Connect with us
Kapilvast Forest

लुम्बिनी प्रदेशमै खाद्य बालीमा दाङ र तरकारी खेतीमा रुपन्देही अगाडि

२०७९, २८ असार मंगलवारमा प्रकाशित

लुम्बिनी प्रदेशमा खाद्य बालीले ढाकेको क्षेत्रफल वृद्धि भएको छ । प्रदेशमा गत वर्षको तुलनामा खाद्य बालीले ढाकेको क्षेत्र २.६४ प्रतिशतले वृद्धि भई ७ लाख ९६ हजार ८५९ हेक्टर कायम भएको छ ।

नेपाल राष्ट्र बैंकले जारी गरेको पछिल्लो आर्थिक सर्वेक्षण अनुसार कोदो, फापर, गहुँजस्ता बालीको क्षेत्रफल वृद्धि भएको छ । गुल्मी र नवलपरासी पश्चिम जिल्लामा कोदो बालीले ढाकेको क्षेत्रफल वृद्धि भएको छ । यस्तै पूर्व रुकुम, रोल्पा, प्युठान र दाङ जिल्लामा फापर बालीले ढाकेको क्षेत्रफलमा वृद्धि भएको जनाइएको छ ।

प्रतिवेदनमा कोदो बालीले ढाकेको क्षेत्रफल २१०.६६ प्रतिशतले र फापर बालीले ढाकेको क्षेत्रफल १६७.४५ प्रतिशतले वृद्धि भएको छ । मकै, गहुँ, आलु आदि बालीको क्षेत्रफल पनि वृद्धि भएको जनाइएको छ ।

दाङ जिल्ला सबैभन्दा अगाडि
प्रदेशमा दाङ जिल्ला खाद्य बालीले क्षेत्रफल ओगट्ने जिल्लाको सूचीमा सबैभन्दा अगाडि छ । पछिल्लो आर्थिक सर्वेक्षणमा लुम्बिनीका १२ जिल्लामध्ये सबैभन्दा धेरै खाद्य बालीको क्षेत्रफल दाङ जिल्लामा छ भने सबैभन्दा कम पूर्व रुकुम जिल्ला पर्दछ ।

दाङ जिल्लाले खाद्य बालीमा प्रदेशको कुल १५ दशमलव १४ प्रतिशत हिस्सा ओगटेको छ । यस्तै पहाडी जिल्ला पूर्वी रुकुमको २.२३ प्रतिशत हिस्सा छ
कपिलवस्तु जिल्ला दोस्रोमा छ । खाद्य बालीमा कपिलवस्तुले १४.१० प्रतिशत क्षेत्रफल ओगटेको छ । खाद्य तथा बालीमा रुपन्देहीले १३.८१ प्रतिशत, बर्दियाले १३.६९ प्रतिशत र बाँकेले ९.६६ प्रतिशत क्षेत्रफल ओगटेका छन् ।

नवलपरासीले ५.७४ प्रतिशत, गुल्मीले ७.९६ प्रतिशत, पाल्पाले ५.२९ प्रतिशत, अर्घाखाँचीले ४.४६ प्रतिशत, प्युठानले ४.१८ प्रतिशत र रोल्पाले ३.७५ प्रतिशत हिस्सा ओगटेका छन् ।

तरकारी उत्पादनमा रुपन्देही अगाडि
तरकारी उत्पादनमा भने अघिल्लो वर्षको तुलनामा कमी आएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो वर्ष ४ लाख १० हजार टनको हाराहारीमा तरकारी उत्पादन भएकोमा यो वर्ष ३ लाख ४१ हजार १५१ टन उत्पादन भएको छ ।

तरकारी उत्पादनमा रुपन्देही जिल्ला प्रदेशमै अगाडि देखिन्छ । प्रदेशको २९ प्रतिशत तरकारीको हिस्सा रुपन्देही जिल्लाले ओगटेको छ । यस्तै दाङले २३.४५ प्रतिशत, कपिलवस्तुले ११.२६ प्रतिशत, रोल्पाले ५.९९ प्रतिशत हिस्सा ओगटेको छ ।

राष्ट्र बैंकको प्रतिवेदनअनुसार पाल्पाले ५.४६ प्रतिशत, बर्दियाले ४.४०, बाँकेले ३.२४ प्रतिशत, नवलपरासीले ३.२४ प्रतिशत, अर्घाखाँचीले ३.४७ प्रतिशत, गुल्मीले २.९७ प्रतिशत र रुकुम पूर्वले १.१७ प्रतिशत हिस्सा ओगटेको छ ।

उखु खेती घट्दै

विगतको तुलनामा लुम्बिनी प्रदेशमा उखु खेती घटेको छ । चिनी मिलहरूले उखु किसानलाई समयमा रकम नदिँदा उखु बाली लगाउन किसान अनिच्छुक देखिएका हुन् ।नवलपरासी, रुपन्देहीका उखु किसानहरू तरकारी तथा माछा पालन क्षेत्रतिर लागेपछि उखु बालीले ढाकेको क्षेत्रफल घटेको सर्वेक्षणको प्रतिवेदनमा उल्लेख छ ।

लुम्बिनी प्रदेशमा सहुलियत कृषि कर्जा सहज बन्न नसक्नु मुख्य समस्या रूपमा देखिएको प्रतिवेदनमा जनाइएको छ । धितो राख्न सक्ने व्यक्तिले मात्र ऋण पाउने भएकाले भूमिहीनहरू ऋणबाट वञ्चित हुने गरेका छन् भने कृषिमा युवाको आकर्षण कम हुनुजस्ता चुनौतीलाई पनि प्रतिवेदनमा औँल्याइएको छ ।
लुम्बिनी प्रदेश कृषि मन्त्रालयका प्रवक्ता शालिकराम गौतमले प्रदेशको सिंचाई, समयमा मल, उन्नत बिउ तथा यान्त्रीकरण जस्ता विषयलाई ध्यानमा राख्दै कृषि उत्पादनमा जोड दिन मन्त्रालयले प्रयास गरिरहेको बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu