Connect with us
Kapilvast Forest

लुम्बिनी माओवादी संसदीय दल नेता महरा मुख्यमन्त्री बन्ने दाबी

२०८०, १९ चैत्र सोमबारमा प्रकाशित

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलका नेता जोखबहादुर महराले आफू चैत २३ गतेसम्म मुख्यमन्त्री भइसक्ने दाबी गरेका छन्। सत्ता साझेदार दलबीच भएको भागबण्डाका आधारमा लुम्बिनीमा माओवादीले मुख्यमन्त्री पाउने निश्चित भइसकेको उनले दाबी गरेका हुन्। रोल्पा क्षेत्र नम्बर १ (१)बाट निर्वाचित प्रदेश सांसद महराले सोमबार सेतोपाटीसँग फोनसम्पर्कमा उक्त कुराकानी गरेका हुन्।

‘लुम्बिनीमा माओवादीले मुख्यमन्त्री पाउनेबारे यसअघि नै दलहरूले निश्चित गरिसकेका थिए,’ महराले भने, ‘तर त्यसबारे आज साँझसम्म दलहरूले टुंगो लगाउँदै छन् र त्यो मेरै पक्षमा हुनेमा म शत प्रतिशत विश्वस्त छु।’

आफूले सरकार गठनका लागि आन्तरिक तयारी थालिसकेको पनि उनले बताए। ‘माओवादी केन्द्र, एमाले, जसपा, नागरिक उन्मुक्ति, हामी निकट स्वतन्त्र सांसद र नेकपा एकीकृत समाजवादी पार्टीको समर्थन पाएसँगै मेरो पक्षमा स्पष्ट बहुमत पुग्छ,’ उनले भने।

यता सत्ता घटक नेकपा एमाले लुम्बिनी संसदीय दलका उपनेता चेतनारायण आचार्यले मुख्यमन्त्री कसले पाउने भन्नेबारे टुंगो नलागेको बताए। माओवादी केन्द्रका नेताहरू हतारिएको उनको भनाइ थियो।

‘यो विषय टुंगिसकेको छैन। लुम्बिनीमा मुख्यमन्त्री एमालेकै हुन्छ,’ आचार्यले दाबी गरे। यसअघि मन्त्री भइसकेका माओवादी केन्द्रका सांसदहरू धनबहादुर मास्की, इन्द्रजित थारू लगायतले पनि महरा मुख्यमन्त्री बन्ने तय भइसकेको दाबी गरे।

‘हाम्रो पक्षमा यसअघि नै टुंगो लागिसकेको हो,’ थारूले भने, ‘अब लाहा छाप लगाउन मात्रै बाँकी हो र त्यो आज साँझसम्म हुन्छ होला।’ यसअघि २०७९ साल पुस २७ गते नेकपा एमालेका संसदीय दलका नेता लिला गिरी मुख्यमन्त्री हुँदा माओवादीका जोखबहादुर महरा झण्डै तीन महिना अर्थमन्त्री बनेका थिए।

केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै लुम्बिनीमा दाङको निर्वाचन क्षेत्र नं. ३ (१) बाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका थिए।

पछिल्लो समय संघमा परिवर्तित राजनीतिक समीकरणपछि फागुन २३ गते मुख्यमन्त्री चौधरीलाई दिएको समर्थन माओवादी केन्द्रले फिर्ता लिएको थियो।

समर्थन फिर्ता लिएको एक महिनामा मुख्यमन्त्री चौधरीले विश्वासको मत लिनुपर्छ। चौधरीले विश्वासको मत पाउने सम्भावना न्यून छ। संसदमा विश्वासको मत प्राप्त गर्न नसकेमा चैत २३ गते नयाँ सरकार बन्ने बाटो खुल्छ।

चैत २३ गतेभित्रै आफ्नो नेतृत्वमा सरकार बन्ने दाबी गरेका महराले सोही अनुरूप आन्तरिक तयारी गरिरहेको दोहोर्‍याएका थिए। महरा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डका विश्वास पात्र समेत हुन्।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा एक जना राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले पद गुमाइसकेको हुँदा अब भने ८६ सदस्य मात्रै छन्। बहुमत सिद्ध गर्न ४४ सांसदको समर्थन आवश्यक पर्छ।

लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादीका सभामुखसहित ११, नागरिक उन्मुक्ति र जनमतका ४-४, राप्रपा, जनता समाजवादी र लोकतान्त्रिक समाजवादीका ३-३, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका १-१ र स्वतन्त्रबाट १ सांसद छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu