Connect with us
Kapilvast Forest

कपिलवस्तु कृष्णनगर भन्सार नाका: लाइसेन्स भाडा, बिचौलिया छाडा

२०८०, १२ श्रावण शुक्रबारमा प्रकाशित

घर, पसल, वा गाडी भाडामा दिएर आम्दानी गर्ने चलनबारे त सबैलाई थाहा छ तर भन्सार एजेन्टले नै लाइसेन्स भाडामा लगाएको नि ! कपिलवस्तुको कृष्णनगरमा भन्सार एजेन्टको लाइसेन्स भाडामा लिएर बिचौलियाले अनेक गतिविधि गरिरहेका छन् । कृष्णनगर भन्सारबाट ७ जना एजेन्टले लाइसेन्स प्राप्त गरेका छन् । जसमध्ये ५ जनाले भाडामा लगाएका छन् भने २ जनाले सहयोगी राखेर काम चलाउँछन् ।

भन्सार ऐन २०६४ पच्छिेद १० को दफा ५१, ५२ र ५३ मा एजेन्ट सम्बन्धी प्रष्ट व्यवस्था छ । निकासीकर्ता र पैठारीकर्ताले आफ्नो प्रतिनिधिको रूपमा इजाजतप्राप्त भन्सार एजेन्ट राख्न पाउँछन् । र, उक्त निकासी पैठारी कार्य तोकिएको भन्सार एजेन्ट स्वयं वा मालवस्तुधनीले मात्र गर्न पाउँछन् । तर प्रत्येक भन्सार एजेन्टले लाइसेन्स भाडामा लगाएर मासिक ४० देखि ५० हजारसम्म बुझिरहेका छन् ।

भन्सार कर्मचारी स्रोतका अनुसार बुद्धभूमिका निरञ्जनलाल श्रीवास्तवले कृष्णनगरका विमल गुप्तालाई मासिक ४५ हजार भाडामा लगाएका छन् । यसैगरी, दाङ गढवाकी विमला चौधरीले कृष्णनगरका दिनेश चौहानलाई लाइसेन्स भाडामा दिएकी छन् । दाङ भालुवाङका निमराज न्यौपानेले कृष्णनगर २ बस्ने सकिल अहमदलाई भाडामा लगाएका छन् । बाणगंगा बस्ने यमराज खतिवडाले कृष्णनगरका अजय बर्मा र बाणगंगाकै शिवराज ओझाले कृष्णनगर ३ का प्रमोद श्रीवास्तवलाई लाइसेन्स दिएका छन् । उनीहरूले आफूले पाउने पासकोड (एजेन्ट नम्बर) दिने र त्यही राखेर भन्सार क्लियरिङको काम हुने गरेको भन्सार स्रोतको दाबी छ ।

०८०÷८१ को निम्ति जेठ १५ को बजेट भाषणमा समेत भन्सार एजेन्टमाथि कडाइ गरिएको छ । एजेन्टले सहयोगी राख्न नपाउने, आफ्नो कोड अरुलाई दिन नपाउने भनिएको छ । तर, कृष्णनगर भन्सारले भने यस विषयलाई बेवास्ता गर्दै आएको छ । भन्सार अधिकृत विकास उपाध्यायले ऐजन्टको कोड भाडामा लिएर बिचौलियाहरूले काम गरिरहेको थाहा पाउँदा समेत चासो नदिएको कर्मचारी स्रोत बताउँछ । ‘हामीले यो विकृति रोक्न उपाध्याय सर र चिफ सर (गगन बिक) लाई भन्यौँ तर वास्ता गर्नुभएन’ एक कर्मचारीले भने ।

लाइसेन्स नै नभएका भन्सार अधिकृत विकास उपाध्याय निकट बिचौलिया अंगद त्रिपाठीले प्लाई निर्यातको जाँच पास गराउँछन्, उनका अर्का निकट श्याम मिश्रासँग पनि लाइसेन्स छैन तर काम भने अरु एजेन्टभन्दा बढी गर्छन् । त्यति मात्र होइन, भन्सार कर्मचारी स्रोतको दाबी मान्ने हो भने एजेन्टको लाइसेन्स भाडामा लिएका बिचौलियाले नै आयात निर्यात गर्ने व्यापारी र भन्सार अधिकृतबीचको सम्बन्ध बढाउन र सरकारको राजश्व घटाउन मुख्य भूमिका खेलिरहेका छन् ।

सोही कारण कृष्णनगर भन्सारले राजश्व संकलनको लक्ष्यसमेत पूरा गर्न सकेन । ०७९÷८० मा लक्ष्यको ५०.९८ प्रतिशत मात्र उठ्नुले पनि बिचौलिया, व्यापारी र माथिल्लो तहका कर्मचारीबीचको सम्बन्ध सुमधुर रहेको पुष्टि हुन्छ । कृष्णनगर भन्सार प्रमुख गगनबहादुर बिकले भन्सार एजेन्टको लाइसेन्स अरुले प्रयोग गरेकोबारे जानकारी नभएको बताए । ‘त्यसो गर्न पाइँदैन, गैरकानुनी हो, यसमा कडाइ गरिन्छ’, उनले भने ।
-जनआस्थाबाट

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu