Connect with us
Kapilvast Forest

बाढीपहिरोले एक सय तीन घरधुरी विस्थापित

२०७९, ३ आश्विन सोमबारमा प्रकाशित

pahiro

सुर्खे- पश्चिम सुर्खेतका तीनवटा स्थानीय तहमा बाढीपहिरो र डुबानले भौतिक संरचनासँगै पशुचौपायाको ठूलो क्षति पु¥याएको छ। शुक्रबारदेखिको अविरल वर्षाका कारण वराहताल गाउँपालिका, चौकुने गाउँपालिका र पञ्चपुरी नगरपालिकाका विभिन्न स्थानमा आएको बाढी र पहिरोले क्षति पु¥याएको हो।

वर्षात्को विपत्तिमा परेर ती पालिकामा सयौँ घरधुरी विस्थापित भएका छन्। प्रहरीका अनुसार तीनवटै पालिकामा मानवीय क्षति भने भएको छैन। यद्यपि बाढी र पहिरो प्रभावित क्षेत्रको विवरण सङ्कलन कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुरज कार्कीले जानकारी दिनुभयो।

उहाँका अनुसार तीनवटै स्थानीय तहमा गरेर १०३ घरधुरी विस्थापित भएका छन्। अन्नपात, पशुचौपायासमेतमा क्षति पुगेको छ। एक÷दुई ठाउँको थप विवरण आउन बाँकी छ।

बाढी र पहिरोले पञ्चपुरीका विभिन्न वडामा गरी ५० भन्दा बढी घर पूर्ण रूपमा क्षति भएको स्थानीयवासीले बताएका छन्। पञ्चपुरी नगरपालिका–९ मा बाढीले धेरै क्षति पु¥याएको सोही वडाका बासिन्दा कमलकृष्ण पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार उक्त वडाका ३५ घरमा बाढीले क्षति गरेको छ। त्यहाँका विस्थापित परिवार आफन्तको घरमा बसेका छन्।

विद्यापुर बजारदेखि भेरी पुल जोड्ने सडकको ठाउँठाउँमा अवरोध छ। वडा ९ मै बाढी र पहिरोका कारण पशुचौपायासमेत मरेका छन्। गुटु, विद्यापुर र कोकली खोलाले करिब ७० बिघा धानबालीमा क्षति पु-याएको बताइएको छ। पञ्चपुरीमा भैँसी, गाई, गोरु र बाख्रा गरी दर्जनभन्दा बढी चौपाया गोठमै पुरिएर मरेका छन्। सो क्षेत्रमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले पशुचौपायाको उद्धार गरेका थिए। पञ्चपुरी–९ मा दसवटा घर अझै पनि बाढी र पहिरोको उच्च जोखिममा रहेको स्थानीयको भनाइ छ।

पञ्चपुरीकै वडा ५ को चेपाङमा पनि अविरल वर्षाले ठूलो क्षति भएको छ। बाढीपहिरोका कारण त्यहाँ २८ घरधुरी विस्थापित भएका छन्। विस्थापित परिवारले छेउलीमा रहेको प्राथमिक विद्यालयमा आश्रय लिइरहेका बताइएको छ। यो वडामा पनि पशुचौपायाको ठूलो क्षति भएको छ। पञ्चपुरी नगरपालिका प्रमुख लालवीर भण्डारीले अझै पनि क्षतिको सम्पूर्ण विवरण आउन बाँकी रहेको बताउनुभयो। वर्षा नरोकिएकाले बाढीपहिरोको जोखिम कायमै छ। बाढीले खेतबारीमा बढी असर गरेको उहाँको भनाइ छ।

वराहताल गाउँपालिकाको वडा २, ३, ४ र ५ मा पनि बाढीपहिरोले उस्तै क्षति गरेको छ। ती वडामा पनि दर्जनाँै घर क्षति भएका छन् भने कैयौँ परिवार विस्थापित भएका छन्। गाउँपालिकाका अध्यक्ष भीमबहादुर भण्डारीले भेरी नदी किनारका कतिपय बस्ती अझै पनि बाढीको उच्च जोखिममा रहेको बताउनुभयो। अध्यक्ष भण्डारीले केलाडीका १० घरधुरी अहिले पनि पहिरोको जोखिममा रहेको जानकारी दिनुभयो। यकिन विवरण नआइसकेको भए पनि वराहतालका करिब ५० घरधुरीमा क्षति पुगेको छ। त्यहाँका विस्थापित परिवार खुलाचौर र विद्यालयमा बसिरहेको बताइएको छ। विस्थापित परिवारलाई खाद्यान्न तथा आवश्यक लत्ताकपडा जुटाउन समस्या भइरहेको अध्यक्ष भण्डारीले बताउनुभयो। वराहतालको वडा नं. ३ र ४ का सडकमा ठाउँठाउँमा पहिरो खसेको छ।

चौकुने गाउँपालिका–८, भाम्लेमा बाढीपहिरोले सात घर पूर्ण रूपमा क्षति भएका छन्। गाउँपालिकाका अध्यक्ष खड्क विकले पशुचौपायामा समेत ठूलो क्षति पुगेको जानकारी दिनुभयो। चौकुने–९ को रागखराल टोलका आठ घर भत्किएका छन्। सो ठाउँमा बाढीले झन्डै दुई सय बिघा खेत बगर बनेको अध्यक्ष विकले बताउनुभयो। पालिकामा अझै पनि दर्जनौँ घर पहिरोको उच्च जोखिममा छन्। गाउँपालिकाका ५५ घरधुरी विस्थापित भएको बताइएको छ। विस्थापित खुला चौरमा पाल टाँगेर बसिरहेका छन्। उनीहरूलाई खाद्यान्नको व्यवस्थापन गाउँपालिकाले गरिदिएको छ।

अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा बाढी र पहिरोका घटना भइरहेको भन्दै उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय सुर्खेतले अनुरोध गरेको छ। प्रशासनले शनिबार एक सूचना जारी गर्दै आगामी केही दिनसम्म पनि वर्षाको सम्भावना रहेकाले नदी तटीय क्षेत्र र भिरालो जमिन भएका ठाउँमा सतर्कता अपनाउन आह्वान गरेको छ। बाढीपहिरो र डुबानजस्ता विपत्का समस्या आइपरे स्थानीय तह, प्रहरी, रेडक्रस तथा जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रमा सम्पर्क गर्न प्रशासनले अनुरोधसमेत गरेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu