Connect with us
Kapilvast Forest

नेपाल ८ वर्षपछि यू–१९ क्रिकेट विश्वकपमा छनोट

२०७९, १८ फाल्गुन बिहीबारमा प्रकाशित

दीपेश कँडेलले ह्याट्रिक विकेट लिएपछि निर्णायक खेलमा यूएईमाथि ७ रनको रोमाञ्चक जित निकाल्दै नेपाली टिम अर्को वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट भएको छ । सन् २०१६ यता नेपालले पहिलोपल्ट उमेरसमूहको क्रिकेट विश्वकप खेल्न लागेको हो ।१९२ रजको लक्ष्य पछ्याएको यूएई ४८ ओभरमा सबै विकेट गुमाएर १८४ रनमात्र बनाउन सक्यो ।

यूएईको अजमानमा टस हारेर ब्याटिङ गरेको नेपालले देव खनालको अर्धशतक सहयोगमा १९१ रनको योगफल बनाएको थियो । नेपाल ४८.५ ओभरमा अलआउट भएको हो ।

नेपालले सन् २०१६ यता उमेरसमूहको क्रिकेट विश्वकप खेल्न पाएको छैन । सन् २०१८ को संस्करणमा निर्णायक खेलमा अफगानिस्तानसँग हारेपछि चुकेको नेपाललाई त्यसयता दुई संस्करण (सन् २०२० र २०२२)मा यूएईले नै माथ दिँदै आएको छ ।

सन् २०२० मा दक्षिण अफ्रिकामा भएको विश्वकपका लागि निर्णायक छनोट खेलमा नेपालले यूएईसँग डकवर्थ लेविस नियमका आधारमा १ रनले पराजित भएको थियो । वेष्ट इण्डिजमा सम्पन्न गत संस्करण (सन् २०२२)को छनोट प्रतियोगिता कोरोना महामारीले प्रभावित बनेपछि पछिल्ला पाँच संस्करणको नतिजाका आधारमा भन्दै यूएईलाई नै विश्वकप खेल्न योग्य बनाइएको थियो ।

पछिल्ला दुई संस्करणको पीडा विर्सिँदै र यूएईसँग उसकै मैदानमा बदला लिँदै नेपाल ८ वर्षपछि यू–१९ विश्वकपका लागि छनोट भएको छ । यसपल्टको एसिया क्षेत्रीय छनोटमा नेपाल र यूएईसँगै मलेसिया, हङकङ, सिंगापुर र कुवेत थिए । नेपालले यसअघिका चारै खेलमा सहज जित हासिल गरेको थियो ।

१९१ रनको लक्ष्य पछ्याएको यूएईका लागि ओपनरद्वय आर्यन सक्सेना र आर्यन शर्माले ६७ रनको सुरुवाती साझेदारी गरेका थिए । सक्सेनाले ३४ र शर्माले ३२ रन बनाए । दवावमा आएको नेपालले तीन ओभरको बीचमा तीन विकेट लिँदा २२ ओभरमा यूएई ७२–३ को अवस्थामा पुग्यो ।

त्यसपछि चौथो विकेटका लागि यूएईका इथान डिसुजा र ध्रुब परासरले ४२ रनको साझेदारी गरे । परासर १७ रन बनाएर दीपेश कँडेलको बलमा आउट भएपछि आएका अमर बदामीसँग मिलेर डिसुजाले पाँचौं विकेटका लागि ३९ रनको साझेदारी गरे । डिसुजाले ६६ बलमा ५० रनको अर्धशतकीय पारी खेल्दा बदामी १९ रन बनाउँदा रनआउट भए ।

अन्तिम तीन ओभरमा यूएईलाई जितका लागि ११ रन आवश्यक थियो । आफ्नो स्पेलको अन्तिम ओभर लिएर दीपेश कँडेल बलिङका लागि आए । सुरुवाती तीन बलमा ३ रन खर्चिँदा नेपाल हारनजिक पुगिसकेको थियो । यूएईलाई जितका लागि १५ बलमा ८ रनमात्र चाहिएको थियो ।

