महाराजगन्ज नगरपालिकाको कार्यालय एक हप्ताको लागी बन्द
कपिलबस्तु-
कपिलवस्तुको महाराजगन्ज नगरपालिका एक हप्ताको लागि बन्द भएको छ । बिश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड-१९ को संक्रमण बढी रहेकोले रोकथाम गर्ने उद्देश्यले कार्यलाय बन्द रहने नगरपालिकाले जनाएको छ । नगरपालिकाको नगर कार्यपालिका कार्यालयका केही कर्मचारीहरुमा समेत कोरोना संक्रमण पुष्टी भएकोले नगरपालिका बन्द गरिएको हो । महाराजगन्ज नगर कार्यपालिकाको आज बदेको बैठकले वैशाख १० गते देखि वैशाख १६ गते सम्म बन्द रहने सूचना प्रकाशित गरेको छ ।
नगरपालिका भित्रका स्वास्थ्य शाखा र अत्यावश्यक सेवाहरु बाहेक नगरपालिकाको अन्य सेवाहरु बन्द रहने महाराजगन्ज नगरपालिकाको नगर प्रमुख अब्दुल कलाम र प्रमुख प्रशासकिय अधिकृत वेद प्रसाद खरेलले हस्ताक्षर गरेको सूचनामा उल्लेख गरिएको छ । नगरपालिकाका सबै वडा कार्यालयहरु र सबै स्वास्थ्य संस्थाहरु यथावत रुपमा सञ्चालन हुने नगरपालिकाका सूचना अधिकारी बृजेश चौधरीले जानकारी दिनु भयो ।