सात मन्त्रीलाई राजीनामा दिन माओवादी केन्द्रको निर्देशन
![](https://www.newscenternepal.com/wp-content/uploads/2021/03/maobadi-1.jpg)
काठमाडौं- माओवादी केन्द्रले तत्काल राजीनामा दिन पार्टीका तर्फबाट सरकारमा सामेल मन्त्रीहरुलाई निर्देशन दिएको छ । आफ्नो पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीलाई फिर्ता हुन निर्देशनसहितको पत्र पठाइएको माओवादी केन्द्रका पार्टी कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिनुभयो ।
पार्टीको निर्देशनसहितको पत्र ६ मन्त्रीले बुझेका छन् । युवा तथा खेलकुद मन्त्री दावा लामाले भने पत्र बुझ्न मान्नुभएन । लामाले पत्र बुझ्न नमानेपछि उनलाई हुलाकबाट पत्र पठाइएको बताइएको छ । पार्टी कार्यालयले सम्बन्धित मन्त्री, निर्वाचन आयोग, संसद् सचिवालय र प्रधानमन्त्रीको कार्यालयलाई पनि पत्र पठाएर जानकारी गराएको छ ।
माओवादी केन्द्रका तर्फबाट हाल सरकारमा गृहमन्त्री रामबहादुर थापा, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, खानेपानीमन्त्री मणि थापा, सहरी विकासमन्त्री प्रभु साह, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी र खेलकुदमन्त्री लामा छन् । मन्त्रीहरूले भने यसअघि नै यस्ता पत्रको कुनै औचित्य नरहने बताइसकेका छन् ।
पत्रमा पार्टीका तर्फबाट सरकारमा रहेकाले तुरुन्तै राजीनामा दिन निर्देशन दिइएको छ । साथै, एमालेको संगठनमा राखिएको भन्ने विषयमा पनि आफ्नो स्थितिबारे प्रस्ट पार्न निर्देशन समेत गरिएको छ । माओवादी केन्द्रको २९ फागुनमा बसेको स्थायी समितिको बैठकले सरकारमा सहभागी पार्टीका मन्त्रीहरूलाई फिर्ता हुने निर्देशनसहित २४ घन्टे पत्र काट्ने निर्णय गरेको थियो ।
नेकपा एमालेको ओली पक्षले २८ फागुनमा बसेको केन्द्रीय समिति बैठकले आफ्नो पार्टीमा रहेका २३ जनालाई मनोनीत गरेपछि त्यसको भोलिपल्ट माओवादी केन्द्रले मन्त्रीहरुलाई पत्र काट्ने निर्णय गरेको थियो ।
![Vijay Steel](https://www.newscenternepal.com/wp-content/uploads/2020/06/details-page-footer-ad.gif)
![Galaxy Crusher Chandrauta Kapilvastu](https://www.newscenternepal.com/wp-content/uploads/2020/06/galaxy-crusher-ad.jpg)