Connect with us
Kapilvast Forest

डेंगुका बिरामी बढ्दै

२०७९, १६ भाद्र बिहीबारमा प्रकाशित

रूपन्देहीको तिलोत्तमा–५ का १४ वर्षीय प्रवीर ज्ञवालीलाई डेंगु भएको छ । डेंगु कसरी कहाँबाट लाग्यो भन्ने थाहा भने न उनले पाए, न त परिवारले नै । सहन नसक्ने गरी टाउको दुख्ने र ज्वरो आउने भएपछि उनलाई अस्पताल लगेको आमा मनुले बताइन् । दुई साता बितिसक्दा पनि निको भएको छैन । ‘औषधि चलाएका छौं,’ मनुले भनिन्, ‘बच्चा भएर होला, अलि बढी आत्तिएका छन् ।’ छोरालाई निरन्तर टाउको दुखिरहेको उनले जनाइन् ।

डेंगुका बिरामी दिनप्रतिदिन बढिरहेको लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन कन्सल्टेन्ट डा. सुदर्शन थापाले बताए । उनले अस्पतालमा भर्ना हुनेमध्ये ४० प्रतिशत डेंगुका बिरामी रहने गरेको बताए । ‘सामान्य बिरामी यति हुन्,’ उनले भने, ‘ओपीडीमा दैनिक २५ जना भर्ना हुन्छन् ।’ उनका अनुसार पुराना टायर, पोखरी, तलाउ, घरका एसी, कुलरजस्ता पानीका स्रोतमा पानी जमुन्जेल लामखुट्टेको बास रहिरहने गर्छ । घाम लागेर ती सबै स्थानमा पानी जम्न छोडेपछि मात्र डेंगुको अहिलेको अनुपात घट्ने उनी बताउँछन् । उनले हाल अस्पतालमा डेंगुका बिरामीले पर्याप्त बेड तथा आईसीयू सुविधा पाउन नसकेक् ोबताए । ‘हामीले रिफर गरेर अन्यत्र पठाइरहेका छौं,’ उनले भने, ‘एउटै अस्पतालमा मात्र बिरामीको चाप भएमा थेग्न सक्ने अवस्था रहँदैन ।’

भैरहवाको भीम अस्पतालमा पनि डेंगु भएर उपचार गर्न आउने बिरामी दिनहुँ बढिरहेको डा. सिद्धार्थ पाण्डेले बताए । अहिले खचाखच नभए पनि दैनिक पाँच/सात जनाका दरले एउटै रोगका बिरामी आउनु राम्रो संकेत नभएको उनले बताए । ‘हरेक रोग लागेर मानिस अस्पताल आउँछ,’ उनले भने, ‘तर, अहिले डेंगु बढेको छ ।’

सुख्खा मौसम आएपछि यो रोग कम हुँदै जाने उनले बताए । अत्यधिक बिरामीको चाप हुने युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा डेंगु लागेरै भर्ना हुने बिरामीको संख्या प्रतिदिन १० जनासम्म रहेको जनसम्पर्क अधिकृत सुशील गुरुङले बताए । उनले भर्ना गरेर उपचार भइरहेका बिरामी दैनिक पाँच जना रहेको जानकारी दिए । ‘पोजेटिभ केश देखिने बिरामी थुप्रै हुन्छन्,’ उनले भने, ‘क्रिटिकल अवस्था नभएकालाई औषधी दिई घर पठाउने गरिएको छ ।’ सिजनेबल रोग डेंगु वर्षायाममा हरेक वर्ष यसरी नै देखा पर्ने गरेको उनले बताए ।

दाङमा पनि डेंगुका बिरामी बढ्दै गएका छन् । हालसम्म जिल्लामा ८३ जना डेंगुका बिरामी फेला परेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । पहिले अन्य जिल्लाबाट आउने बिरामीमा संक्रमण देखिए पनि अहिले जिल्लाभित्रै फैलिइसकेको स्वास्थ्य कार्यालय प्रमुख अंगदबहादुर शाहीले बताए । ‘पहिले बाहिरी जिल्लाबाट आउने बिरामीमा मात्रै संक्रमण देखिएको थियो,’ उनले भने, ‘अहिले जिल्लाका विभिन्न ठाउँमा बिरामी फेला परिरहेका छन् । फैलने क्रम बढ्दो छ ।’ बिरामी बढ्न थालेपछि गाउँगाउँमा गएर परीक्षण गर्ने योजना बनाएको शाहीले बताए । ‘बिरामी बढ्दै गएका छन् । अब गाउँगाउँमा गएर परीक्षण गर्नुपर्ने भैसकेको छ,’ उनले भने, ‘यसका लागि आवश्यक परीक्षण किटहरू मगाएका छौं, अझै आइपुगेको छैन । आउनेबित्तिकै परीक्षण सुरु हुन्छ ।’

सचेतना प्रवाह गर्ने र लामखुट्टेका बासस्थान नष्ट गर्ने अभियान चलाइएको शाहीले बताए । ‘सञ्चार माध्यमबाट डेंगुबाट बच्ने उपायबारे चेतनामूलक सन्देशहरू दिइरहेका छौं,’ उनले भने, ‘लामखुट्टेका बासस्थान रहेका, फोहोर, पानी जम्ने ठाउँहरूमा खाल्डा पुर्ने, किटनाशक औषधिहरू छर्कनेलगायतका काम गरिरहेका छौं ।’ ज्वरोका बिरामीहरू बढिरहेको र ज्वरो आएका शंकास्पद बिरामीको डेंगु परीक्षण गरिरहेको उनले बताए । ‘सबै अस्पतालहरूमा ज्वरोका बिरामी बढिरहेका छन्,’ उनले भने, ‘उनीहरू सबैजसोलाई डेंगु परीक्षण गरिरहेका छौं ।’

बर्दियामा बालकमा पनि डेंगु देखिएको छ । बर्दिया अस्पतालमा सोमबार ११ वर्षीय बालकको परीक्षण गर्दा डेंगु पोजेटिभ देखिएको हो । भदौ १३ सम्म जिल्ला अस्पतालमा रगत परीक्षण गराएका २ सय ८९ जनामध्ये पाँच जनामा डेंगु देखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुभाष पाण्डेयले बताए । गएको एक वर्षमा ९ सय ५० जनाको रगत परीक्षण गराउँदा ९६ जनामा डेंगु देखिएको उनले जनाए । पछिल्लो समय डेंगु फैलिंदै गएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी कृष्णगोपाल चौधरीले बताए । ‘भदौ लागेसँगै डेंगु फैलिदै गएको छ,’ उनले भने, ‘संक्रमितलाई १ सय ४ डिग्रीसम्म ज्वरो आउने, रिंगटा लाग्ने, आँखाको नानी दुःख्ने, श्वासप्रश्वासमा समस्या हुने, बेहोस हुनेजस्ता लक्षण देखिएका छन् ।’

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu