Connect with us
Kapilvast Forest

१६औं योजना : लगानी, उत्पादन, उत्पादकत्व र रोजगारी अभिवृद्धि

२०८१, १४ बैशाख शुक्रबारमा प्रकाशित

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६औं योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना प्रविधिको विस्तार तथा उपयोगमा विशेष जोड दिइएको बताएका छन् । राष्ट्रिय विकास परिषद्को बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले कृषिको व्यवसायिकीकरण, उत्पादनमूलक उद्योग, रोजगारमूलक शिक्षा तथा स्वास्थ्य क्षेत्रको गुणस्तर वृद्धिमा १६औं योजना केन्द्रित हुने बताए ।

“पर्यटन प्रवर्द्धन र आन्तरिक रोजगार अभिवृद्धि एवं एकीकृत बस्ती विकासमा उच्च प्राथमिकता दिनुपर्नेछ”, प्रधानमन्त्री दाहालले भने, “यसका लागि योजनाले स्वदेशी तथा वैदेशिक लगानी अभिवृद्धिसहित युवा केन्द्रित सुरूआती पुँजी लगानीमार्फत नवीनता र उद्यमशीलता विकासमा जोड दिन आवश्यक छ ।”

आर्थिक समृद्धिको संवाहकका रूपमा निजी क्षेत्रलाई आत्मसात् गर्दै सहकारी, सामुदायिक एवम् गैरसरकारी क्षेत्र र विकास साझेदारलाई सहयोगी भूमिकामा योजनाले अङ्गीकार गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सोच, लक्ष्य र लगानीको अनुमान उपयुक्त हुनेगरी योजना तयार हुने विश्वास व्यक्त गरे ।

योजना सफल कार्यान्वयनका लागि तीनै तहका सरकारको सहकार्य, सहयोग र समन्वय अपरिहार्य रहनुपर्ने बताउँदै उनले पर्याप्त लगानी तथा सार्वजनिक खर्च जुटाउनका लागि सबै तहका सरकारले विवेकपूर्ण राजस्व परिचालन गर्नुपर्नेमा जोड दिए ।

“योजना अवधिमा विभिन्न स्रोतको साथै निजी क्षेत्रको ठूलो लगानीको अनुमान गरिएको छ”, प्रधानमन्त्री दाहालले भने, “यस क्षेत्रको भूमिकालाई प्रभावकारी बनाउन लिइएका लक्ष्य, उद्देश्य तथा रणनीतिबाट योजना अवधिमा लगानी, उत्पादन, उत्पादकत्व र रोजगारी अभिवृद्धि गरी आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुग्ने अपेक्षा छ ।”

सबै पक्षलाई समेटेर नियमित र नतिजामूलक अनुगमन तथा मूल्यांकन प्रणाली विकास गरी कार्यान्वयनमा जोड दिनुपर्ने बताउँदै प्रधानमन्त्रीले अब आर्थिक सुधारको एकीकृत ढाँचा राष्ट्रिय योजना आयोगले सबैं निकायको समन्वयमा तयारगरी कार्यान्वयन गर्ने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री दाहालले भने, “तीनै तहका सरकार, निजी क्षेत्र, सहकारी र विकास साझेदारलगायतका सबैको सहकार्य र प्रभावकारी समन्वयबाट योजनाले लिएको औसत आर्थिक वृद्धि हासिल हुनुका साथै अन्य सामाजिक तथा पर्यावरणीय लक्ष्य हासिल हुनेमा म विश्वस्त छु ।”

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउने सम्भावना रहेको उल्लेख गर्दै १६औं योजनामा कृषिलाई प्राथमिकतामा राख्नुपर्ने बताए । “वनजन्य तथा खनिजजन्य उद्योग स्थापना गर्नुपर्छ, नीतिगत त्रुटि हटाएर जानुपर्छ”, उनले भने, “निजी क्षेत्रलाई विश्वासमा लिएर सरकार अघि बढ्नुपर्छ, निजी क्षेत्रलाई प्रोत्साहित गर्ने नीति लिइनुपर्छ ।” जलविद्युत र पर्यटन क्षेत्रले विकासबाट मुलुकमा महत्वपूर्ण टेवा मिल्ने उल्लेख गर्दै उनले यी क्षेत्रमा सरकारले पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवम् श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्न राजनीतिक दल, कर्मचारीतन्त्र र आम नागरिक एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए । “मुलुकको विकास र समृद्धिका लागि आवश्यक स्रोत साधन मुलुकमै हुँदा पनि कानुनी उल्झनले गर्दा आयातमा निर्भर हुनुपरेको छ”, उनले भने, “उपलब्ध साधनस्रोतको उपयोग गर्न ऐन कानुनमा सुधार गर्नपर्छ, उत्पादन अभिवृद्धि गरेर जानुपर्छ, आयातमा मात्रै निर्भर हुन हुँदैन ।”

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवं उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले संघीयतालाई मजबुद बनाउने गरी योजना अघि बढाइनुपर्ने बताए । “प्रदेशमा जनशक्ति छैनन्, प्रभावकारी कामका लागि कानुन छैनन्”, उनले भने, “प्रदेशलाई स्रोत र साधनबाट सबल नबनाइ मुलुकको समृद्धि हुन सक्दैन ।” उनले मुलुकको विकासका लागि योजनाबद्ध विकास अवधारणा अघि बढाइनुपर्नेमा जोड दिए ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu