केन्याविरुद्ध शानदार जित : कप्तानी डेब्यूमा रोहितलाई बर्थडे गिफ्ट
काठमाडौं-आसिफ शेखको शतक, अर्जुन साउदको अर्धशतक र केन्याविरुद्ध शानदार जित । कप्तानमा डेब्यू गरेका रोहितकुमार पौडेलले क्रिकेट करियरकै अविस्मरणीय ‘बर्थ डे गिफ्ट’ पाएका छन् ।
नेपालका नियमित कप्तान सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेष्ट इन्डिज गएपछि रोहितकुमारले नेपालको सिनियर टिमको कप्तानी गर्ने अवसर पाएका थिए ।
कप्तानी डेब्युमै रोहितले जितको स्वाद चाखे, त्यो पनि आफ्नै जन्मदिनको ।
केन्या भ्रमणमा रहेको नेपाली टोलीले शुक्रबार पहिलो एकदिवसीयमा आसिफ र अर्जुनले क्रमश: पहिलो शतक र अर्धशतक प्रहार गरे । भलै यसले अन्तर्राष्ट्रिय मान्यता पाउने छैन । फास्ट बलरद्वय सोमपाल कामी र करण केसीको उत्कृष्ट बलिङमा नेपालले केन्यालाई २१८ रनमा अलआउट गरेको थियो । आसिफको ११० र अर्जुनको ६१ रन मद्दतमा नेपालले १४ बल अगावै ३ विकेट गुमाएर लक्ष्य पूरा गर्दै ७ विकेटको शानदार जित निकाल्यो ।