तर, दीपेशले लगातार बलमा विकेट लिँदै आफ्नो अभूतपूर्व बलिङ स्पेल पूरा गरे । उनको यही ह्याट्रिक विकेटले नेपाललाई ८ वर्षपछि विश्वकपमा छनोट गरायो । दीपेशले ४७.४ ओभरमा हर्षिद सेथलाई बोल्ड गरे । ४७.५ ओभरमा हरित हरिस सेट्टीलाई कप्तान देव खनालबाट क्याचआउट गराए । ओभरको अन्तिम बलमा मनिष गजेशलाई बोल्ड गरी नेपाललाई ऐतिहासिक जित दिलाए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले कप्तानमा देव खनालको अर्धशतक सहयोगमा १९१ रन बनाएको थियो । १९ रनमै सुरुवाती ३ विकेट गुमाएपछि नेपालको ब्याटिङ देव र उत्तम थापा मगरले सम्हालेका थिए । यी दुईले चौथो विकेटका लागि ८४ रनको साझेदारी गरे ।

देवले ८४ बल खेल्दै ३ चौका र १ छक्कासहित ५१ रन बनाए । उत्तमले ४८ बल खेल्दै ३ चौका र १ छक्का मद्दतमा ३६ रन बनाए । मध्यक्रममा आएका विशाल विक्रम केसीले ५० बल खेल्दै ५ चौका मद्दतमा ३८ रन बनाए । छैटौं विकेटका लागि विशालले मिलन बोहरासँग ५० रनको साझेदारी गरे । मिलन १० रन बनाएर आउट भए ।

दिपेश कँडेल १५ रन बनाए भने हेमन्त धामीले १३ रन जोडे । यूएईका लागि ध्रुव पारासारले ३ तथा हरित सेट्टी, कप्तान आयान खानले २-२ विकेट लिए ।

सन् २००० देखि लगातार यू–१९ विश्वकप खेलेको नेपाल सन् २०१६ यता छनोट हुन संघर्षरत थियो । नेपालले सन् २००६ को संस्करणमा प्ले च्याम्पियनसिप जितेको थियो भने सन् २००४ र २००८ को संस्करणमा प्लेट च्याम्पियनसिप फाइनल खेलेको थियो । नेपाल यू–१९ विश्वकपको समूह चरण पार गर्ने अफानिस्तान र नामिवियासँगै तेस्रो एशोसिएट टिम पनि हो ।

यू–१९ विश्वकपमा नेपालको इतिहास

सन् २०२२ मा वेष्ट इण्डिजमा आयोजित यू–१९ विश्वकपको पछिल्लो संस्करणका लागि छनोट प्रक्रिया कोरोना महामारीले प्रभावित रह्यो । सेप्टेम्बर २०२१ मा युएईमा हुने तय गरिएको प्रतियोगितामा नेपाल युएई, मलेसिया, ओमान र सिंगापुर थिए । तर, कोरोनाका कारण प्रतियोगिता आयोजना असम्भव भएपछि आईसीसीले पछिल्लो पाँच छनोट प्रतियोगिताको नतिजाका आधारमा युएईलाई छनोट गर्ने निर्णय दिँदा नेपाल खेल्नै नपाई ठगियो ।

दक्षिण अफ्रिकामा भएको यो विश्वकपका लागि नेपाल छनोट प्रतियोगितामा हदैसम्म अगाभी बन्यो । यू–१९ विश्वकप एसिया छनोट डिभिजन वानमा ६ टिमको सहभागिता थियो । नेपालले युएईसँगको खेल डकवर्थ लेविस नियमका आधारमा १ रनले पराजित हुनुले विश्वकपको ढोका बन्द गरिदियो । नेपालले दिएको २४७ रनको लक्ष्य पछ्याएको युएईले ३० ओभरमा ३ विकेट गुमाएर १२२ रन बनाउँदा वर्षा सुरु भएपछि खेल रद्ध गरियो । डकवर्थ लेविस नियमले युएईलाई १ रनले विजयी घोषणा गरियो ।

सन् २०१८ मा न्युजिल्याण्डमा सम्पन्न विश्वकपका लागि नेपालले एसिया क्षेत्रीय छनोटमा अफगानिस्तानसँग पछि परेको थियो । सिंगापुर र मलेसियासमेत सहभागी प्रतियोगिता डवल राउण्ड रोविनमा खेलाइँदा नेपालले अफगानिस्तानसँगै २ खेल हारेपछि विश्वकप खेल्न पाएन ।

सन् २०१६ मा इतिहास दोहोर्‍याउँदै नेपालले उमेरसमूहको विश्वकपमा समूह चरण पार गरेको थियो । समूह डीमा न्युजिल्याण्ड र आयरल्याण्डलाई हराएर समूह उपविजेताका रुपमा क्वाटरफाइनल पुगेको नेपाल बंगलादेशसँग पराजित भयो ।

