Connect with us
Kapilvast Forest

कपिलवस्तुमा जथाभावी रुख फडानी : मिलेमतोमा छपानभन्दा बढी कटान

२०७८, १० फाल्गुन मंगलवारमा प्रकाशित

 

रुपन्देही- विगतमा ढलापडा संकलन गरी त्यसबाट आयआर्जन गर्दै आएका सामुदायिक वनहरू बढी रुख काट्न पाइने लोभमा वैज्ञानिक वन व्यवस्थापनतर्फ आकर्षित भए । वनको दिगो व्यवस्थापनका लागि वैज्ञानिक वन व्यवस्थापन ठीक भएपनि सामुदायिक वनका पदाधिकारीहरूको नियत ठीक नदेखिएको आरोप लाग्न थालेको छ ।

 

फलस्वरूप वैज्ञानिक वन व्यवस्थापन कार्ययोजना बनाइ बूढा रुख, उमेर पुगेका रुख कटान गरियो र मनग्गे आम्दानी गरियो । वनको अवस्था सुधारभन्दा पनि सामुदायिक वनहरू आर्थिक सुधारतर्फ उन्मुख देखिएकाले यस्तो भएको उपभोक्ताको गुनासो छ ।

कार्ययोजनामा उल्लेख गरेअनुसार रुख कटान गर्ने भएपनि कपिलवस्तुका अधिकांश सामुदायिक वनहरूले ठेकेदार तथा कर्मचारीको मिलेमतोमा कार्ययोजनाभन्दा बढी रुख छपान गराउने र कटान गर्ने गरेको पाइएको छ । जिल्लाको बाणगंगा २ स्थित नवजागृति सामुदायिक वनले कार्ययोजनाले तोकेभन्दा बढी रुख कटान गरेको आरोप समितिकै सदस्यहरूले सार्वजनिक गरेका छन् ।

 

आ.व. २०७५/७६ मा ठेकेदारको मिलेमतोमा गरिएको उक्त कटान हाल उपभोक्ताबीच ठेकेदारसँगको लेनदेनमा कुरा नमिलेपछि बाहिर आएको हो । सामुदायिक वनका अध्यक्ष पदम अधिकारीसहितको टिमले छपान गरिएको रुख कटानबाट बढी आम्दानी नहुने देखेपछि कार्ययोजना र वन कार्यालयको निर्देशन विपरीत जर्बजस्ती २० भन्दा बढी रुख काटेको समितिकै एक सदस्यले जानकारी दिए ।

उनकाअनुसार तत्कालीन समयमा प्लट नम्बर १ को सी १ एस १ र सी १ एस २ मा कटान गरिएको रुखहरूमा २० भन्दा बढी रुख अवैध कटान गरिएको थियो ।

ती रुख कटानबाट करिब ५ सय क्यूफिट काठ निस्किएको र ती काठको हरहिसाब नमिलेपछि विवाद चर्किएको छ । समिति अध्यक्ष तथा कटान ठेकेदार मिलेर रुख नम्बर ८३९, ८४१, ८३७, ८३४, ११४१, २६०, २६१ सहित अन्य रुखहरू समेत काटिएको बताइएको छ । तीमध्ये अधिकांश रुखहरू पुनरुत्पादनका लागि माउ रुखको रूपमा राखिएको थियो ।

यस सम्बन्धमा सामुदायिक वन त्यसलाई नियमन गर्ने पिपरा सबडिभिजन कार्यालय तथा डिभिजन वन कार्यालयले कुनै चासो नराखेको उपभोक्ताहरूको भनाइ छ । डिभिजनल वन प्रमुख विजयराज सुवेदीलाई यसबारे स्थानीयले मौखिक जानकारी गराउँदासमेत वास्ता नगरेको र विवाद अगाडि नै लिलाम भएका काठ छिटो उठाएर लैजान निर्देशन दिएको उपभोक्ता श्रोतले जानकारी दिएको छ ।

योजनामा उल्लेख भएभन्दा बढी रुख काटिए वैज्ञानिक वनको चक्रीय प्रणालीमा असर पर्ने विज्ञहरूले बताएपनि वैज्ञानिक वन व्यवस्थापन कार्ययोजना स्वीकृत गराएका सामुदायिक वनहरूले आयश्रोतको रुपमा मात्रै वन कटानलाई बुझेको सरोकारवालाहरूको भनाइ छ ।

कपिलवस्तुका २ वटा डिभिजन वन कार्यालय अन्र्तगत रहेका २ सयभन्दा बढी सामुदायिक वनमध्ये ७० प्रतिशतमा वैज्ञानिक वन व्यवस्थापन अनुसार कार्ययोजना वनेको छ । संघीय सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम नै खारेज गरेपनि कपिलवस्तुमा भने विभिन्न बहानामा यसले निरन्तरता पाएको छ ।

सामुदायिक वनका अध्यक्ष पदम अधिकारीले नियमभन्दा बाहिर गएर काम नगरेको बताउँदै केही दल निकटका सदस्यहरूले समूहमा राजनीति गर्नका लागि यस्तो आरोप लगाएको बताए । उनले वनको स्वीकृतबिना कुनै रुख नकाटिएको र सबै छानविनका लागि समूह तयार भएको र पुरानो कुरा उठाएर यस्तो भाँजो हालिएको बताए ।नेपाल प्रेस  

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu