएको कार्यक्रममा बोल्ने सहभागीले कार्यक्रम महत्त्वपूर्ण विषयमा भए पनि सरोकारवाला निकायको न्यून सहभागिता हुँदा उपलब्धिमा शङ्का गरे । यो एउटा मात्रै होइन । यहाँका अन्य पालिकामा पनि हाल दैनिक दुई/तीनवटासम्म कार्यक्रम हुने गरेका छन् ।

यसरी हतारमा गरिने कार्यक्रम प्रभावकारी हुनेभन्दा पनि बजेट सक्न हुने गरेको नागरिक समाज दाङका सचिव नारायणप्रसाद श्रेष्ठ बताउनुहुन्छ । उहाँले यसरी गरिने कार्यक्रमले आर्थिक अनियमिततालाई समेत प्रश्रय दिइरहेको बताउनुभयो ।

लुम्बिनी प्रदेशका सरकारी तथा गैरसरकारी कार्यालयलाई अहिले तालिम, गोष्ठी, सेमिनार, अभिमुखीकरण तथा बैठकजस्ता कार्यक्रम गर्न भ्याइनभ्याइ छ । विनियोजित बजेट फ्रिज हुन नदिन र आफ्नो कार्यालयको कार्यसम्पादन अब्बल देखाउन सरकारी कार्यालयले मात्र नभ्याएर गैरसरकारी कार्यालयको पनि सहयोग लिएका छन् ।

सहयोग गरेर लाभ लिनेमा पत्रकार सम्बद्ध सङ्घ, संस्था पनि छन् तर त्यस्ता कार्यक्रम उपलब्धिमूलकभन्दा पनि सहभागीलाई खाजा, नास्ता खुवाउने, भत्ता वितरण गर्ने र बजेट सक्नेमा केन्द्रित छन् । लुम्बिनी प्रदेशका प्रमुख लेखा नियन्त्रक दीपक ज्ञवालीले असार मसान्त आउनै लाग्दा प्रदेशको खर्च गर्ने रफ्तार पनि बढेको बताउँदै त्यसमा तालिम, गोष्ठी र सेमिनारले पनि प्रदेशको खर्च बढाएको बताउनुभयो ।

उहाँका अनुसार एक साताबीचमा प्रदेश सरकारको खर्च १० प्रतिशतले बढेको छ । तालिम, गोष्ठी, सेमिनार चालू खर्चमा पर्छन् । यस्ता कार्यक्रमले पनि प्रदेशको खर्च प्रतिशत बढाएको उहाँले बताउनुभयो । प्रदेश लेखा नियन्त्रक ज्ञवाली भन्नुहुछ, “जेठ मसान्तसम्म प्रदेशको कुल खर्च ४५ प्रतिशत थियो । असार सुरुदेखि २० गतेसम्मको करिब २० दिनको अवधिमा प्रदेशको खर्च ४५ बाट बढेर ५७.९९ प्रतिशत पुगेको छ । यसमा तालिमलगायतका कार्यक्रम पनि समावेश छन् ।

बाँकेमा जेठ र असारमा सबैभन्दा बढी गोष्ठी, छलफल र अन्तक्र्रिया गर्ने कार्यालय स्वास्थ्य कार्यालय रहेको छ । उक्त कार्यालयले त्यस अवधिमा करिब एक दर्जन जति कार्यक्रम गरेको छ । विशेष गरी सिकलसेल रोगसँग सम्बन्धित कार्यक्रम र कोभिडसँग सम्बन्धित कार्यक्रम सबैभन्दा बढी गरिएको सो कार्यालयका कर्मचारीले बताएका छन् ।

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजङ्ग शाहले जेठ, असारमा बढी कार्यक्रम भएको स्वीकार्दै धेरै कार्यक्रम यिनै महिनालाई तोकेर आउने गरेको बताउनुभयो । उहाँले स्थानीय निर्वाचनका कारण केही महिना काम प्रभावित भएकाले पनि जेठ, असारमा धेरै कार्यक्रम गर्नुपरेको बताउनुभयो ।

स्वास्थ्यले जस्तै कृषि ज्ञान केन्द्र, सडक कार्यालय र विभिन्न पालिकाले पनि हतारहतारमा असारमा विभिन्न कार्यक्रम गरिरहेका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले असारमा हतारहतार बजेट सक्न कार्यक्रम, गोष्ठी गर्नेमाथि निगरानी भइरहेको बताउनुभएको छ । छवि पाण्डे-बुटवल, सिराज खान-नेपालगञ्ज, लीलाधर वली-घोराही ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu