टिकटकका अध्यक्षद्वारा राजीनामा
एजेन्सी-चर्चित भिडियो शेयरिंग एप टिकटकको मुख्य कम्पनी बाइटडान्सका फाउण्डर यिमिंग झाङले कम्पनीको अध्यक्ष पदबाट राजीनामा दिनु भएकोछ ।
चीनका सबैभन्दा सफल व्यवसायी मध्येका एक झाङ टिकटकको बोर्डबाट बाहिरिनु भएको हो । अब बाइटडान्सको अध्यक्षको जिम्मेवारी अहिलेका प्रमुख कार्यकारी अधिकृत रुबो लियाङले सम्हाल्नुहुने छ ।
यस बर्षको शुरुवातमा झाङले कम्पनीको प्रमुख कार्यकारी अधिकृत पद छोडेर दैनिक व्यवस्थापनबाट टाढिनु भएको थियो । उहाँले यसअघि २०२१ को अन्त्यमा आफ्नो पद छोड्ने भनेको भएपनि अहिले अचानक पद छोडेको बताइएको छ।
उहाँले अध्यक्ष पद छोडेपछि कम्पनीमा उहाँको भूमिका के हुन्छ भन्ने बारे स्पष्ट भएको छैन। बाइटडान्सले आफ्नो अप्रेशनलाई व्यापक रुपमा परिवर्तन गर्न लागेका बेलामा अध्यक्ष झाङले पद छोड्नु भएको हो ।
त्यस्तै कम्पनिका प्रमुख फाइनान्स अफिसरले पनि आफ्नो पद छोडेर अब टिकटकमा मात्र लाग्ने कम्पनीले जानकारी दिएको छ।बाइटडान्स अन्तर्गत टिकटक, भिडियो शेयरिंग अर्को एप डोउयिन, शैक्षिक एपहरु, गेमिंग एप र दुई इन्टरप्राइजेज सर्भिस डिभिजन संचालित छन्।