ओलीसँगको भेटवार्तापछि माधव समूह आन्तरिक छलफलमा
काठमाडौं – प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग बुधबार दुई घण्टा भेटवार्ता गरेपछि नेता माधवकुमार नेपाल समूह आन्तरिक छलफलमा जुटेको छ।
ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिन र ओलीसँगको भेटवार्ताको विषयलाई ब्रिफिङ गर्नका लागि माधव समूह बुद्धनगरस्थित नेतृ सहाना प्रधान प्रतिष्ठानमा छलफलमा जुटेका हुन्।
पार्टी फुटको अन्तिम कसरतमा रहेको ओली र नेपालबीच चार महिनापछि बुधबार साँझ एक्लाएक्लै भेटवार्ता भएको थियो। दोस्रो तहको नेताहरूको दबाब थेग्न नसक्ने अवस्था आएपछि ओली र नेपालबीच भेटवार्ता भएको थियो।
भेटमा ओलीले आफ्नो निर्णय फिर्ता नहुने तर पार्टीको बैठकमा आएर गुटगत नभई व्यक्तिगत कुरा राख्न आग्रह गर्नु भएको छ। तर, नेता नेपालले ओलीले गरेको २८ फागुनमा निर्णय फिर्ता लिनुपर्ने अडान राखेको थियो।
ओलीले शुक्रबारको लागि केन्द्रीय कमिटीको बैठक राख्नुभएको छ। यता, सोही बैठकले कारबाही गर्नेगरी ओलीले ३२ सांसदलाई स्पष्टीकरणसमेत सोधेका थिए। अब कसरी अगाडि बढ्ने भन्ने विषयमा माधव समूह छलफलमा केन्द्रित छ।