त्यसअघि सन् २०१४ को विश्वकपमा पनि नेपाल छनोट नजिक पुगेर फर्किनुपरेको थियो । सन् २०१३ मा एसीसी इलाइट कपको फाइनलमा अफगानिस्तानसँग हारेपछि नेपालले विश्वकप खेल्न पाएन । सन् २०१२ को विश्वकपमा छनोट हुन नेपालले शानदार प्रदर्शन गरेको थियो । १० टिम समावेश ग्लोवल क्वालिफायरमा दोस्रो हुँदै नेपालले विश्वकप खेलेको थियो ।

यू–१९ एसीसी इलाइट कपको फाइनलमा पुग्न असमर्थ भएपछि नेपालले सन् २०१० को विश्वकप खेल्न पाएन । दुई वर्षअघि विश्वकप प्लेट च्याम्पियनसिपको फाइनलमा पुगेको नेपालका लागि यो नतिजा अप्रत्यासितजस्तै थियो ।

सन् २००८ को विश्वकपमा सहभागी १६ टिमलाई चार समूहमा विभाजन गरिएको थियो । हरेक समूहबाट शीर्ष दुई टिम सुपर क्वाटरफाइनलमा पुगेका थिए भने अन्तिम दुई टिम प्लेट क्वाटरफाइनलमा पुगेका थिए । नेपालले प्लेट क्वाटरफाइनलमा जिम्बावे र सेमिफाइनलमा नामिवियालाई हराएर वेष्ट इण्डिजसँग प्लेट च्याम्पियनसिपको फाइनल खेलेको थियो । फाइनलमा नेपाल ७ विकेटले पराजित रह्यो ।

एसीसी यू–१९ कप जितेको आधारमा नेपाल सन् २००६ को यू–१९ विश्वकपका लागि छानिएको थियो । यो विश्वकपमा नेपालको अहिलेसम्मकै सर्वश्रेष्ठ प्रदर्शन थियो । कनिस्क चौगाईंको कप्तानीमा रहेको नेपाल टिममा पारस खड्का, ज्ञानेन्द्र मल्लजस्ता अहिलेका भेट्रान खेलाडी करिअरको सुरुवाती समयमा थिए । समूह डीमा रहेको नेपालले जिम्बावे र इंग्ल्याण्डसँग हार ब्यहोरे पनि आयरल्याण्डलाई पराजित गरेको थियो ।

समूहमा अन्तिम दुईमा परेसँगै प्लेट च्याम्पियनसिपमा पुगेको थियो । प्लेट च्याम्पियनसिपको क्वाटरफाइनलमा युगान्डा, सेमिफाइनलमा दक्षिण अफ्रिका र फाइनलमा न्युजिल्याण्डलाई हराउँदै नेपालले ऐतिहासिक प्लेट च्याम्पियनसिप उपाधि जितेको थियो ।

सन् २००३ को युथ एसिया कप जितेपछि नेपाल अर्को वर्ष यू–१९ विश्वकपका लागि छानिएको थियो । समूह डी मा दक्षिण अफ्रिकालाई हराए पनि शीर्ष दुईमा पर्न असफल नेपाली टिम प्लेट च्याम्पियनसिपतर्फ समूह बीको शीर्ष दुईभित्र पर्न सकेन ।

नेपालले सन् २००२ को यू–१९ विश्वकप पनि युथ एसिया कप विजेताकै हैसियदमा छनोट पाएको हो । प्रतियोगिताको समूह सी मा अन्तिम दुईमा परेपछि प्लेट च्याम्पियनसिपमा प्रवेश पाएको थियो । प्लेट च्याम्पियनसिपको समूह २ मा विजेता बनेको नेपालले सेमिफाइनलमा बंगलादेशलाई पराजित गरेको थियो भने फाइनलमा जिम्वावेसँग हारेको थियो ।

सन् २००० मा नेपालले युथ एसिया कपको शीर्ष दुईभित्र रहेर पहिलोपल्ट यू–१९ विश्वकप खेल्न पाएको थियो । समूह सीको शीर्ष दुईभित्र रहेर अर्को चरणमा पुगे पनि सुपर लिगको समूह २ बाट माथि जान सकेन ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu