ब्राजिलकाे क्वार्टफाइनल यात्रा, छैटौं उपाधिको खोजीमा
एजेन्सी- कतारमा जारी विश्वकप फुटबलको अन्तिम १६ को खेलमा ब्राजिलले दक्षिण कोरियामाथि गोलको वर्षा गदैं क्वार्टफाइनलमा प्रवेश गरेको छ ।
ब्राजिल ४-१ गोलले क्वार्टफाइनलमा प्रवेश गरेको हो ।
खेलको पहिलो हाफको ३६ मिनेटभित्रै ब्राजिलले कोरियाविरुद्ध ४–० को अग्रता लिएको थियो । त्यही अग्रता नै ब्राजिललाई जितको लागि महत्वपूर्ण सावित भयो ।
दोस्रो हाफमा भने ब्राजिलले गोल गर्न सकेन । दक्षिण कोरियाले दोस्रो हाफमा एक गोल फर्काएको थियो ।
ब्राजिलका लागि खेलको सातौं मिनेटमा भिनिसियस जुनियर, १३ औं मिनेटमा नेयमार, २९ औं मिनेटमा रिचार्लिसन र ३६ औं मिनेटमा लुकास काकोइटाले गोल गरेका थिए ।
दक्षिण कोरियाका तर्फबाट भने खेलको ७६ औं मिनेटमा पाइक सेउंघोले गोल गरेका हुन्। डिबक्स बाहिरबाट उनले गरेको लामो प्रहार ब्राजिलका गोल रक्षकले रोक्न सकेनन्। क्वार्टफाइनलमा अव ब्राजिलको भेट क्रोएसियासँग हुनेछ ।
विश्वकप फुटबलमा सर्वाधिक सफल टिम हो ब्राजिल। सबै विश्वकपमा सहभागी एक मात्रै टिम पनि हो। जसले ७ पटक फाइनलको यात्रा तय गर्दा सर्वाधिक ५ पटक उपाधि जितेको छ। अहिलेसम्मका सबै विश्वकप खेलेको ब्राजिल छैटौं उपाधिको खोजीमा छ।